सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
नेपाली चलचित्र

नयाँ वर्षमा जुध्दैछन् ४ नेपाली फिल्म

सोमबार, १६ चैत २०८२, ०९ : २७
सोमबार, १६ चैत २०८२

सारांश

  • नयाँ वर्षमा रिलिज हुने ४ नेपाली फिल्महरू बीच प्रतिस्पर्धा हुने भएको छ, जसमा 'पहाड' एकल प्रदर्शन गर्दैछ।
  • चैत २७ मा 'राम नाम सत्य', '३६ को आँकडा', र 'डल्लेले इन्ट्री मार्‍यो' रिलिज हुनेछन्, जसलाई स्टारको भिडन्तको रूपमा हेरिएको छ।
  • 'पहाड' फिल्ममा तुलसी घिमिरेले पहाडको पीडा र युवा पलायनको कथा प्रस्तुत गरेका छन्, भने अन्य फिल्महरूले पनि दर्शक तान्ने प्रयास गर्दैछन्।

काठमाडौँ । नेपाली फिल्म क्षेत्रको एउटा पुरानो रोग छ- विदेशी फिल्मसँग जुध्नुपर्दा स्वदेशी फिल्मलाई अन्याय भयो भन्दै रुवाबासी गर्ने तर आफ्नै नेपाली फिल्मसँग भिड्न नछाड्ने । एउटै मितिमा धेरै फिल्म जुध्दा कसैलाई फाइदा हुँदैन भन्ने नबुझेका होइनन्, तैपनि ‘राम्रो डेट’का लागि उनीहरू तँछाडमछाड गर्छन् ।

यस्तै दृश्य नयाँ वर्ष अर्थात् २०८३ को सुरुवातमा पनि देखिने भएको छ । नयाँ वर्षको अवसर पारेर ४ ठुला फिल्महरू प्रदर्शनको तयारीमा छन् । उत्सवको माहौल र बिदालाई क्यास गर्ने भन्दै चैत २७ मा तीन फिल्म ‘राम नाम सत्य’, ‘३६ को आँकडा’, ‘डल्लेले इन्ट्री मार्‍यो’ र वैशाख १ मा ‘पहाड’ प्रदर्शनमा आउने भएका छन् ।

विगतका वर्षहरूमा नयाँ वर्षको समयमा रिलिज भएका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको इतिहास छ । त्यही लोभमा यसपटक चार फिल्म एक–अर्काको विरुद्धमा उत्रिन तयार भएका हुन् । वैशाख १ सबैले नयाँ वर्ष सेलिब्रेसन गर्ने मुडमा दर्शकहरू हलसम्म जाने रिलिजमा आउन लागेका निर्माता– निर्देशकको अनुमान छ ।

नयाँ वर्षकै दिन अर्थात् वैशाख १ गते एक मात्र फिल्म ‘पहाड’ प्रदर्शनमा आउँदैछ । नेपाली फिल्मका लिजेन्ड निर्देशक तुलसी घिमिरे निर्देशित फिल्मले अहिलेसम्म यो मितिमा एकल प्रदर्शन अवसर पाउने देखिन्छ । निर्देशक घिमिरेले फिल्म मार्फत नेपाली पहाडको पीडा र युवा पलायनको कथालाई पर्दामा उतारेका छन् । थुप्रै सफल फिल्मका निर्देशक घिमिरेले फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्टको रूपमा लिएका छन् । फिल्म निर्माण समयदेखि नै चर्चामा रहँदै आएको छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा र विपिन कार्की जस्ता शक्तिशाली कलाकारहरूको अभिनय छ । निर्देशक घिमिरेले आफ्नी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्मबाट नायिकाको रूपमा भित्र्याउँदैछन् । पुरानो पुस्ता र नयाँ पुस्ताको उत्कृष्ट संयोजन रहेको ‘पहाड’ ले नयाँ वर्षमा दर्शकलाई गम्भीर र भावुक बनाउने अपेक्षा गरिएको छ । निर्देशक घिमिरेकी श्रीमतीले भारती घिमिरेले यो फिल्म निर्माण गरेकी हुन् ।

चैत २७ मा स्टारको भिडन्त

नयाँ वर्षको व्यवसायलाई मध्यनजर गरेर चैत २७ मा भने ‘राम नाम सत्य’, ‘३६ को आँकडा’ र ‘डल्लेले इन्ट्री मार्‍यो’ भिड्न लागेका छन् । यो भिडन्तलाई स्टारको भिडन्तको रुपमा हेर्न सकिन्छ । किनभने  एक्सन स्टार विराज भट्टको फिल्म ‘राम नाम सत्य’ र रेखा थापा, पूजा शर्माको फिल्म ‘३६ को आँकडा’ एकअर्कासँग भिड्दै रिलिज हुन लागेका हुन् ।

 ‘राम नाम सत्य’मा विराजका साथै सुशील श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट र दिव्या रायमाझीको मुख्य भूमिका छ । माइकल चन्दको निर्देशन र पटकथा रहेको फिल्म उपेन्द्र शाही र श्वेता विमलीले निर्माण गरेका हुन् । फिल्मले विराजको ‘मास फ्यान’ लाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।

त्यस्तै ‘३६ को आँकडा’मा रेखा र पूजाका साथै महेश त्रिपाठी, पुष्प खड्काको पनि अभिनय छ । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार भएको फिल्म सबीर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मले महिला पात्रको द्वन्द्वलाई कथा बनाएको छ । दुई ठुला फ्यान बेस भएका अभिनेत्रीहरू एकैसाथ आउँदा दर्शकमा छुट्टै उत्साह छ । तर अन्य फिल्मसँगको भिडन्तले हल र शो बाँडफाँडमा पक्कै पनि असर पार्ने देखिन्छ ।

 ‘राम नाम सत्य’ र ‘३६ को आँकडा’सँग भिड्न तयार भएको फिल्म ‘डल्लेले इन्ट्री मार्‍यो’ राजु गिरीको निर्देशनमा तयार भएको हो । फिल्म अभिनेत्री रोशनी खड्काका कारण चर्चामा छ । रोशनी तिनै युवती हुन्, जो २०२५ को मिस नेपाल अडिसनका क्रममा निर्णायकको एउटा प्रश्न र व्यवहारका कारण भाइरल भएकी थिइन् । जन्मजात एउटा हत्केला नभएकी रोशनीले आफ्नो शारीरिक अवस्थालाई कमजोरी नभई शक्ति बनाएर अभिनय यात्रा सुरु गरेकी हुन् । सागर लम्साल ‘बले’को समेत मुख्य भूमिका रहेको फिल्ममा रमेश बुढाथोकी, रवीन्द्र झा लगायत कलाकारहरूको पनि अभिनय छ । फिल्म सामाजिक सन्देश र हास्यप्रधान कथामा आधारित भनिएको छ । तर ठुला स्टारका फिल्मसँग जुध्नु यसका लागि ठुलो चुनौती हो ।

  • प्रचारको अवस्था कस्तो ?

नयाँ वर्षमा रिलिज हुन लागेका चारवटै फिल्म मल्टिस्टार कलाकारले भरिएका छन् । तर प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारको शैली भने फरक देखिएको छ । फिल्म ‘राम नाम सत्य’ले ‘हुम्लाको लिमी’ र ‘धागोले बाटेको’ जस्ता गीतले बजारमा तताउदै टिजर सार्वजनिक गरेर दर्शकको ध्यान तानेको छ ।

त्यसैगरी ‘पहाड’ले पनि ‘मोहनी लगाउने’ गीत र टिजरमार्फत व्यापक प्रचार गरिरहेको छ । निर्देशक तुलसी घिमिरे आफैँ प्रचारमा सक्रिय छन् । ‘डल्लेले इन्ट्री मायो’का प्रचार सामग्रीहरू पनि सार्वजनिक भइरहेका छन् । फिल्मको अहिलेसम्म ‘मुटुमा हान्छन् छुरा’ गीत सार्वजनिक गरिएको छ ।

तर रेखा थापा र पूजा शर्मा जस्ता स्टार भएको फिल्म ‘३६ को आँकडा’ले फस्टलुक सार्वजनिक गरेयता अन्य प्रचार सामग्री खासै सार्वजनिक गरेको छैन ।

नयाँ वर्षको बिदामा दर्शकहरू मनोरञ्जनका लागि हलसम्म पुग्ने अपेक्षामा रहेका यी चार फिल्ममध्ये कुन फिल्मले बक्स अफिसमा बाजी मार्छ, त्यो भने हेर्न बाँकी नै छ । तर आपसी भिडन्तले गर्दा सबै फिल्मको व्यापारमा केही न केही धक्का पुग्ने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप