२ हजार केन्द्रबाट सवा ५ लाखले दिँदैछन् एसईई
सारांश
- यस वर्ष एसईई परीक्षा बिहीबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ, जसमा ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्।
- परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण विकेन्द्रीकरण र नतिजामा तीव्रता ल्याउँदै एक महिनाभित्र नतिजा प्रकाशन गर्ने योजना बनाएको छ।
- परीक्षाको सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिँदै जापानमा समेत परीक्षा केन्द्र तोकिएको छ, जहाँ २३ जना विद्यार्थी सहभागी हुनेछन्।
काठमाडौँ । नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष बिहीबारदेखि देशभर एकैसाथ सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।
यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।
एक महिनामै नतिजा ल्याउने नयाँ कार्ययोजना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेलगत्तै शिक्षा क्षेत्रमा सुधार गर्ने दाबी सहित निर्णयहरु गरिरहेका छन् । मन्त्रालयका एक सहसचिवका अनुसार उनले एसईईको नतिजा ढिला हुँदा विद्यार्थीहरूको शैक्षिक क्यालेन्डर बिग्रिएको र उनीहरूमा मानसिक तनाव बढेको भन्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका थिए ।

सोही निर्देशनलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षणको परम्परागत शैलीमा परिवर्तन गरेको छ । विगतका वर्षहरूमा एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाउने र गोप्य केन्द्रहरू तोकेर परीक्षण गर्ने प्रचलन थियो । यसले गर्दा ओसारपसार र समन्वयमा धेरै समय खर्च हुने गर्थ्यो । तर यस वर्ष बोर्डले जुन परीक्षा केन्द्रमा परीक्षा भएको हो । सोही क्षेत्रका परीक्षण केन्द्रहरूबाट उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गरेको छ ।
एसईईका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजालाई छिटोभन्दा छिटो सार्वजनिक गर्ने प्राथमिकता रहेको छ । उनले मन्त्रालयको निर्देशन र विद्यार्थीको हितलाई ध्यानमा राख्दै हामीले यस पटक सम्बन्धित जिल्ला वा क्षेत्रकै परीक्षा केन्द्रलाई आधार मानेर परीक्षण केन्द्र कायम गर्ने निर्णय गरेको बताए । यसले गर्दा उत्तरपुस्तिका ओसारपसारमा लाग्ने समय बचत हुने र स्थानीय शिक्षकहरूको प्रत्यक्ष संलग्नतामा काम छिटो सकिने बोर्डले अपेक्षा गरेको छ ।
सुरक्षा र गुणस्तरमा विशेष सतर्कता
परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्दा सुरक्षा र निष्पक्षतामा प्रश्न उठ्न सक्ने आशंकालाई बोर्डले पहिल्यै सम्बोधन गरेको जनाएको छ । नियन्त्रक अधिकारीका अनुसार यदि कुनै केन्द्रमा सम्बन्धित विषयको शिक्षक उपलब्ध नभएमा वा सुरक्षाको दृष्टिले संवेदनशील देखिएमा त्यस्ता केन्द्रको उत्तरपुस्तिका शिक्षा विकास तथा समन्वय एकाइको समन्वयमा अर्को सुरक्षित ठाउँमा स्थानान्तरण गरिनेछ ।
‘हामीले लचिलो तर सुरक्षित संयन्त्र बनाएका छौँ । जहाँ शिक्षक अभाव छ वा असुरक्षित महसुस हुन्छ, त्यहाँको उत्तरपुस्तिका तत्कालै अर्को केन्द्रमा सारिनेछ,’ उनले भने ।
सवा ५ लाख विद्यार्थी, जापानमा पनि केन्द्र
बोर्डको तथ्याङ्क अनुसार कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षाका लागि फारम भरेका छन् । छात्राको संख्या २ लाख ५७ हजार ६ सय १३ रहेको छ भने छात्रको संख्या २ लाख ५४ हजार ८ सय १ रहेको छ । यसैगरी, ७ जना अन्य लिङ्गी विद्यार्थीहरूले पनि यस पटकको एसईईमा सहभागी छन् । छात्राको संख्या छात्रको तुलनामा बढी हुनुले नेपालमा महिला शिक्षाको पहुँच बढ्दै गएको सकारात्मक सन्देश दिएको बोर्डले जनाएको छ ।

यस वर्ष पनि जापानमा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन् । जापानमा रहेका नेपाली समुदायका बालबालिकाहरूका लागि त्यहाँको स्थानीय समय र नेपालको समयबिच तालमेल मिलाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।
मन्त्री र जिल्ला समन्वय एकाईबिच भर्चुअल संवाद
परीक्षाको पूर्वसन्ध्यामा बुधबार शिक्षा मन्त्री सस्मित पोखरेल, राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरू र ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाईका प्रमुखहरूबिच भर्चुअल बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सबै जिल्लाले परीक्षाको तयारी शतप्रतिशत पूरा भएको रिपोर्टिङ गरेका छन् ।
परीक्षा नियन्त्रक अधिकारीका अनुसार प्रश्नपत्र र उत्तरपुस्तिका सबै केन्द्रमा पुगिसकेका छन् । केन्द्राध्यक्षहरूको नियुक्ति र उनीहरूको अभिमुखीकरण कार्य सम्पन्न भई उनीहरू कार्यक्षेत्रमा खटिसकेका छन् । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पनि आफ्नो जिम्मेवारी सम्हालिसकेको र परीक्षा बिहान ८ बजेदेखि सुरु हुने उनले बताए ।
निर्वाचनका कारण सरेको तालिका
वास्तवमा शैक्षिक क्यालेन्डर अनुसार यो परीक्षा चैतको पहिलो साता नै हुनुपर्ने थियो । तर फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचन तथा अन्य प्राविधिक कारणले गर्दा परीक्षाको मिति चैत १९ गतेसम्म धकेलिएको थियो ।
परीक्षा ढिला सुरू भए पनि नतिजा छिटो निकालेर शैक्षिक सत्रलाई समयमै ट्रयाकमा ल्याउने बोर्डको योजना छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण