बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

संसदमा हर्कको पहिलो सम्बोधन : एमसीसी खारेज, सिमामा नेपाली सेना खटाउनुपर्छ

बिहीबार, १९ चैत २०८२, १५ : ३९
बिहीबार, १९ चैत २०८२

सारांश

  • प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देशको स्वाधीनताका लागि एमसीसी खारेज गर्नुपर्ने र सिमानामा नेपाली सेना खटाउनुपर्ने माग राखे।
  • उनले विभिन्न आन्दोलनमा हिंसा मच्चाउनेहरूलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने र शिक्षालाई उत्पादनसँग जोड्नुपर्ने धारणा राखे।
  • उनले सुशासन, भूमिहीनको समस्या समाधान र सरकारी नीति तथा निर्णयहरूमा पुनर्विचार गर्नुपर्ने लगायतका विभिन्न सुझाव सरकारलाई दिए।

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले देशको स्वाधीनता, भूराजनीतिक सन्तुलन कायम राख्न एमसीसी खारेज गर्नुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै सिमानाको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्ने पनि साम्पाङले जनताको माग रहेको बताए । साथै, उनले प्रत्यक्ष कार्यकारी चुन्नेतर्फ सरकारको नीति कार्यक्रम अघि सार्नुपर्ने पनि बताए ।

उनले जेनजी आन्दोलनमा डिस्कर्ड चलाएर स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने तथा भदौ २४ मा सर्वोच्च र संसद् भवन जलाउनेहरूलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरे । सम्पत्ति शुद्धीकरणसम्वन्धी छानबिन आयोग गठन गरेर मन्त्री र सांसदहरूको छानबिन गर्नुपर्ने तर त्यो आफैँबाट सुरु गर्नुपर्ने, शिक्षालाई उत्पादन र आविष्कारसँग जोड्नुपर्ने बताए । ‘हप्तामा ३ दिन मात्र पढ्दा हुन्छ चार दिन उत्पादनमा जोड्नुपर्छ’, साम्पाङले कृषिमा देखिएका समस्या हल गर्नुपर्नेमा जोड दिए । 

उनले एक पालिकामा एक उद्योग र रोजगार तथा बन्द उद्योग सञ्चालनको नीति ल्याउनुपर्ने, जनताको सेवा सुविधा र सार्वजनिक हितका लागि प्राकृतिक स्रोतसाधन सदुपयोग गर्न सहज नियम कानुन बनाउनुपर्ने बताए ।

सुशासन, शान्ति सुव्यवस्था, खानेपानी लगायतका समस्या समाधान गर्नुपर्ने, हतारका सरकारका निर्णय कार्यान्वयन गर्न नहुने तथा सल्लाह गरेर मात्र अघि बढे सरकारलाई सहज हुने बताए ।

उनले बृद्धभत्ता जस्ता विषय फेरबदल गर्ने कुरामा पुनर्विचार गर्नुपर्ने, सुकुम्वासी भूमिहीनको समस्या पहिचान गर्नुपर्ने र उपत्यकाबाहिर पनि नेपाल छ भन्ने कुरामा ध्यानाकर्षण गराउँदै भूपू गोरखाको पेन्सनबारे उपयुक्त नीति बनाउनुपर्ने लगायतका सुझाव  सरकारलाई दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप