मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

के आज पनि मार्क्सवादले संसार बदल्न सक्छ ?

आइतबार, २२ चैत २०८२, १० : ००
आइतबार, २२ चैत २०८२

सारांश

  • डेभिड हार्वेले आफ्नो नयाँ पुस्तक 'द स्टोरी अफ क्यापिटल' मार्फत पुँजीवादी उत्पादन प्रणालीका अन्तर्विरोध र प्रणालीगत जोखिमहरूको विश्लेषण गरेका छन्।
  • मार्क्सवादी दृष्टिकोणको प्रयोग गर्दै वर्तमान आर्थिक संकट र पुँजीवादका सीमाहरू बुझ्ने प्रयास गरिएको छ।
  • संसार बदल्नका लागि पहिले वर्तमान आर्थिक अवस्थाको सैद्धान्तिक शल्यक्रिया गरी सामूहिक रूपमा वैकल्पिक व्यवस्था निर्माण गर्नुपर्नेमा लेखकको जोड छ।

सन् २००८ को नोभेम्बर महिनामा संसार वित्तीय संकटको चुलीमा थियो । त्यही बेला बेलायती महारानी एलिजाबेथले लन्डन स्कुल अफ इकोनोमिक्सको भ्रमण गरिन् । त्यहाँ भेला भएका अर्थशास्त्रीहरूको छलफलमा उनले ‘वित्तीय संकट आउँदै गरेको तपाईंहरूले किन देख्नुभएन ?’ भनेर प्रश्न गरिन् । कसैले तत्काल उत्तर गरेनन् । केही बेरको मौनता र खुसामद पश्चात् कार्यक्रम भने जारी नै रह्यो ।

६ महिनापछि तिनै अर्थशास्त्रीहरूले महारानीलाई एउटा सामूहिक पत्र लेखे । जसमा उनीहरूले वित्तीय संकट आउँदै गरेको देख्न नसक्नुमा ‘अहंकार तथा प्रणालीगत जोखिमलाई सामना गर्न असमर्थ हुनु’ लाई आधारभूत कारणका रूपमा उल्लेख गरे ।

प्रणालीगत जोखिमलाई अनदेखा गर्नु आफैँमा धेरै ठूलो समस्या हो । धेरैजसो हामी प्रणालीगत जोखिम परीक्षण नभएको हवाईजहाज चढ्न समेत तयार हुँदैनौँ ।

मेरो नयाँ पुस्तक ‘द स्टोरी अफ क्यापिटल’ मा मैले पुँजीको उत्पादन सम्बन्धमा रहेका आन्तरिक गडबडी र प्रणालीगत जोखिमबारे सोधखोज गर्ने प्रयास गरेको छु । यसका लागि मैले कार्ल मार्क्सका राजनीतिक अर्थशास्त्र सम्बन्धी कृतिहरूबाट सैद्धान्तिक ढाँचा लिएको छु । मार्क्स आफैँले हाम्रो लक्ष्य संसारलाई बुझ्नु मात्र नभएर बदल्नु मुख्य कुरा हो भनेका थिए ।

bafkreieivrsrrhne6a5rowgkx3b3oyln3aqs5ikkwseocttbva2bjwhqwi

तर आफ्नै जीवनमा भने उनको धेरैजसो समय र प्रयत्न आफूले बदल्न खोजेको विषय बुझ्नमै बितेको देखिन्छ । आफ्नो जीवन व्यवहारमा उनले पुँजीलाई बदल्नका लागि बुझ्नु महत्त्वपूर्ण ठानेको भान हुन्छ ।

‘पुँजीको अवधारणाको ठ्याक्कै विकास कसरी भयो भन्ने सन्दर्भ ज्यादै महत्त्वपूर्ण र अनिवार्य छ’ उनले आफ्नो पुस्तक ‘ग्रुन्ड्रिज’ मा लेखेका छन् । यसउपरान्त यस आलेखमा लिइएका उद्धरणहरू पनि सोही पुस्तकबाट हुनेछन् । उनका अनुसार, ‘पुँजीको अवधारणा पुँजी स्वयं जस्तै आधुनिक अर्थशास्त्रको सबैभन्दा आधारभूत अवधारणा हो । ...साथै यो बुर्जुवा समाजको आधार पनि हो । हामीले पुँजी (उत्पादन सम्बन्ध) का पूर्वमान्यताहरू राम्रोसँग खुट्याउन सक्यौँ भने बुर्जुवा उत्पादन प्रणालीका सबै अन्तर्विरोधहरू ठम्याउन सक्छौँ । साथै यसका सीमाहरू पनि बुझ्न सक्छौँ ।’

मार्क्सले यहाँ ‘अन्तर्विरोधहरू’ भन्ने पदावलीमा जोड गरेको देख्न सकिन्छ । उनी ‘पुँजीमा अन्तर्विरोध निहित हुन्छ’ भन्छन् । साथै हाम्रो लक्ष्य ‘तिनै अन्तर्विरोधलाई फक्रिन दिनु’ हो भन्छन् । यहाँ उल्लेख भएको अन्तर्विरोध नवशास्त्रीय, रिकार्डियाली वा किन्सियाली भाषाको पक्कै होइन । यो त मार्क्सको पुँजीको अवधारणाको आधारभूत पदावली हो । त्यसो भए यो किन त्यति धेरै महत्त्वपूर्ण छ त ?

अर्थशास्त्र लगायत अनुसन्धानका सबै विषयहरू तथा आर्थिक मामला प्रतिष्ठान, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता नीति प्रतिष्ठानहरू मूलतः यस्तै प्रश्नको जवाफ खोज्न बनाइएका हुन्छन् ।

जुनसुकै धाराको भए पनि बुर्जुवा राजनीतिक अर्थशास्त्र दुई भागमा विभाजित पाइन्छ । एउटा सूक्ष्म अर्थशास्त्र (माइक्रोइकोनोमिक्स) हो जसमा फर्महरूका सिद्धान्तको अध्ययन गरिन्छ । अर्को बृहत् अर्थशास्त्र (म्याक्रोइकोनोमिक्स) हो जसमा राष्ट्रिय एवम् वैश्विक अर्थतन्त्रहरूका सिद्धान्त हुन्छन् । अनेक प्रयासका बाबजुद सूक्ष्मबाट समष्टि वा समष्टिबाट सूक्ष्म अर्थशास्त्रका सिद्धान्त निरूपण गर्न असम्भव नै सिद्ध हुँदै आएको छ ।

मार्क्सका लागि यो भनेको बुझाइको नभएर सैद्धान्तिक आधार निर्माणको अन्तर्विरोध हो । प्रतिस्पर्धाको जबर्जस्ती नियमले चल्ने प्रत्येक पुँजीवादीहरू आफूले काम लगाएका कामदारको उत्पादकत्व बढाउने खालका प्रविधि उपयोग गर्दै जान्छन् । तर मार्क्सको सिद्धान्तमा श्रम नै सबै मूल्यको स्रोत हो । बढ्दो श्रम उत्पादकत्वले आवश्यक श्रमिकको संख्या घटाइदिन्छ, जसले गर्दा कम मूल्य सिर्जना हुन्छ ।

परिणामस्वरूप सबै कुरा यथावत् रहेको खण्डमा मुनाफा घट्ने संकट उत्पन्न हुन्छ । यो सैद्धान्तिक ज्ञान सूक्ष्म र समष्टि अर्थशास्त्रको अन्तर्विरोधबाट निस्किन्छ । अर्थात् अर्को तरिकाबाट हेर्दा प्रत्येक पुँजीपतिले पुँजीबाट आउने आफ्नो नाफा अधिकतम बनाउने प्रयास गर्दा यस्तो समष्टि परिणाम निकाल्छन्, जसले कमभन्दा कम पुँजी सञ्चय हुने अवस्था सिर्जना गर्छ । त्यसो हुँदा एउटा समस्या पैदा हुन्छ । खुला बजार प्रतिस्पर्धाको उत्पीडनकारी नियमले बाँधिएका पुँजीपतिहरूको ध्वंसात्मक र विवेकपूर्ण व्यवहारबाट पुँजीको रक्षा कसले गर्छ त ?

अर्थशास्त्र लगायत अनुसन्धानका सबै विषयहरू तथा आर्थिक मामला प्रतिष्ठान, अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता नीति प्रतिष्ठानहरू मूलतः यस्तै प्रश्नको जवाफ खोज्न बनाइएका हुन्छन् । समस्याहरूको समाधान पनि हुन्छ । तर अन्तर्विरोधको समाधान हुँदैन ।

Depositphotos_379543766_S-fix

अन्तर्विरोधहरू तनावका स्थायी बिन्दुहरू हुन्, जसको व्यवस्थापन अन्तर्निहित प्रणालीभित्र मात्र गर्न सकिन्छ । सम्पूर्ण प्रणाली रहुन्जेल तिनीहरू हराउँदैनन् । उदाहरणका लागि, म आफ्नो व्यावसायिक जीवनका आवश्यकताहरू, व्यक्तिगत इच्छा एवं जिम्मेवारीहरू बीचको अन्तर्विरोधलाई निरन्तर व्यवस्थापन गर्दै आएको छु । धेरैजसो समय यो अन्तर्विरोध अव्यक्त र शान्त रहन्छ । तर मानौँ कदाचित् मेरो विश्वविद्यालयमा अधिनायकवादीहरूले कब्जा गरे भने (जस्तै हंगेरीको केन्द्रीय युरोपेली विश्वविद्यालयमा कब्जा भयो) त्यसबेला मेरो जीवनमा रहेको विरोधाभास व्यक्तिगत संकटका रूपमा देखा पर्छ ।

त्यसैले राजनीतिक अर्थशास्त्रीसामु पुँजीको प्राथमिक संकट (जस्तोः पुँजी र श्रमबीचको सम्बन्ध) चिन्नु, ठम्याउनु तथा त्यसको चालको नियमको वर्णन गर्ने समस्या आइपर्छ । जब विनिमय प्रणाली आम बन्दै जान्छ, प्रणालीगत बन्दै जान्छ त्यतिबेला त्यसका सहभागीहरू (पुनः ग्रुन्ड्रिजकै उद्धरण) त्यसबखतसम्म विद्यमान ‘व्यक्तिगत निर्भरताको प्रतिवाद (एन्टिथेसिस) का रूपमा वस्तुगत निर्भरताको सम्बन्ध हासिल गर्छन् । ‘त्यसअघिसम्म एकापसमा निर्भर रहने व्यक्तिहरू त्यसपश्चात् कुनै अमूर्त वस्तुबाट शासित हुन थाल्छन् । उक्त अमूर्त वस्तु अरू केही नभएर उनीहरूको भगवान् वा मालिकका रूपमा रहेको भौतिक सम्बन्धको सैद्धान्तिक अभिव्यक्ति नै हो ।’

सन् १९८० को दशकमा आर्थिक लगानी गरेरै नवउदारवादी ‘थिंक ट्याङ्क’हरू ठूलो मात्रामा उत्पादन हुन थाले । ‘किन्सियालीहरू’ किनारामा पारिए ।

शासक विचारहरू ती हुन् जसलाई शासक वर्गले बोकेको हुन्छ । साथै प्रभुत्वशाली राज्य शक्तिसँग जोडिएको हुन्छ (पछिल्लो समयसम्मको अमेरिका जस्तै) । ती ‘सम्बन्धहरू केवल विचारमा मात्रै अभिव्यक्त हुन सक्छन् । त्यसैले दार्शनिकहरू विचारमा युगको विशेषता हुन्छ भन्ने ठान्छन् । साथै स्वतन्त्र निजत्वको सिर्जना गर्नका लागि त्यही वैचारिक सत्ता फ्याँक्नुपर्ने कुरा गर्छन् । यस्तो गलत बुझाइ हो । यस्तो बुझाइ विचारधाराका कारण पैदा हुन्छ । वास्तवमा विचारले सामाजिक तथा आर्थिक शक्तिसम्बन्धको स्वरूप देखाइरहेको हुन्छ । मानिसले विद्यमान विचारको शक्तिमा विश्वास गर्नुको कारण शासक वर्गले निरन्तर उपलब्ध सबै तौरतरिका लगाएर ती विचारहरूको प्रवर्द्धन एवं सशक्तीकरण गरिरहनु हो ।’

ठ्याक्कै यही तरिका अपनाएर हायक, मिल्टन फ्रिडम्यान, केथ जोसेफ, ‘द इन्स्टिच्युट अफ इकोनोमिक अफेयर्स’ तथा मार्गरेट थ्याचरले सन् १९८० को दशकमा नवउदारवादी बाटो अँगाल्ने वातावरण बनाए । छोटकरीमा ‘टिना’ भनिने ‘देयर इज नो अल्टरनेटिभ’ भन्ने थ्याचरको घोषणा थियो । धेरै मानिसले त्यसबेला यो नारालाई धर्मशास्त्रकै वाक्य जसरी लिए । त्यसरी मानव इतिहासमा अर्को एउटा विचार ‘भौतिक शक्ति’ बन्न पुग्यो ।

हामीले विचारधारात्मक क्षेत्रमा यी विचारहरू शासक वर्गका हुन् भन्ने भेउ पायौँ । साथै त्यससँग विचारधारात्मक संघर्षमै लाग्यौँ । सन् १९८० को दशकमा आर्थिक लगानी गरेरै नवउदारवादी ‘थिंक ट्याङ्क’हरू ठूलो मात्रामा उत्पादन हुन थाले । ‘किन्सियालीहरू’ किनारामा पारिए । खर्बपतिहरूको तप्का उदाउन थाल्यो । श्रमिकका संस्थाहरू असफल भए । बिस्तारै मार्क्सको सान्दर्भिकता सकियो भन्न थालियो ।

फर्केर हेर्दा ‘द मार्क्स प्रोजेक्ट’ अन्तर्गत ‘द स्टोरी अफ क्यापिटल’ मेरा पुस्तकहरूको शृङ्खलामा पछिल्लो कृति हो । अब यो अन्तिम पनि हुन सक्छ । मैले मार्क्सबारे लेख्न सुरु गर्दा पछि गएर यसरी परियोजना नै बन्छ होला जस्तो सोचेको थिइनँ । प्रश्न उठ्न सक्छ त्यो परियोजना के विषयमा थियो त ?

karl max

खासमा भन्ने हो भने मार्क्सलाई राम्रोसँग बुझ्ने बुझाउने काम भएकै थिएन । मार्क्सबारे गम्भीरतासाथ काम पनि भएको थिएन । यही समस्या समाधान गर्नका लागि तथा उनका कृतिलाई सहज रूपमा बुझ्न सकिने बनाउनका लागि यो परियोजना थालिएको थियो । मार्क्सका रचनाबारेको कमजोर बुझाइमा दक्षिणपन्थीहरूले गरेको गलत व्याख्या वा तोडमरोड मात्रै जिम्मेवार छैन । वामपन्थीहरूका विभिन्न हिस्साले गरेका कट्टरपन्थी प्रस्तुतिहरू पनि अझै बढी जिम्मेवार छन् ।

आजको दिनमा प्राज्ञिक क्षेत्रमा मार्क्सवादलाई पहिलेभन्दा अझै जटिल रूपमा प्रस्तुत गर्ने गरिन्छ । यस्तो हुनुमा थोरबहुत मेरो पनि हात छ । सन् १९८२ मा मेरो पुस्तक ‘लिमिट्स टु क्यापिटल’ बजारमा आयो । त्यसलाई दुरूह मानियो । पुस्तकलाई लिएर एकजना समीक्षकले ‘भूगोलको महत्त्वपूर्ण ग्रन्थ हुनुको अलावा विद्यार्थीहरूका लागि ठूलो बोझ समेत भएको’ भन्दै ठट्टा गरेका थिए । सन् १९७१ यता प्रत्येक साल मैले ‘पुँजी’ को भाग एक पढाउन थालेँ ।

७० को दशकमा कुनै साल त मैले वर्षमै तीन पटकभन्दा बढी पनि पढाएँ । म विश्वविद्यालयभित्र र बाहिर दुवैतिर पढाउँथेँ । त्यसरी पढाउँदा म क्याम्पससँगको सम्झौता अनुसारकै जिम्मेवारीमा पर्ने गरी पढाउँथेँ । जसले गर्दा मैले राजनीतिको पक्ष लिएर आफ्नो जिम्मेवारी पूरा नगरेको भन्ने हुँदैनथ्यो ।

म त मार्क्सका दुई प्रमुख राजनीतिक कृतिहरू बीचको खाडललाई पुर्दै रहेछु भन्ने मलाई अलि ढिलो गरी थाहा भयो । यही ‘मार्क्स प्रोजेक्ट’ कै हिस्साका रूपमा मेरा पुस्तकहरू ‘सेभेन्टिन कन्ट्राडिक्सन्स’ र ‘एन्ड अफ क्यापिटलिजम’ प्रकाशित भएका हुन् ।

जहिल्यै मेरो ध्येय मार्क्सका विचारहरूलाई सरलीकृत गर्ने तथा स्पष्ट पार्ने हुन्थ्यो । तर त्यसो गर्दा म उनका विचारलाई भुत्ते बनाउने वा अनावश्यक सरलीकरण गर्दिनथेँ । मैले मार्क्सबारे लेखिएका अरू विभिन्न पुस्तकहरूको धारणा थोपर्ने प्रयास पनि गरिनँ । सामान्यतः पढाउने मान्छेका धारणाहरू आफैँ हावी हुनसक्ने भए तापनि सकेसम्म मैले आफ्ना बुझाइ थोपर्ने काम गरिनँ । म मेरा विद्यार्थीहरूलाई मार्क्सको ढोका खोल्न चाहन्थेँ । त्यसो गर्दा उनीहरू आफैँ मार्क्सका विचारको गहनतामा प्रवेश गर्न तथा आफ्नै बुझाइ बनाउन सकून् भन्ने सोच्थेँ । यही मूल आशयसहित मेरा भिडियो शृङ्खला तथा मार्क्सको ‘पुँजी’ एवं ‘ग्रुन्ड्रिज’ बारेका सबै लेखाइहरू तयार भएका थिए ।

यसो गर्दै जाँदा मलाई समकालीन राजनीतिमा मार्क्सको बुझाइको सान्दर्भिकता देखाउनुपर्छ भन्ने लाग्न थाल्यो । यसमा मार्क्सबाट हामीले के सिक्न सक्छौँ भन्ने मात्रै नभएर उनका अपूर्णता वा त्रुटिको पहिचान गर्नुपर्ने दायित्व पनि पर्थ्यो । उनको चिन्तनमा के–के कुरा नयाँ थिए तथा के–के पुराना थिए भन्ने पहिचान गर्नु पनि पर्थ्यो । मेरो मनभरि प्रश्न थियो– आजको दिनमा मार्क्सलाई पढेर के बुझ्न सकिन्छ ? साथै आजको समयमा हाम्रो वरपरको दुनियाँ बुझ्न हामीले के गर्नुपर्छ ? इत्यादि ।

मैले आजको समयका घटना तथा ज्वलन्त मुद्दाहरूको विश्लेषण गर्नका लागि मार्क्सको विधि एवं उनका ठोस सिद्धान्तहरूमा आफ्नो बुझाइ मिलाएर प्रयोग गर्न थालेँ । म त मार्क्सका दुई प्रमुख राजनीतिक कृतिहरू बीचको खाडललाई पुर्दै रहेछु भन्ने मलाई अलि ढिलो गरी थाहा भयो । यही ‘मार्क्स प्रोजेक्ट’ कै हिस्साका रूपमा मेरा पुस्तकहरू ‘सेभेन्टिन कन्ट्राडिक्सन्स’ र ‘एन्ड अफ क्यापिटलिजम’ प्रकाशित भएका हुन् ।

यसमा मैले आजका दिन पुँजीवाद विरोधी हुनु भनेको के हो ? त्यसमा के–के पर्छ ? तथा पुँजीवाद विरोधी हुनुपर्ने कारणहरू के–के हुन् भन्नेबारे परिभाषा दिने प्रयास गरेको छु । ‘मार्क्स, क्यापिटल एन्ड द इकोनोमिक रिजन’ मा पुँजीको समकालीन संकटको व्याख्या गर्नका लागि मार्क्सका कृतिलाई व्यवस्थित ढाँचामा प्रस्तुत गर्ने जमर्को गरेको छु । मेरा प्रत्येक पुस्तकले कुनै खास विषय वा परिस्थितिलाई लिएर त्यसमा मार्क्सको विश्लेषणको खास पक्षको खोजी गरेका छन् ।

समग्रतामा भन्दा यी सबैको प्रभावस्वरूप मानिसलाई मार्क्सका कृतिको खुला एवं गम्भीर अध्ययन गर्न प्रोत्साहन मिल्छ भन्ने मेरो आशा थियो । त्यस्तो अध्ययन व्यावहारिक अध्ययन बन्दै जान्छ भन्ने अपेक्षा थियो ।

मेरो नयाँ पुस्तक ‘द स्टोरी अफ क्यापिटल’ पुँजीको कथा भन्ने क्रममा मेरो अर्को पाइला हो । यसलाई मानिसहरूले व्यक्तिगत तथा राजनीतिक रूपमा पुँजीबारे बुझ्न र त्यो ज्ञानको प्रयोग गर्न सकून् भन्ने अपेक्षा राखेको छु । आपसमा मिलेर सामूहिक रूपमा हामी साँच्चिकै यो दुनियाँ फेर्न सक्छौं । भलै मार्क्सले यस्तो फेरबदल कहिल्यै हाम्रो आफ्नै छनोटको अवस्थामा मात्रै हुँदैन भनेका किन नहुन् ।

हाम्रो अवस्था फेर्ने कामको सुरुवाती पाइला आजका अवस्थाहरूको सैद्धान्तिक शल्यक्रिया गर्नु हो । यही ठम्याइसाथ मैले आफ्नो कृति आजको संसारको मानवीय र पर्यावरणमैत्री विकल्प निर्माण गर्ने खोजका रूपमा प्रस्तुत गरेको छु ।

(प्रस्तुत आलेख डेभिड हार्वेको नयाँ पुस्तक द स्टोरी अफ क्यापिटल’ बाट सम्पादनसहित प्रकाशित गरिएको हो ।)

न्युस्टेटसम्यानबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डेभिड हार्वे
डेभिड हार्वे
लेखकबाट थप