मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
दर्शन

हामीलाई दर्शन किन चाहिन्छ ?

मङ्गलबार, २४ चैत २०८२, १५ : ००
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • विश्व दर्शन दिवसको अवसरमा दर्शनशास्त्रले समाजका वैचारिक र राजनीतिक व्यवस्थाहरूलाई प्रश्न गर्ने सामर्थ्य राख्ने चर्चा गरिएको छ।
  • सुकरातको प्रश्न गर्ने शैली र कन्फ्युसियसको नामको शुद्धीकरणको अवधारणालाई आधुनिक राजनीतिक परिवेशसँग तुलना गर्दै न्यायको अर्थ खोज्नुपर्ने आवश्यकता औँल्याइएको छ।
  • आजको जटिल विश्व व्यवस्थामा मानिसले आफ्नो अस्तित्व जोगाउन र न्यायको सही अर्थ बुझ्न दर्शनको अपरिहार्यता बढेको छ।

प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो मंगलबार हामी विश्व दर्शन दिवस मनाउने गर्छौँ । सन् २०२५ को दिवस नोभेम्बर २० का दिन परेको थियो । दर्शन दिवसको मेलो सम्झँदै आउनुस दर्शनबारे चर्चा गरौँ । आधारभूत रूपमा दर्शन के हो भन्नेबारे थोरै हेरौँ ।

अलान बेदियुले आफ्नो पुस्तक ‘ट्रु लाईफ’ को थालनी एउटा सनसनीपूर्ण दाबीबाट गरेका छन् । उनका अनुसार सुकरातको पालायता दर्शनको काम भनेकै युवाहरूको मति भ्रष्ट बनाउनु हो साथै समाजमा जबर्जस्त प्रभाव पारिरहेको वैचारिक–राजनीतिक व्यवस्थाबाट बाहिर निकाल्नु हो ।

अहिले हाम्रो उदार पश्चिमा समाजलाई त्यस्तै ‘भ्रष्टमति’ चाहिएको छ । जहाँ आफूलाई स्वतन्त्र र उन्मुक्त ठान्ने हरकोहिलाई राज्य संस्थापनले कसरी नियन्त्रण गरिरहेको छ भन्ने उनीहरूले भेउ नै पाएका छैनन् ।

मान्छेहरू स्वतन्त्र नहुने धेरै सन्दर्भहरू हुन्छन । त्यसमा पनि सबैभन्दा डरलाग्दो चाहिँ स्वतन्त्र नहुनुलाई नै मुक्ति वा स्वतन्त्र भएको अनुभव गर्नु हो । गोथेले दुई शताब्दी अघि भनेका थिए ‘दासहरूमा पनि त्योचाहिँ सार्है निराश पार्नेगरी दास भएको हुन्छ, जसले आफूलाई बन्धनभित्रै पनि मुक्त छु भन्ठानेर बसेको हुन्छ ।’

प्रश्न उठ्छ– आफू बाँच्न र हुर्किन चाहिने सामाजिक जालो तोड्न लागेको मुक्तिकामी मान्छे के साँच्चै स्वतन्त्र हो त ?

सुकरातको शैलीको क्रान्तिका दुई विशेषता छन् । पहिलो विशेषता अनुसार क्रान्ति ग्रीसको सामाजिक जीवनमा देखिएको आम संकटको प्रतिक्रिया थियो । सुकरातका लागि त्यस्तो संकट सोफिष्ट अर्थात् खोक्रो तर्कको बलमा हल्ला गर्दै हिड्नेहरूले नगरराज्य (पोलिस) को परम्पराको क्षयीकरण गरेकाले देखापरेको थियो ।

हामीले आफ्ना निर्णयको वैधानिकता स्थापित गर्न प्रयोग गर्ने समानता, स्वतन्त्रता, मानव अधिकार, जनता, ऐक्यबद्धता तथा मुक्तिजस्ता शब्दहरूको अर्थ हाम्रा लागि के हो ?

दोस्रो त्यस्तो क्षयिकरण रोक्न वा त्यसको विरोध गर्न केवल गौरवमय परम्परामा फर्केर मात्रै हुँदैन भन्ने मत सुकरातको थियो । उनी व्यग्रतापूर्वक आफैलाई प्रश्न गर्ने बाटोमा जानुपर्ने ठान्थे । सुकरातको तरिकाको आधारभूत प्रक्रिया एउटै सुत्रको अन्तहिन पुनरावृत्ति थियो । जहाँ सदगुण, सत्य, असल वा यस्तै अवधारणाहरूलाई ‘तपाईं ठ्याक्कै के भनेर बुझ्नुहुन्छ ?’ भनेर प्रश्न गरिन्छ ।

अहिले हामीले त्यसैगरी प्रश्न गर्नुपर्ने भएको छ । हामीले आफ्ना निर्णयको वैधानिकता स्थापित गर्न प्रयोग गर्ने समानता, स्वतन्त्रता, मानव अधिकार, जनता, ऐक्यबद्धता तथा मुक्तिजस्ता शब्दहरूको अर्थ हाम्रा लागि के हो ? सोच्नुको अर्थ धेरै व्यापक छ । जब हामी पर्यावरणीय संकटको सामना गरिरहेका हुन्छौँ, हाम्रो ध्यान केवल प्रकृतिको रक्षामा मात्रै हुँदैन । आजको दिनमा प्रकृतिको अर्थ के हो भन्ने प्रश्न पनि आफैलाई सोधिरहेका हुन्छौँ ।

कृत्रिम बौद्धिकताको उदयसँगै अब ‘मेसिन’हरू पनि सोच्न सक्ने भइसकेका छन् । हामीले अब केवल सामान्य प्रश्न गरेर मात्रै पुग्दैन । मान्छेको चिन्तनको खास अर्थ के हो भन्ने पनि सोच्न र सोध्न सक्नुपर्छ ।

सुकरातको प्रश्न र कन्फ्युसियसको ‘नामको शुद्धीकरण’को अवधारणा आपसमा विपरीत खालका छन् । कन्फ्युसियसका अनुसार कुनै पनि वस्तुको नामकरण गर्दा नामले त्यसको खास विशेषता झल्काउनुपर्छ । वस्तुको सार वा विशेषतालाई त्यसको नामले प्रतिनिधित्व गर्न सकेन भने त्यस्तो कमीको निवारण गर्नुपर्ने हुन्छ । त्यो भनेकै ‘नामको शुद्धीकरण’ हो ।

कन्फ्युसियसले लेखेका छन्, ‘यदि भाषा सही छैन भने अभिव्यक्ति र अर्थको तालमेल हुँदैन । भएको कुरा र भनिएको कुरामा तादात्य्मता रहेन भने गर्नै पर्ने काम छुट्न सक्छ । गर्नैपर्ने काम छुट्यो भने नैतिकता र कला खिइँदै जान्छन् । न्याय विकृत हुन्छ । न्याय विकृत हुँदै गएपछि जनताहरू निहीहपूर्वक अन्योलको अवस्थामा पुग्छन् । त्यसैले भनाइ र वास्तविकतामा अन्तर हुँदै हुँदैन ।’

कन्फ्युसियसको यो भनाइ सुकरातको परम्परासँग मिल्दैन । सुकारतको परम्परामा कुनै भाषामा सोच्नु भनेको भाषाकै बारेमा सोच्नु पनि हो । हाम्रो भाषामै रहेको विचारधारा ध्वस्त पार्नु पनि हो ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साँचो अर्थमा प्लेटोविरोधी सोफिस्ट भएका छन् । आफ्नो कृति ‘रिपब्लिक’ को सुरुकै पृष्ठमा प्लेटोले कसरी पपुलिस्टहरूले आफ्ना विरोधीसँग व्यवहार गर्छन् भन्ने उल्लेख गरेका छन् । उनको पुस्तकमा ट्रम्प जस्तै पपुलिस्ट व्यक्तिलाई पोलिमार्कसले प्रतिनिधित्व गर्छन् । विपक्षीको प्रतिनिधित्व स्वयं सुकरातले गरेका छन् ।

‘पोलिमार्कसले मसँग भने– सुकरात, तपाईं आफ्ना साथीहरूसँग सहर फर्कदै हुनुहुन्छ भन्ने मैले थाहा पाएँ ।’

मैले भने, ‘तपाई खासै गलत हुनुहुन्न ।’

उनले थपे, ‘हामी कतिजना छौँ भन्ने तपाईंलाई थाहा छ ? तपाईं हामी सबैभन्दा बलियो त हुनुहुन्न । त्यसैले अब तपाईं सहर फर्कन पाउनुहुन्न । हामी रोक्न सक्छौँ ।’

मैले भने, ‘केही विकल्प हुनसक्छन नि ! यदि मैले तपाईंहरूलाई बुझाउन सकेँ भने त जान सक्छु होला !’ उनले भने, ‘हामीले तपाईंका कुरा सुन्नै मानेनौँ भने कसरी हामीलाई सम्झाउनु होला ?’

मैले आफ्नै जीवनमा पनि मानिसले सोच्न नखोज्ने त्यस्तो प्रवृत्ति बारम्बार भोगेको छु । केही समयअघि म हाम्रो पर्यावरणको संकटबारे केही तर्कहरू तयार गर्दै थिएँ ।

ग्लाउकोनले थपे, ‘हामीले नसुनेपछि त उहाँले पक्कै बुझाउन सक्नुहुन्न । त्यसैले हामी सुन्नेवाला छैनौँ ।’

आफूभन्दा कमजोर विपक्षीलाई सुन्दै नसुन्ने तौरतरिका अचेल जताततै देखा पर्न थालेको छ । खासगरी ठुलो राजनीतिमा बारम्बार हामी त्यस्तो प्रवृत्ति पाउछौँ । दर्शनशास्त्रमा पनि त्यो समस्या देखिएको छ ।

यसरी अरूलाई सुन्न वा/तथा सोच्न अस्विकार गर्ने काम एकाएक ठुलो निर्णयका कारण भएको होइन । हाम्रो दैनन्दिन जीवनमा निरन्तर यस्तो हुँदै गएको छ । इजरायलको समर्थन गर्नेहरू गाजामा भइरहेको नरसंहारलाई सहजै अस्वीकार गर्छन् । उनीहरूलाई यस्तो कुरा यहुदीविरोधी बकवासजस्तो लाग्छ ।

मैले आफ्नै जीवनमा पनि मानिसले सोच्न नखोज्ने त्यस्तो प्रवृत्ति बारम्बार भोगेको छु । केही समयअघि म हाम्रो पर्यावरणको संकटबारे केही तर्कहरू तयार गर्दै थिएँ । त्यही क्रममा मलाई ‘तपाईलाई ठिकै लागेका भए पनि हामी त्यस्ता तर्क सुन्नेवाला छैनौँ’ भन्ने खालका जवाफहरू आए । त्यस्तो किन भयो भन्ने बुझ्न खोज्दा उनीहरू वैश्विक तापमान वृद्धि विरुद्धको संघर्ष भनेको संवृद्ध पश्चिमा जगत ध्वस्त पार्ने अभियान हो भन्ने खालका व्याख्या सुन्न पाइयो ।

यो त अझ निक्खर रूपमा ट्रम्पकै राजनीति भएन त ? ट्रम्पले मध्यपश्चिम वा युक्रेनलाई दिलाएको भनिएको न्याय जस्तो भएन र ? तर यस्तो कुरा गर्ने मामलामा ट्रम्प एक्लो पक्कै छैनन् । सन् २०२५को जुलाई ३ मा चिनियाँ विदेशमन्त्री वाङ यीले युरोपेली संघका उच्च कूटनीज्ञहरूसँग कुरा गर्दै युक्रेन युद्धमा रुसको पराजय रुसले स्विकार्न नसक्ने बताएका थिए ।

रुसले हार्दा अमेरिकाको पूरै ध्यान चीनतर्फ सोझिने उनको धारणा थियो । उक्त छलफलमा संलग्न एक अधिकारीका अनुसार वाङको निजी धारणा बेइजिङले सार्वजनिक रूपमा राख्ने गरेको असंलग्नताको धारणासँग अमिल्दो थियो । वाङका अनुसार बेइजिङ युक्रेनमा दीर्घकालीन युद्ध चाहन्छ । जसले गर्दा अमेरिकालाई आफूसँगको प्रतिस्पर्धामा ध्यान केन्द्रित गर्ने मौका नमिलोस् भन्ने चाहन्छ ।

चीनबारे केही भ्रमहरू नराम्ररी साफ भएका छन् । विविध समस्याजनक विशेषताहरूका बाबजुद चीन शान्ति तथा वैश्विक सहकार्य चाहन्छ साथै न्यायको अवधारणाको केही हदसम्म पालना गर्छ भन्ने धारणा थियो । वाङको अभिव्यक्तिले यो सबै खारेज गरिदियो । वाङको अभिव्यक्तिमा चीनले स्पष्ट पारेको छ, उसलाई लामो र विनाशकारी युद्ध चाहिन्छ । शान्तिले उसको आर्थिक चासो खल्बल्याउँछ । यो त ठ्याक्कै ट्रम्पले गर्ने जस्तो निर्मम तर्क देखिन्छ ।

यी सबैको सार के हो भने आजको दिनमा हामीलाई दर्शनको खाँचो अझै धेरै छ । आजसम्मकै सबैभन्दा धेरै खाँचो छ । हामी मान्छे भएर आफ्नो अस्तित्व कायम राख्न पनि हामीलाई दर्शन चाहिएको छ । जीवन धान्नका लागि चाहिने व्यवहारिक सोचभन्दा अझै माथि उठेको न्यायको अवधारणा बेगर हामी आफ्नो अस्तित्व जोगाउन सक्दैनौँ ।

र, त्यही न्यायको अर्थ आजको दिनमा के हुन्छ भन्नेबारे घोत्लिनु आवश्यक छ । 

(हान्क्योरेबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्लाभोज जिजेक
स्लाभोज जिजेक
लेखकबाट थप