वर्ष २०८२ : कांग्रेस इतिहासकै कमजोर, विशेष महाधिवेशनले पार्टीमा ध्रुवीकरण
सारांश
- २०८२ सालमा नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचनमा इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।
- पार्टीभित्रको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि विवाद चरमोत्कर्षमा पुगेको छ।
- जेनजी आन्दोलनका क्रममा सभापति देउवासहितका नेताहरूको घर र पार्टी कार्यालय तोडफोड तथा आगजनी भएको छ।
काठमाडौँ । नेपाली कांग्रेसप्रति चासो राख्नेहरूका लागि २०८२ साल ३ कारणले भविष्यमा सम्झिरहने वर्ष बन्यो ।
एक : कांग्रेस गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा इतिहासकै संसदीय निर्वाचनमध्ये सबैभन्दा कमजोर बन्यो ।
कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटमात्रै जित्न सक्यो, जुन २७५ सदस्यीय प्रतिनिधि सभामा कांग्रेसको उपस्थिति १३.८२ प्रतिशतमात्रै हो ।
दुई : गत पुस २७ देखि ३० गतेसम्म कांग्रेसमा विशेष महाधिवेशन आयोजना भयो । महाधिवेशनले गगन थापाको सभापतित्वमा पदाधिकारीसहितको केन्द्रीय कार्यसमिति घोषणा गर्यो । बहालवाला सभापति र केन्द्रीय समितिको सहमति बेगर नै विशेष महाधिवेशन गरी नयाँ कार्यसमिति चयन गरिएको थियो ।
यो विशेष महाधिवेशन २०७८ सालमा भएको १४औँ महाधिवेशनबाट सभापति भएका शेरबहादुर देउवाको समूह र नेता डा. शेखर कोइरालाको असहमतिमा र केन्द्रीय कार्यसमितिको निर्णयबिना २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको आह्वानमा तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भयो ।
यो विशेष महाधिवेशनपछि कांग्रेसमा विवाद बढेर चरमोत्कर्षमा पुगेको छ । माघ १ गते बिहान विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा भयो । त्यो कार्यसमिति अध्यावधिक गर्न भन्दै सभापति थापासहितका नेताहरू निर्वाचन आयोग पुगे । उनीहरूको मागलाई आयोगले माघ २ गते सदर गरिदियो ।
त्यसविरुद्ध देउवा र डा.कोइराला समूहले माघ ४ गते आधिकारिकता दाबी गर्दै विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमिति र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गर्यो । रिटको छिनोफानो अझै भएको छैन । निर्वाचन आयोगको निर्णयपछि १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरू पदविहीन भएका छन् भने विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारी र सदस्यहरू अहिले वैध अवस्थामा छन् ।
तीन : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेस पार्टी तहसनहस भयो । भदौ २४ गते सभापति देउवा श्रीमती डा. आरजु राणा देउवासहित बूढानीलकण्ठस्थित आफ्नै निवासमा मरणासन्न हुनेगरी कुटिए । पार्टी केन्द्रीय कार्यालयसहित ४८ जिल्ला पार्टी कार्यालयमा आगजनी र तोडफोड भयो ।
सभापति देउवासहित ८ पदाधिकारी र ३६ नेताका घरमा आजजनी र तोडफोड गरियो ।
१५औँ महाधिवेशनका तीन मिति
कांग्रेस विधानमा महाधिवेशन प्रत्येक ४/४ वर्षमा गर्ने उल्लेख छ । २०७८ साल मंसिरमा १४औँ महाधिवेशन गरेकाले २०८२ साल मंसिरभित्र १५औँ महाधिवेशन गर्नुुपर्ने थियो । त्यही महाधिवेशन कहिले गर्ने भन्ने गलफत्तीका कारण पार्टीमा विवाद उब्जियो । विवादका कारण १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले २ पटक र विशेष महाधिवेशनबाट आएको कार्यसमितिले १ पटक गरी १५औँ महाधिवेशनका लागि ३ पटक मिति घोषणा भए ।
एउटा घोषित मिति गुज्रिसकेको छ । बाँकी २ मितिमा पनि महाधिवेशन हुने सम्भावना देखिन्न । किनकि दुवै पक्षको सहमतिमा घोषित मिति गुज्रियो । सर्वोच्चमा विचाराधीन आधिकारिकता विवाद टुङ्गिएपछि अर्को महाधिवेशनको मिति आउने सम्भावना देखिन्छ ।
मंसिर १५ गते केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५औँ महाधिवेशन ०८२ पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।
त्यो मितिमा महाधिवेशन नहुने भएपछि पुस १८ गते बसेको कार्यसम्पादन समिति बैठकले महाधिवेशनको मिति परिवर्तन गर्दै वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गर्यो ।
महाधिवेशनका यी दुई मिति १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समितिले तोकेको थियो ।
तर, अर्को मिति विशेष महाधिवेशनबाट आएको कार्यसमितिले तोकेको छ । थापा नेतृत्वको कार्यसमितिको चैत १० र ११ गते बसेको बैठकले १५औँ महाधिवेशन ०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
२ महामन्त्री र १ सहमहामन्त्रीलाई ५ वर्षका लागि पार्टीबाट निस्काशन
पुस ३० गते बसेको केन्द्रीय कार्यसमिति बैठकले आफूहरूको असहमति र केन्द्रीय कार्यसमिति बैठकको निर्णयविपरीत विशेष महाधिवेशन नामक भेला गरेको भन्दै तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाहीको निर्णय गर्यो ।
त्यो निर्णय विशेष महाधिवेशनको हलबाट विशेष महाधिवेशन पक्षधरले अस्वीकृत गरे । तर, देउवा समूहले सर्वोच्चको रिटमा आफूहरूले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका व्यक्तिले गरेको विशेष महाधिवेशन मान्य नहुने भनेर उल्लेख गरेका छन् । त्यो कारबाही वैध हुने कि नहुने भन्ने विषय सर्वोच्चको फैसलापछि मात्रै टुङ्गो लाग्नेछ ।
सभापति थापाको राजीनामा अस्वीकृत
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले अप्रत्यासित हार व्यहोरेको भन्दै चैत ५ गते विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाले पदबाट राजीनामा दिए । त्यसको अर्कोदिन चैत ६ गतेबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उनको राजीनामा अस्वीकृत गर्यो ।
यतिसम्मकी उनले आफैँ केन्द्रीय समितिमा राखेका व्यक्तिहरू केन्द्रीय समितिमा भएकाले एक जना पनि उनले दिएको राजीनामा स्वीकृत गर्नुपर्छ भन्ने पक्षमा देखिएनन् । एक स्वरले उनको राजीनामा अस्वीकृत भएपछि दुई दिनपछि आफैँ बैठक बोलाएर १५औँ महाधिवेशनको मिति घोषणा गरेका छन् ।
०८२ बारे महामन्त्री पौडेलका दुई तर्क
०८२ सालमा कांग्रेसबारे महामन्त्री प्रदीप पौडेलले दुई तर्क गरेका छन् । महामन्त्री पौडेलले पहिलो तर्कका रूपमा एउटा निर्वाचनमा पराजित हुँदैमा निराश हुन नपर्ने बताए । ‘कांग्रेस ऐतिहासिक पार्टी हो । कांग्रेसले चुनाव कहिले हारेको छ, कहिले जितेको छ,’ पौडेलले रातोपाटीसँग भने, ‘निराश भइहाल्नुपर्ने अवस्था छैन । कमजोरी के हुन् ? त्यसलाई पहिल्याएर सच्याउँदै अगाडि बढ्ने मौका मिलेको छ, त्यसैगरी अगाडि बढ्नुपर्छ ।’
पार्टीमा विशेष महाधिवेशनपछि देखिएको विवादबारे महामन्त्री पौडेलले अब अदालततिर होइन, अधिवेशनतिर जानुपर्ने बताए । पौडेलले भने, ‘अग्रज अभिभावक नेतालाई हामीले आदर गर्छौं । उहाँहरूको मार्गनिर्देशन पालना गर्छौं । पार्टीको मुख्य स्वार्थका लागि अगाडि बढौँ । ०८३ सालमा पार्टीको एकताको महाधिवेशन गरौँ । सबैसँग सहयोगको अपिल गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण