बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निर्वाचन चर्चा

प्रतिनिधि सभामा कांग्रेस अहिलेसम्मकै कमजोर

बिहीबार, २८ फागुन २०८२, १७ : ००
बिहीबार, २८ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभामा नेपाली कांग्रेसको उपस्थिति २०४८ साल यताकै कमजोर हुने निश्चित भएको छ।
  • २०४८ देखि ०८२ सम्म भएका ८ निर्वाचनमध्ये कांग्रेसले ४ वटामा पहिलो र ४ वटामा दोस्रो स्थान हासिल गरेको छ।
  • ०८२ सालको निर्वाचनमा कांग्रेसले जम्मा ३८ सिट मात्रै जितेको छ, जुन अहिलेसम्मकै कमजोर उपस्थिति हो।

काठमाडौँ । प्रतिनिधि सभामा नेपाली कांग्रेसको उपस्थिति २०४८ साल यताकै कमजोर हुने निश्चित भएको छ । २०४६ सालको जनआन्दोलनको सफलतापछि अहिलेसम्म प्रतिनिनिधि सभाका (दुई संविधान सभासहित) ८ निर्वाचन भएका छन् ।

०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४, ०७९ र ०८२ मा गरी ८ निर्वाचनमा भाग लिएको कांग्रेसको उपस्थिति ०८२ मा सबैभन्दा कमजोर देखिएको हो ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार ती ८ मध्ये कांग्रेस अहिलेसम्म ४ वटा निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल भएको छ भने ४ निर्वाचनमा दोस्रो दल भएको छ । तर, उपस्थितिका हिसाबले अहिले सबैभन्दा कमजोर देखिएको हो ।

कांग्रेसले ०४८ सालको निर्वाचनमा प्रतिनिधि सभाका २०५ सिटमध्ये ११० मा जित हासिल गर्दै पूर्ण बहुमत प्राप्त गरेको थियो । त्यतिबेला कांग्रेसले जम्मा सिट संख्याको ५३.६६ प्रतिशतमा जितेको थियो । त्यो निर्वाचनमा दोस्रो भएको एमालेले ६९ सिटमा जितेको थियो ।

०५१ सालमा भएको मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रो ठुलो पार्टी बन्यो । २०५ सिटका लागि भएको निर्वाचनमा एमालेका ८८ उम्मेदवार निर्वाचित हुँदा कांग्रेसका ८३ उम्मेदवारमात्र निर्वाचित भए । प्रतिनिधि सभाको जम्मा सिट संख्याको ४०.४९ प्रतिशत त्यतिबेला कांग्रेसले जितेको थियो ।

०५६ सालमा २०५ सिटका लागि भएको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्यो । त्यो निर्वाचनमा कांग्रेसका १११ उम्मेदवार निर्वाचित भए । जो जम्मा सिट संख्याको ५४.१५ प्रतिशत हो । त्यो निर्वाचनमा एमालेका ७१ उम्मेदवार निर्वाचित भएका थिए । एमाले दोस्रो पार्टी बनेको थियो ।

०६४ सालमा भएको पहिलो संविधान सभाबाट प्रत्यक्ष र समानुपातिक प्रणाली गरी दुई प्रणालीबाट सांसद चुनिने व्यवस्था गरियो । ६०१ सिट निर्धारण गरी २४० प्रत्यक्षतर्फ ३३५ समानुपातिक तर्फ र २६ जना मनोनीत हुने व्यवस्था गरियो । त्यो निर्वाचनमा कांग्रेस दोस्रो ठुलो पार्टीमा झर्‍यो । सबैभन्दा ठुलो पार्टी बनेको तत्कालीन नेकपा माओवादीले प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिट गरी २२० सिट जितेको थियो । माओवादीले मनोनीतबाट पनि ९ सिट पायो । त्यो जोड्दा माओवादीको २२९ सिट भयो ।

दोस्रो पार्टी भएको कांग्रेसले प्रत्यक्षतर्फ ३७ र समानुपातिकतर्फ ७३ सिट गरी ११० सिट र मनोनीततर्फ ५ सिट पायो । यसरी हेर्दा यो निर्वाचनमा कांग्रेसको उपस्थिति जम्मा सिट संख्याको १९.१३ प्रतिशत थियो ।

पहिलो संविधान सभाले संविधान जारी गर्न नसकेपछि २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा भने कांग्रेस पहिलो पार्टीमा उक्लियो । कांग्रेसले प्रत्यक्षमा १०५, समानुपातिकमा ९१ र मनोनीत १० गरी २०६ सिटसहित पहिलो पार्टी बन्यो । त्यो निर्वाचनमा कांग्रेसको जम्मा सिट संख्याको ३४.२७ प्रतिशत थियो । एमाले प्रत्यक्षमा ९१, समानुपातिकमा ८४ सिट ल्याउँदै दोस्रो ठुलो पार्टी बनेको थियो ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान जारी भएपछि प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिक तर्फ ११० सिटसहित २७५ सदस्यीय हुने व्यवस्था गरियो । त्यही प्रावधान अनुसार ०७४ मा भएको निर्वाचनमा कांग्रेस फेरि दोस्रो ठुलो दलमा झर्‍यो । त्यो निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ८४ र समानुपातिकतर्फ ४१ सिट जित्दै पहिलो पार्टी बन्दा कांग्रेस प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० सिट जित्दै दोस्रो ठुलो पार्टी बन्यो । त्यो बेला कांग्रेसको प्रतिनिधि सभामा सम्पूर्ण सिट संख्याको २२.९१ प्रतिशत उपस्थिति थियो ।

०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्यो । कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिटसहित ८९ सिट जित्यो । त्यो सम्पूर्ण सिट संख्याको ३२.३६ प्रतिशत थियो । त्यो निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ४५ र समानुपातिकतर्फ ३४ गरी ७९ सिटसहित दोस्रो ठुलो दल बनेको थियो ।

०८२ फागुन २१ गते भएको निर्वाचनमा कांग्रेस दोस्रो दलमा झरेको छ र ०४८ देखि अहिलेसम्म भएका ८ निर्वाचनमध्ये प्रतिनिधि सभामा कमजोर उपस्थिति जनाउने निश्चित भएको छ । कांग्रेसले २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट गरी जम्मा ३८ सिट मात्रै जितेको छ । त्यो सम्पूर्ण सिट संख्याको १३.८२ प्रतिशतमात्रै हो ।

यो निर्वाचनमा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो ठुलो दल बनेको छ । नयाँ संविधान जारी भएपछि एउटै दलले प्रस्ट बहुमत ल्याएको यो पहिलो पटक हो ।

  • कांग्रेस ०५६ मा सबैभन्दा मजबुत, ०८२ मा कमजोर

कांग्रेसले ०४८ देखि ०८२ सम्म भएका ८ निर्वाचनमध्ये २ निर्वाचनमा एकल बहुमत ल्याएको थियो । उसले ०४८ र ०५६ मा भएका निर्वाचनमा बहुमत प्राप्त गरेको थियो । प्रतिनिधिसभामा कांग्रेसको उपस्थिति ०४८ मा ५३.६६ र ०५६ मा ५४.१५ प्रतिशत थियो ।

कांग्रेसको सबैभन्दा कमजोर उपस्थिति यही फागुन २१ गतेको निर्वाचनपछि हुने भएको छ । यो पटक प्रतिनिधि सभामा कांग्रेसको उपस्थित १३.८२ प्रतिशतमात्रै छ । यसभन्दा अगाडि कांग्रेसको सबैभन्दा कमजोर उपस्थिति ०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा थियो । त्यो बेला प्रतिनिधि सभाको समेत काम गरेको संविधान सभामा कांग्रेसको उपस्थिति १९.१३ प्रतिशत थियो ।

  • यस्तो छ कांग्रेसले ल्याएको सिट संख्या र प्रतिशत

c1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप