कुमार बेन अर्थात् बालेनका चाणक्य
सारांश
- कुमार बेनलाई प्रधानमन्त्री बालेन शाहको राजनीतिक रणनीतिकार र प्रमुख सल्लाहकारको रूपमा चिनिन्छ।
- बालेन शाहलाई स्वतन्त्र मेयरबाट प्रधानमन्त्रीसम्म पुर्याउने अभियानमा कुमार बेनले सामाजिक सञ्जालको प्रयोगमार्फत निर्णायक भूमिका निर्वाह गरेका छन्।
- कुमार बेनले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन टिमबिचको एकता तथा चुनावी रणनीतिको नेतृत्व गरेका थिए।
२०८२ पुस १० का अनलाइन मिडियाका हेडलाइनहरू याद गर्नु भएको छ ?
सायद बिर्सिनु भयो होला– नेपालीहरू माथि एउटा आरोप नै छ, ‘सर्ट मेमोरी’ भएका ।
एक पटक याद दिलाउँ है त !
‘बालेन शाहले देश विकास पार्टी खोल्ने’
‘बालेन शाहले डा. बाबुराम भट्टराई, डा. भगवान कोइराला, डा. सीके राउत, भीम उपाध्यायलाई भेटेर पार्टी खोल्ने विषयमा परामर्श गरे’
त्यो दिन कुपण्डोल, ज्वागलस्थित कुमार व्यञ्जनकार अर्थात् कुमार बेनको घर समाचार स्रोतका लागि ‘इपिसेन्टर’ बनिरहेको थियो ।
चिसिँदै गएको मौसमका बिच काठमाडौँमा तातिरहेको राजनीतिको पृष्ठभूमिका रणनीतिकार कुमार बेन त्यो दिन धेरै हदसम्म सतहमै देखिएका थिए । त्यही दिन हो राजधानीका धेरै मिडियाले कुमारको ज्वागलस्थित कोर नेवारी बस्तीबिचमा नेवारी शैलीको घर चिन्न पाएको ।
रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहको टिमबिच एकीकरण गर्ने कुमारको लामो समयदेखिको प्रयास असफल भएको घोषणासभा जस्तै थियो त्यो दिन । राजनीतिक बजारमा धेरै विश्लेषण आइरहेका थिए, तर बालेनका ‘चाणक्य’ कुमार भने रविसँग अन्तिम लडाइँको रणनीतिक ब्यूह रच्दै थिए ।
....
भदौ २३ र २४ मा जेनजी आन्दोलनले राजनीतिक उलटपुलट गरेपछि त्यसको सर्वोच्च नेताका रूपमा स्थापित भए काठमाडौँका मेयर बालेन शाह ।
आन्दोलनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अपदस्थ गरेपछि नयाँ सरकारका लागि जेनजीहरूको पहिलो रोजाइका प्रधानमन्त्री थिए बालेन शाह । जेनजी आन्दोलन, आन्दोलनको निर्णायक क्षण र आन्दोलनलाई संस्थागत गर्ने काममा कसैको होल्ड थियो भने बालेन शाहकै थियो ।
सदाझैँ पृष्ठभूमिमा बसेर कुमार बेनले बालेनका सोसल मिडिया ह्याण्डिलहरूबाट कुन समयमा के सन्देश पठाउने हो भन्नेमा निर्णायक भूमिका निर्वाह गरिरहेकै थिए । जेनजीहरूको सर्वाधिक रोजाइको प्रधानमन्त्री पद अस्वीकार गर्ने निर्णय पनि बालेनले भन्दा बढी कुमारले नै लिएका थिए । किस्तीमा प्राप्त भएको प्रधानमन्त्री पदबाट बालेनलाई वञ्चित गराइरहँदा सायद कुमारले बालेनलाई आश्वस्त पारेका थिए– तिमी ६ महिनाका लागि होइन, पाँच वर्षका लागि प्रधानमन्त्री बन्नुपर्छ ।
बालेनको टिमले सर्वोच्च अदालतकी पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा आन्तरिम सरकार बनाउने सहमति दिएपछि जेनजीहरूले चित्त बुझाएका थिए । उक्त सरकारमा कुमारले छानी–छानी आफ्ना फलोअरहरूलाई मन्त्री बनाएका थिए ।
...
सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा आमनिर्वाचन गर्ने अर्जुनदृष्टिसहित द्रुत गतिमा काम अगाडि बढायो, जसमा बालेन/कुमारहरूको शतप्रतिशत सहमति थियो । फागुन २१ का लागि तोकिएको निर्वाचन हुन नदिई सुशीला कार्की सरकारलाई असफल बनाउने रणनीतिमा केपी ओलीसहितका राजनीतिक शक्तिहरू केन्द्रित हुन थालेपछि त्यसलाई असफल बनाउन कुमार बेनहरू अलि तातिएरै लागेका थिए ।

जेनजीहरूलाई उनीहरूकै चाहना अनुसारको सरकार बनेको देखाउने र राष्ट्रियस्तरमा राजनीतिक सहमति पनि जुटाइएको देखाउने गरी राजनीतिक पृष्ठभूमिमा धेरै काम भइरहेका थिए । त्यसका लागि सुशीलाको विकल्पमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई अगाडि सारिएको थियो । खासमा भन्नुपर्दा कल्याण श्रेष्ठले आफ्नो पक्षमा पश्चिमाहरूको समर्थन जुटाएर नयाँ दिल्लीको समर्थन लिने अन्तिम तयारी गरिरहँदा बालेन/कुमारहरू सुशीला कार्कीको पक्षमा चट्टान बनेर उभिँदै फागुन २१ गते निर्वाचन सम्पन्न गरेरै छाड्ने अडानमा साथ दिएका थिए ।
...
भदौ २४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको अगुवाईमा आन्दोलनकारीहरू समेतले नख्खु जेल तोडेर पार्टी सभापति रवि लामिछानेलाई जेलमुक्त गराई विजय उत्सवको शैलीमा काठमाडौँमा प्रदर्शन गरे । रविलाई जेनजी आन्दोलनको नेताका रूपमा स्थापित गर्ने प्रयास भएपछि बालेन समूहले तत्कालै अनौपचारिक रूपमा तीव्र असन्तोष व्यक्त गर्यो । जेलबाट निस्किरहँदा विजय रथमा सवार भएको महसुस गरेका रवि घर पुग्दासम्म भगुवाको हैसियतमा पुगिसकेका थिए ।

बालेन टिमले रविको विपक्षमा सोसल मिडियामा यसरी रियाक्सन गर्यो, उनी एकैछिनमा हिरोबाट भिलेनमा परिणत भए । जेनजी आन्दोलनको सर्वोच्च नेताका रूपमा बालेनलाई मात्रै स्थापित गर्ने कुमारको रणनीतिले रविलाई जेलमुक्त भएको पहिलो रातमै चैनको निद्रा दिएन ।
त्यसको केही दिनमा आफैँ गुण्टा बोकेर रवि जेलमा हाजिर हुन पुगे । भदौ २३, २४ मा चुलिएको रास्वपाको लोकप्रियताको ग्राफ रवि जेलबाट भागेको न्यारेशनसँगै ओरालो लागेको महसुस गरियो । रवि जेलमै फर्केपछि राजनीतिको केन्द्रमा बालेन एक्लै छाइरहे । अबको विकल्प बालेनमात्रै हुन् भन्ने भाष्यलाई सामाजिक सञ्जालमार्फत यसरी स्थापित गरियो कि जेनजी आन्दोलनपछि एकोहोरिएको जनमत बालेनलाई केन्द्रबिन्दु मानेर स्थिर रह्यो ।
...
६ महिनामा निर्वाचन सम्पन्न गर्न नसके आफूलाई असफल प्रधानमन्त्रीका रूपमा राजीनामा गर्न बाध्य पारिनेछ भन्ने कुरालाई राम्रोसँग बुझेकी सुशीला कार्कीले एकमात्र लक्ष्य तोकिएकै मितिमा निर्वाचन बनाएर अगाडि बढिन् । पुराना राजनीतिक दलहरूप्रति घृणा ओकल्ने सुशीला उनीहरूप्रति समेत नरम बनिन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाइन् । जेनजी आन्दोलनमाथि भएको दमनका बारेमा छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको समय लम्ब्याएर पुराना दलहरूले गर्न सक्ने रियाक्सनबाट टाढै बसिन् । मंसिर सकिएर पुस महिनामा प्रवेश गरिरहँदा अब फागुन २१ गते निर्वाचन हुन्छ भन्नेबारे पुराना दल र नयाँ शक्ति सबैलाई आश्वस्त बनाउँदै सबैलाई निर्वाचनमा केन्द्रित हुने वातावरण तयार गरिन् ।
फागुन २१ गते निर्वाचन सम्पन्न गराउन बालेन/कुमारहरूले प्रधानमन्त्रीलाई सहयोग पुर्याइरहेका थिए, तर आफूहरू चुनावमा कसरी जाने भन्नेबारेमा उनीहरुले प्रष्ट्याएका थिएनन् । जेनजी अभियन्ताहरूको भिड ज्वागलस्थित कुमार निवासमा सुरु हुन थाल्यो । सुशीला सरकारका बब्लु गुप्ता लगायतका मन्त्रीहरू त बिहानै कुमारको घरमा पुगेर आगामी चुनावमा कसरी जाने भन्नेबारे निर्णय लिन दबाब दिएपछि मात्रै मन्त्रालय जान थाले । उनीहरूका घोषित नेता बालेन थिए, तर जेनजी र बालेनका पनि वास्तविक नेता भने कुमार नै थिए । निर्वाचनको समय घर्किंदै जान थालेपछि र जेनजीहरूको दबाब बढ्दै गएपछि कुमार आगामी राजनीतिक बाटो खोल्नैपर्ने दबाबमा पुगे ।

अर्कोतर्फ पुराना राजनीतिक दलहरूले भदौ २४ गते जलाइएको सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, व्यावसायिक प्रतिष्ठान र निजी भवनहरूको अन्तिम जिम्मेवारी काठमाडौँका मेयर बालेन शाह नै हुने न्यारेशन तयार पारेपछि यो टिमलाई राजनीतिमा व्यवस्थित रूपमा सक्रिय भएर राजनीतिको बागडोर आफैँले सम्हाल्नुपर्ने अवस्थातर्फ परिस्थितिले पनि डोर्याउँदै लग्यो । अन्यथा, फागुन २१ गतेको निर्वाचनमा कांग्रेस–एमालेले विजय हासिल गरेको अवस्थामा भदौ २४ गतेको विध्वंसको जिम्मेवारी बालेनको टाउकोमाथि थोपरिने अवस्था बन्न थाल्यो ।
जेनजी आन्दोलनकारीहरू मात्र होइन, कांग्रेस–एमालेको राजनीतिबाट वाक्क भएका समाजका अगुवाहरूले पनि कुमारलाई सोधिरहेका थिए– ‘बालेनको पार्टी कहिले खुल्छ ?’
तिमीहरू राजनीतिबाट भाग्न पाउदैनौँ, देशले बालेन खोजिरहेको छ, नेतृत्व लिने हिम्मत गर भन्दै यो समूहले विनाशर्त बालेनको पार्टीलाई सघाउने बचन कुमारलाई दिइरहेका थिए ।
यहीबिचमा कुमारले दुई वटा रणनीतिक योजना अगाडि सारे । पहिलो, रास्वपासँग मिलेर जाने ।
दोस्रो, रास्वपासँग मिल्नै नसकेको अवस्थामा बालेनको नेतृत्वमा पार्टी खोल्ने ।
यो रणनीति कार्यान्वयनका लागि उनले आफ्ना साथीहरूको नाममा निर्वाचन आयोगमा पार्टी दर्ता गराए– देश विकास पार्टी । रास्वपासँग कुरा नमिलेको अवस्थामा पार्टी दर्ता गर्न कानुनी रूपमा ढिला हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उनले सुरुमै चुपचाप पार्टी दर्ता गराए ।
त्यसपछि उनको यात्रा सुरु भयो नख्खु जेलतर्फ, जहाँ रास्वपाका सभापति रवि लामिछानेलाई राखिएको थियो ।
रविसँग वार्तामा जाँदा कुमारसँग स्पष्ट प्रस्ताव थिए– पहिलो, रास्वपा र बालेन टिमबिच एकीकरण । बालेन टिमको पार्टी नभए पनि यो दुई वटा पार्टी एकीकरण गरेजस्तै हो । र, यो गणितमा १ मा १ जोड्यो भने २ हुनेजस्तो पनि होइन, ११ हुन्छ ।
दोस्रो प्रस्ताव थियो– आगामी निर्वाचनपछिको प्रधानमन्त्री बालेन । पार्टी सभापति रवि । बालेनले पार्टीमा कुनै पनि हस्तक्षेप नगर्ने र रविले सरकारलाई हस्तक्षेप गर्न नपाउने ।
कुमार अन्य राजनीतिक पार्टीका नेताहरू जस्तो पृष्ठभूमि बाँधेर, कुरा घुमाएर, दर्शनका कुरा गरेर वा विश्व परिवेशका कथा हालेर कुरा गर्ने स्वभावका छैनन् । उनी सिधा–सिधा कुरा गर्छन् र त्यसमै अडिन्छन् । जे कुरा गरेका हुन्, त्यसको अर्थ के हो भन्ने कुरा पनि सिधै भनिहाल्छन् ।
नख्खु जेलमा भेटवार्ता गरिरहँदा उनले रविलाई प्रस्ट पारिदिए– रास्वपा र बालेन टिम नमिल्ले हो भने आगामी निर्वाचनमा कांग्रेस–एमालेकै सरकार बन्छ र त्यो सरकारले रवि र बालेन दुवैलाई यसैगरी जेलमा सडाउने छ– रविलाई सहकारीदेखि सम्पत्ती शुद्धीकरणसम्म र बालेनलाई भदौ २४ गतेको विध्वंसको जिम्मेवार बनाएर ।
रवि र बालेन छुट्टाछुट्टै निर्वाचनमा जाँदा कमजोर हुने र अन्ततः कांग्रेस–एमालेकै सरकार बन्ने मार्गचित्र पनि उनले रविका अगाडि राखिदिए ।

जेनजीको भावनालाई आत्मसात् गर्ने हो र प्राप्त भएको अवसरलाई उपयोग गर्ने हो भने रास्वपा र बालेन टिम मिल्नुको विकल्प नरहेको उनले बुझाए ।
रविका लागि कुमारको प्रस्ताव स्विकार्य थिएन । आगामी निर्वाचनपछि बालेनलाई प्रधानमन्त्री स्वीकार गर्ने विषय त झनै स्विकार्य थिएन । रविले आफू जेलमा हुँदा पार्टीको नेतृत्व सम्हालिरहेका डीपी अर्याल र स्वर्णिम वाग्लेहरूसँग छलफल गर्न आग्रह गरे । यसको अर्थ कुमारको प्रस्ताव अस्विकार्य छ भन्ने उनको घुमाउरो सन्देश थियो ।
कुमारले डीपी र स्वर्णिमसँग पनि यही विषयमा छलफल अगाडि बढाए । कुमारको प्रस्तावमा डीपी नरम सुनिन्थे, तर स्वर्णिम भने अत्यन्तै नेगेटिभ । स्वर्णिमले रविभन्दा कैयौँ कदम माथि पुगेर कुमारलाई भनेका थिए– बालेनलाई प्रधानमन्त्री स्वीकार गर्ने कुरा सम्भव छैन । यस्तो प्रस्तावमाथि छलफल गर्न सकिँदैन ।
हाम्रा स्रोतहरूले के दावा गर्छन् भने कुमारसँगको राजनीतिक संवादमा स्वर्णिमले सामान्य राजनीतिक कल्चर पनि देखाउन सकेनन् । धेरै हदसम्म अहंकारी स्वभाव समेत प्रदर्शन गरे ।
_1HMZxFwjmi.jpg)
बालेन टिमलाई रास्वपामा ल्याउनै हुँदैन भन्ने मान्यता राख्थे स्वर्णिम । उनको आफ्नै रणनीति थियो– रविको अनुपस्थितिमा पार्टीको नेतृत्व आफूले गर्ने । निर्वाचनपछि संसदीय दलको नेता आफू बन्ने र रास्वपाको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा आफैँ प्रधानमन्त्री बन्ने ।
गएको निर्वाचनमा स्वर्णिमले आफ्ना गुटका केही व्यक्तिहरूलाई रवि र बालेनलाई समेत गुमराहमा पारेर टिकट दिएको आरोप छ । अहिलेको संसदमा दुई दर्जन जति सांसद उनका रहेको विश्लेषण गरिन्छ ।
राजनीतिक महत्त्वकाङ्क्षाका साथ कांग्रेसबाट रास्वपामा प्रवेश गरेका स्वर्णिमले आफ्ना लागि बनाएको रणनीति स्वाभाविक पनि हो । भनिन्छ, जोगी हुन कसले राजनीति गर्छ र ? अथवा राजनीति गर्ने प्रत्येक व्यक्तिको लक्ष्य प्रधानमन्त्री बन्ने नै हुन्छ । रवि कानुनी झमेलामा फसिरहेको बेला र रास्वपा लोकप्रिय बनिरहेका बेला स्वर्णिम आफैँले प्रधानमन्त्री पद सम्हाल्ने ‘स्वर्णिम सपना’ देखेका थिए भने त्यो अस्वाभाविक होइन नै ।
स्वर्णिमले आफ्नो कोर टिमसँग रवि कानुनी झमेलाकै कारण निर्वाचन जिते पनि प्रधानमन्त्री बन्न सम्भव छैन, बालेन झापा–५ मा केपी ओलीसँग चुनाव लड्न गएकाले जित्ने सम्भावना छैन, त्यसैले आगामी सरकारको नेतृत्व आफैँले गर्ने हो भनेर गरेको गफ रास्वपाबिचमै छलफलको विषय बनेको थियो ।
स्वर्णिम अलि भोकल नै छन्– कांग्रेसमै रहेका बेला शक्तिको केन्द्रमा रहेकी डा.आरजु राणाका बारेमा उनले गरेका नकारात्मक टिप्पणीहरू बहिरिएपछि अन्ततः उनले कांग्रेस नै छाड्नुपर्ने पृष्ठभूमि तयार भएको विश्वास गरिन्छ ।
सुशीला कार्की सरकारको नरम व्यवहारसँगै अदालतको आदेश अनुसार रवि २०८२ पुस ४ गते पौने चार करोड रूपैयाँ धरौटी र बैंक ग्यारेन्टीमा जेलबाट छुटेपछि रवि–बालेन पक्षबिचको राजनीतिक छलफल अगाडि बढ्यो । पुस ७ गते रास्वपा सांसद एवं बालेनका मित्र असिम शाहको कमलादीस्थित घरमा रवि–बालेनले रातभर छलफल गरेर बिहानमात्रै छुट्टिएको खबरसँगै दुई पक्षबिच एकताको टुङ्गो लागेको अड्कलबाजी सहित मिडियामा खबर छापिए । तर, वास्तविकता रातभरको छलफलले उनीहरू मिल्न नसक्ने करिब–करिब निश्चित भएर बिहान ५ बजे आ–आफ्नो निवासतर्फ लागेका थिए ।
निर्वाचन सन्निकट बनिरहेको छ । राजनीतिक दाउपेच यस्तो अवस्थामा उभिएको छ कि जित्नेको इतिहास लेखिँदैछ भने हार्नेलाई हत्कडी लगाउँदैछ । जित्नका लागि गरिएका प्रयासहरू खेर गएका छन् । विपक्षीहरूद्वारा भदौ २४ गतेको विध्वंसको जिम्मेवार मानिएका बालेन र उनको टिमलाई जानजान हार्ने सुविधा अब सकिएको छ । पुस दोस्रो सातामा प्रवेश गरिरहँदा बालेन टिमका लागि ‘गर या मर’ को अवस्था सिर्जना भयो । माघ ६ गते निर्वाचन आयोगले पुस १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउने र माघ ६ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यसूची सार्वजनिक गरिसकेको छ । हो, यही समयको चापका बिच कुमारषयपपले आफ्नो रणनीतिका पोका एक–एक गरी फुकाउँदै छन् ।
कुमार निर्वाचन हार्न चाहँदैनन् र, आफ्ना एजेण्डालाई पनि एकरत्ती पछाडि पर्न दिँदैनन् ।
उनले ज्वागलस्थित आफ्नो निवासलाई बालेन शाहको अफिसमा परिणत गर्छन् ।
देशमा राजनीति र समाजमा ख्याती कमाएका व्यक्तिहरूसँग बालेनको भेटवार्ता सुरु हुन्छ ।
कुमारले रविलाई स्पष्ट सन्देश दिन्छन्– बालेनलाई प्रधानमन्त्री मानेर एकता नगर्ने हो भने अब बालेनको नेतृत्वमा छुट्टै पार्टी गठन हुन्छ, जसले रास्वपालाई नै सखाप पारिदिनेछ ।
निर्वाचन आयोगले पार्टी दर्ताका लागि दिएको समय घर्किसकेको समयमा कुमारले स्पष्ट पारिदिन्छन्– उनीहरूको पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता भइसकेको छ, देश विकास पार्टी ।
बालेनलाई प्रधानमन्त्री मानेर पार्टी खोल्न देशका जल्दाबल्दा, समाजमा क्रेडिबिलिटी स्थापित भएका, उद्यम व्यवसायमा जमेका, कलाकारिता, साहित्य, पत्रकारिताका चर्चित अनुहारहरू तयार भएका छन् ।
कुमारले रविलाई अर्को झट्का दिन्छन्– रास्वपामा रहेका ६० प्रतिशत नेताहरू बालेनतिरै आउँदैछन् । त्यसका लागि गणेश कार्की, असिम शाह, डा. तोसिमा कार्की लगायतका अनुहारहरू बालेनतिरै आउनेछन् भन्ने सन्देश दिइसकेका छन् ।
जेनजी आन्दोलनका युवाहरू प्रायः सबैलाई बालेनतर्फ एकाकार गराइसकेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकार पनि बालेनप्रति नै धेरै हदसम्म ढल्किएको अवस्था त छँदैछ ।
ज्वागलमा आफ्नै काकाको घर खाली गर्न लगाएर कुमारले रातारात देश विकास पार्टीको कार्यालय स्थापना गरे, मानौँ उक्त पार्टी अब रास्वपाजस्तै सक्रिय बनेको छ । बालेनले सोही पार्टी कार्यालयमा बसेर काम गर्न सुरु गरे ।

कुमारले राजनीतिक दृश्य यस्तो बनाइदिए कि नयाँ राजनीतिक शक्तिको केन्द्र पूराका पूरा बालेन वरिपरि घुमिरहेको छ । रवि लामिछानेको रास्वपा सङ्कटतर्फ धकेलिदैँछ । धेरै हदसम्म वास्तविकता पनि यस्तै छ ।
कुमारले लिएको यो रणनीतिका सामु रवि गलेको देखिन्छन् । पुस ११ गते बिहानै उनी बालेन र कुमारलाई भेट्न ज्वागल आइपुग्छन् ।
दुवै पक्षबिचको एकताका लागि रवि पहिले नै तयार भइसकेका हुन्छन् ।
एकताको मूल मर्म त्यही नै हुन्छ, जुन कुमारले सामान्य रूपमा नख्खु जेल पुगेर रविलाई भनेका थिए– पार्टी सभापति लामिछाने । निर्वाचनपछिको प्रधानमन्त्री बालेन ।
पार्टीमा बालेनले कुनै हस्तक्षेप नगर्ने । सरकारको काममा रविले हस्तक्षेप नगर्ने ।
पार्टीमा बालेनका लागि कुनै पदको बार्गेनिङ नै उनले गरेनन् । कुनै पद नै मागेनन् ।
अन्ततः कुमारले कोरेको रणनीतिमा रास्वपा प्रवेश गर्यो । राजनीतिमा नयाँ तरङ्ग स्थापित भयो ।

कुमारले कुलमान घिसिङलाई पनि पार्टीमा जोड्न चाहेका थिए, तर कुलमानको महत्त्वाकाङ्क्षा यति चुलियो कि उनलाई व्यवस्थापन गर्न सक्ने अवस्था रहेन । बालेनका लागि सर्वसम्मत प्रधानमन्त्रीकै पदमा कुलमानले आँखा गाडेका थिए ।
रास्वपामा रवि र बालेनभन्दा माथि आफ्नो हैसियत हुनुपर्ने महत्त्वाकाङ्क्षाले कुलमानलाई डुबाइदियो ।
...
पार्टी व्यवस्थापनको यो रणनीतिमा सफल भएपछि कुमारले अर्को तरङ्ग ल्याइदिए– केपी ओलीसँग बालेन भिड्ने ।
भावी प्रधानमन्त्रीको उम्मेदवारलाई ओलीसँग भिडाउने ‘षडयन्त्र’ रविले गरेका हुन् भन्ने आशङ्का सबैतिर फैलियो, तर यो चाहना रविको होइन, बालेन स्वयंको हो भनेर कुमारले नै सोसल मिडिया र मिडियाहरूमार्फत् क्लियर गरिदिए ।
यो कदमप्रति बालेनका निकट मित्रहरू नै अन्योलमा परे– कतै ओलीसँग चुनाव हारे भने बालेनको अवस्था के हुन्छ ?
उनका निकट मित्र र शुभेच्छुकहरू भित्रभित्रै असन्तुष्टिको रापमा थिए– यो सबै बालेनमाथिको षड्यन्त्र हो ।
यो विषयले आफना मित्रहरूबिचमै साँच्चिकै अन्योल उत्पन्न भएपछि कुमारले आफ्ना निकट मित्रहरूसँग यसको वास्तविक सोच के हो भनेर विस्तृतमा प्रकाश पारे ।
हामी चुनावका लागि चुनावमा जादैँछैनौँ । हामी जसरी पनि प्रधानमन्त्री बन्न पनि चुनावमा जादैँछैनौँ । हामी देशभर चुनाव जितेर एकलौटी सरकार बनाउनका लागि चुनावमा जादैँछौँ । केही गरेर देखाउनका लागि, देशमा साँच्चिकै परिवर्तन गर्नका लागि चुनावमा जादैछौँ । त्यसका लागि बालेन केपी ओलीसँग लड्नुपर्छ । बालेन केपी ओलीसँग लडेर ओलीलाई हराउँदै छन् भन्ने एउटै सन्देशले देशभरको चुनाव हामीले जित्छौँ । देशभरको माहोल हाम्रो पक्षमा आउँछ । त्योभन्दा महत्त्वपूर्ण कुरा यदि हामीले झापा–५ मा ओलीलाई हराउन सक्यौँ भने रास्वपाको स्पष्ट बहुमत आउँछ र हाम्रो सरकार बन्छ । यदि झापामा ओलीलाई हामीले हराउन सकेनौँ भने रास्वपाको बहुमत आउँदैन । बालेनलाई मिलिजुली सरकारको प्रधानमन्त्री बन्नुछैन । पुराना पार्टी र नेताजस्तै बालेनलाई जसरी पनि यो देशको प्रधानमन्त्री बन्नु परेको छैन । यस्तो कुरा कसैको छ भने यसमा मेरो सहमति पनि छैन । यस्तो प्रधानमन्त्री बनेर पनि केही काम छैन । चुनाव हारियो भने खुरुखुरु आफ्नो काम गर्ने हो, बस्ने हो । जबर्जस्ती राजनीति पनि गर्नु परेको छैन । अब त कुरा बुझ्यौ होला नि ?
कुमारले जे भनेका थिए, फागुन २१ मा त्यही भयो । झापा–५ मा बालेनले सानदार विजय हासिल गरे । देशभर बहुमतमात्रै होइन, रास्वपालाई झन्डै दुई तिहाइ बहुमत आयो ।
आज बालेन प्रचण्ड बहुमतसहितको देशका प्रधानमन्त्री छन् । कुमार बेन प्रधानमन्त्रीका मुख्य सल्लाहकार ।

स्वतन्त्र मेयरदेखि स्वतन्त्र पार्टीका प्रधानमन्त्रीसम्म
२०७४ सालको स्थानीय निर्वाचनको दिन (१४ मइ २०१७) मा बालेनले आफ्नो फेसबुकमा लेखेका थिए–
I dint vote today
I was not the candidate.
I did my bachelor in Civil Engineering, I am on half way to masters of Structural Engineering.
I know how to build a Nation.
I’ll vote next time, and vote myself
I will develop my nation.
मलाई अरु कसैको भर लाग्दैन
त्यो बेला कसलाई के मतलब, बालेनले के पोष्ट गरे भनेर । २०७८ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौँ महानगरपालिकाको मेयर पदमा प्रत्यासी भइसक्दा समेत नेकपा एमाले र नेपाली कांग्रेसको वर्चश्व रहेको महानगरमा बालेनलाई कुनै प्रतिस्पर्धी नै मानिएको थिएन । स्थानीय निर्वाचन निजिकिँदै जाँदा, मत सर्वेक्षणहरूले बालेनलाई मुख्य प्रतिस्पर्धीका रूपमा देखाउँदै गर्दा र अन्ततः प्रतिस्पर्धीभन्दा २३ हजारभन्दा बढी भोट ल्याएर मेयर पदमा चुनाव जितिसकेपछि बल्ल खोजी हुन थाल्यो, बालेनको रणनीतिकार को हो ?
बालेनमा गम्भीर राजनीतिक योजना थियो भन्ने कुरा पाँच वर्षपछिको काठमाडौँको मेयर आफैँ हुँ भन्ने सन्देश दिने माथिको फेसबुक पोष्टले देखाउँछ । र, उनी स्वतन्त्र राजनीतिमा बढी नै विश्वास गर्छन् भन्ने पनि उत्तिकै जगजाहेर छ । यो बिचमा उनले स्वतन्त्र राजनीतिक यात्राको बारेमा सुक्ष्म योजना बनाएको पनि यसबाट बुझ्न सकिन्छ ।
ललितपुर महानगरपालिका वडा नम्बर १० ले एउटा यस्तो इतिहास बनाएको छ, जहाँका एक वडाध्यक्षले १० पटकसम्म स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेका थिए । उनी थिए– कुपण्डोल, ज्वागल निवासी नरसिंह व्यञ्जनकार ।
२०७८ सालको स्थानीय निर्वाचनको चार महिना बाँकी रहँदा बालेन नरसिंह व्यञ्जनकारलाई भेट्न उनको निवासमा पुगेका थिए ।
बीबीसीसँगको कुराकानीमा व्यञ्जनकारले भनेका छन्– ‘उनीसँग मेरो लामो चिनजान त छैन । चार महिनाजति अगाडि चुनाव लड्छु भन्ने जोस लिएर मकहाँ आएका थिए । मैले राजनीति गर्नुअघि काठमाण्डुलाई बुझ्नुपर्छ भनेर पठाएँ ।’ (बीबीसी २७ मई २०२२)
बालेन नरसिंह व्यञ्जनकारलाई आफ्नो राजनीतिक गुरू मान्छन् ।

त्यो बेला बालेन काठमाडौँको मेयरको उम्मेदवारी घोषणा गर्नुअघि नरसिंह व्यञ्जनकारसँग आशिर्वाद थाप्न गए जस्तो देखिन्छ ।
बरु पृष्ठभूमिमा बालेनले नरसिंहका छोरा कुमार बेनसँग लामो सङ्गत गरिसकेको देखिन्छ, जो वास्तवमा बालेनका राजनीतिक रणनीतिकार थिए । सोसल मिडियाको स्ट्रेन्थ बुझ्ने आर्किटेक्ट थिए र आफ्ना बाबुको स्वतन्त्र राजनीतिलाई वडामा मात्रै होइन, काठमाडौँजस्तो महानगरमा फैलाउन सकिन्छ भन्नेमा विश्वस्त थिए ।
कुमार पर्दाभित्र रहेर काम गर्छन् । सार्वजनिक मञ्चमा त देखै पर्दैनन् । उनी सामान्य जीवनशैली अपनाउँछन् । क्याजुअल ड्रेसअपमा पैदल यात्रा गर्छन् । मिडियाबाट टाढै बस्छन् । र, मिडियासँग अन्तर्क्रिया गर्न पनि रुचाउँदैनन् ।
बालेनलाई प्रधानमन्त्रीसम्मको यात्रा तय गराउनुअघि कुमारलाई सार्वजनिक रूपमा चिन्ने मानिसहरू एकदमै कम थिए । अहिले पनि तुलनात्मक रूपमा कमै छन् ।
हामीले यो स्टोरीका लागि बालेनसँग उनको सहयात्रा कसरी सुरु भयो ? चिनचान कसरी भयो ? किन आफैँ अगाडि नसरेर उनले बालेनलाई अगाडि सारे ? सामाजिक सञ्जालमा बालेनलाई हिरो बनाउन उनले कसरी भूमिका निर्वाह गरे ? लगायतका धेरै जानकारीका लागि उनीबाटै थाहा पाउने उत्सुकताका साथ समयको आग्रह गरेका थियौँ । तर, उनी मिडियामा आउनै चाहेनन् । कुनै पनि कुरा सेयर गर्न मानेनन् । यी रणनीतिकारले हामीलाई मिठो बोलेरै टारिदिए ।
त्यसैले कुमार र बालेनबिचका यी अन्तरङ्ग विषयहरू यति लामो स्टोरीमा पनि पस्किन सकेका छैनौँ ।
लिटिल एन्जेल्स स्कुल हात्तीवनका विद्यार्थी कुमार नेपालमा डिजिटल मुभमेन्ट सुरु गर्ने अग्रज हुन् । यिनी सामाजिक सञ्जालका किरा हुन् । नेपालमा सम्भवतः थोरै मानिसलाई मात्रै सामाजिक सञ्जालका बारेमा थाहा हुँदा उनले यसको भविष्यका बारेमा सपना देखिसकेका थिए ।
सन् २०११/२०१२ तिर कुमार र उनका साथीहरू सोसल मिडिया पेज बनाएर त्यसमार्फत् अपडेट सुरू गरेका थिए ।
डिजिटल मिडिया र आइटीमा रूचि भएका साथीभाइलाई जम्मा गरेर कुमारको अगुवाईमा छुट्टाछुट्टै चार वटा पेज बनाएका थिए ।
Troll Nepal,
Meme Nepal,
Routine of Nepal Banda,
Nepali adult jokes
ट्रोल नेपाल कुमार आफैँले हयाण्डिल गर्थे, जसमा सामाजिक विकृति एवं राजनीतिलाई उडाएर पोष्ट गर्ने गरिन्थ्यो । मिम नेपाल मनोज सापकोटा, रुटिन अफ नेपाल बन्द भिक्टर पौडेल र नेपाली एडल्ट जोक्स संजिवले चलाउँथे । नेपाली एडल्ट जोक्स अहिले Naaj entertainment का रूपमा चलाइन्छ ।
ट्रोल नेपालमार्फत् कुमारले समकालीन कांग्रेस–एमालेका नेताहरूलाई धेरै उडाए । विकृति, विसङ्गति, राजनीतिक गलत निर्णयका विरुद्ध यो पेज लोकप्रिय हुँदै जादा कांग्रेस–एमालेले थ्रेट नै फिल गर्न थाले । कैयौँ पटक हजारौँ हजार फलोअर्स पुगेको पेज बन्द गर्नुपर्यो । सामाजिक सञ्जाल सम्बन्धी कानुन थिएन । चेतना पनि थिएन । यसलाई सिधै गैरकानुनी हर्कत मानिने अवस्था थियो । गिरफ्तारी हुनबाट र महिनौँ हिरासतबाट जोगिन कुमारहरूले कैयौँ पटक ट्रोल नेपाललाई सट डाउन गरेका थिए ।

त्यो बेला नेपाल बन्द हुनु सामान्य कुरा थियो । नेपाल बन्दलाई अभिलेख गर्न भिक्टरका नाममा सुरु गरिएको ‘रुटिन अफ नेपाल बन्द’ अहिले नेपाली मिडियाको अग्रणी पेजका रूपमा स्थापित छ । चारवटै पेज अहिले उत्तिकै सक्रिय छन् । र, बालेनलाई काठमाडौँको मेयर बनाउन, जेनजी आन्दोलनको सूचना प्रवाह गर्नेदेखि बालेनलाई देशकै प्रधानमन्त्री बनाउन यी पेजहरूले जरादेखि नै काम गर्दै आइरहेका छन् । यीमध्ये सबैभन्दा प्रभावकारी भूमिका ‘रुटिन अफ नेपाल बन्द’को छ । हिजो बालेन मेयर बन्दा होस् वा अहिले प्रधानमन्त्री, उनको कार्यकक्षमा भेटिने मुख्य व्यक्तिहरू यिनै पेजहरूका मालिक हुन् । अहिले कुमार बालेनको मुख्य सल्लाहकार छन् भने ‘रुटिन अफ नेपाल बन्द’का विवेक मिश्र आईटी सल्लाहकार । भिक्टर पौडेल बालेनका सदावहार सल्लाहकार/दोस्त हुन् ।
अहिले नेपालमा विकास भएका न्यू मिडियाको केन्द्रमा कुमार छन् । फेसबुक, एक्स, युट्युब, टिकटकको प्रभावकारी उपयोगका मामिला हुन् वा आन्तरिक रूपमा हजारौँ हजार मेम्बर रहेका एमआरआर (केटाहरूको सञ्जाल), डब्लूआरआर (केटीहरूको सञ्जाल), दाह्री ग्याङ जस्ता सञ्जालहरू । यो सञ्जालमा जोडिएका सबै युवा नै हुन्, जसले आज ट्राडिसनल मिडिया होइन, न्यू मिडियाको भर पर्छन् । युवाहरूले आ–आफ्नै ढंगले छुट्टाछुट्टै मिडिया चलाउँछन् तर उनीहरूले आशिर्वाद थाप्न आउने साझा तीर्थस्थल भने ज्वागल नै हो ।
कुमार सोसल मिडियाको ‘गड फादर’ को भूमिकामा रहेका मानिन्छन् ।
ख्याल गर्नु भएको छ ? बालेनले मेनस्ट्रिम मिडियाहरूलाई बाल दिँदैनन् । उनलाई थाहा छ, उनका कोर समर्थकहरू न्यू मिडियामा छन् र जसमा उनको एकलौटीजस्तै पकड छ, जसले कुमारलाई गुरू मान्छन् ।
बालेन मेयर बनेको समयमा विपक्षीहरूले अक्सर एउटा आरोप लगाइरहे– उनी दुई/चार जना साथी लिएर ढोका थुनेर बस्छन् । उनी खास काम र उद्देश्य बाहेक सार्वजनिक गतिविधिमा सक्रिय हुनुभन्दा आफ्नै कार्यकक्षमै साथीहरूसँग बस्न रुचाएको साँचो पनि हो । ती साथीहरूमा मुख्य हुन् कुमार बेन, सुनिल लम्साल, भिक्टर पौडेल र भूपदेव शाह । उनीहरू आफ्ना योजनामै केन्द्रित रहे । के गर्ने, के नगर्ने भनेर निर्णय लिए । र, जब कार्यान्वयन गर्न बाहिर निस्किए– यिनीहरूलाई कसैले रोक्न सकेन । यिनीहरूको डोजर चलेरै छाड्यो ।
यो टिमले चाहेर पूरा गर्न नसकेको मुख्य काम काठमाडौँको सुकुमबासी बस्ती हटाउने हो । जसलाई असफल बनाउन तत्कालीन प्रधानमन्त्री केपी ओलीको मुख्य भूमिका रह्यो । मेयरको कार्यकक्षको शान्त वातावरण होस् वा मध्यरातमा रेष्टुरेन्टबाट जारी हुने सोसल मिडिया स्टाटस, कुमारले अनुमोदन नगरेसम्म सायदै कहिल्यै जारी भएका छन् ।
यी साथीमध्ये कुमार मुख्य सल्लाहकार, सुनिल भौतिक योजनामन्त्री, भिक्टर चुनाव लड्न नचाहेकाले अनौपचारिक सल्लाहकारका रूपमा छन् । टिममा रहेकामध्ये भूपदेव शाहले अछाम–२ बाट निर्वाचन हारेका छन् । तर पनि उनी बालेनका मुख्य सहयोगी हुन् ।
बालेन आफ्ना दुई मुख्य सल्लाहकार कुमार र सुनिललाई लिएर कान्स फिल्म फेस्टिबलमा सहभागी बने, मई १३, २०२४ मा । मेयरले परिचालन गर्ने अर्बौं रुपैयाँ बजेटमा भ्रष्टाचारको कुनै गन्ध भेटाउन नसकेका केपी ओलीले बालेन सल्लाहकारसहित सहभागी बनेको यही फेस्टिबललाई नै सरकारी रकम दुरुपयोगको केस बनाउन खोजे । दुई जना सल्लाहकारहरूको खर्च करिब २० लाख गर्नु अख्तियारको दुरुपयोग हो भन्ने न्यारेशन तयार गर्दै ओलीले अख्तियारलाई समेत सक्रिय बनाए । यो केसमा ओलीले बालेन, कुमार र सुनिललाई गलाउन खोजेका थिए । तर, ओलीले सफलता पाउन सकेनन् ।
यो टिमसँग मिल्न नसक्दा पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल उनीहरूबाट टाढिनु परेको छ । मेयर बालेनका कानुनी सल्लाहकार रहेकै समयमा अलि फरक स्वभावका अर्यालले बालेनको यो टिमको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । जेनजी आन्दोलनपछि सुशीला कार्कीको प्रमुख विश्वासपात्रका रूपमा गृहमन्त्री बने पनि यो टिमले अर्याललाई साथ दिएन । अर्याललाई गृहमन्त्रीबाट हटाउन उनीहरूले प्रधानमन्त्रीलाई दबाब नै दिएका थिए, तर सुशीला कार्कीका ‘पुत्रहरू’ले आमाको बचन राखिदिएकै कारण उनी चुनावी सरकारका गृहमन्त्रीका रूपमा कार्यकाल पूरा गर्न पाएका हुन् । सुशीला कार्कीले प्रधानमन्त्रीको पद छाड्दै गर्दा आफ्ना विश्वासपात्रलाई राष्ट्रिय सभामा सिफारिस गरेकी छन् । तर, यो टिमले साथ नदिँदा उनको सिफारिस अलपत्र परिरहेको छ ।
प्रमुख सल्लाहकारका रुपमा कुमारले भोलि आफूलाई के कस्तो प्रमाणित गर्लान्, भविष्यको गर्भमा नै छ । आजसम्मको बालेनको राजनीतिक छलांगमा कुमार ‘पार्थसारथि’ नै साबित भएका छन् भन्दा अत्युक्ति हुँदैन ।
कुमार फुटबलमा गहिरो चासो राख्छन् । नेपाल सुपर लिगमा कुमारले बुटवल लुम्बिनी फुटवल टिमको स्वामित्व लिएका थिए ।
कुमार सिनेमा उद्योगका पनि नजिकका मित्र हुन् । सिनेमाको डिजिटल मार्केटिङ गर्ने अध्याय उनैले सुरु गराएका हुन् । र, उनी सिनेमा निर्माता समेत हुन् । चुनावको सरगर्मी बढिरहँदा कुमारले निर्माण गरेको सिनेमा हलहरूमा प्रदर्शित थियो– झरीपछिको इन्द्रेणी, जसलाई हेर्न रवि–बालेन पनि हलमा पुगेका थिए । भ्रष्टाचार विरुद्धको कथामा बनाइएको यो सिनेमा खास चलेन, तर कुमारको राजनीतिक यात्रामा भने झरीपछि सप्तरङ्गी इन्द्रेणी लागिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण