महामन्त्री धवलशमशेरलाई प्रवक्ता श्रेष्ठको जवाफ: 'अहिले नसकिएको राप्रपा कहिल्यै सकिँदैन'
सारांश
- राप्रपाका महामन्त्री धवलशमशेर राणाले दिएको महाधिवेशनसम्बन्धी अभिव्यक्तिप्रति प्रवक्ता मोहन श्रेष्ठले आपत्ति जनाएका छन्।
- प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक मामिला र अध्यक्ष राजेन्द्र लिङ्देनमाथि लगाइएको आरोप निराधार भएको दाबी गरेका छन्।
- अध्यक्ष लिङ्देनले समयमै महाधिवेशन गर्न प्रक्रिया अघि बढाइसकेको र पार्टी कहिल्यै समाप्त नहुने प्रवक्ता श्रेष्ठले बताएका छन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले आगामी जेठमा महाधिवेशन नभए पार्टी समाप्त हुने भनी दिएको अभिव्यक्तिप्रति प्रवक्ता मोहन श्रेष्ठले प्रतिवाद गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक जीवन र अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीबारे भ्रम फैलाउने काम जिम्मेवार नेताबाटै भएको भन्दै प्रतिवाद गरेका हुन् ।
रातोपाटीमा प्रकाशित महामन्त्री राणाको अन्तर्वार्ताको सन्दर्भ जोड्दै श्रेष्ठले लेखेका छन्, 'जेठमा महाधिवेशन नभए राप्रपा समाप्त हुने खालका अभिव्यक्ति जिम्मेवार व्यक्तिहरूबाट सार्वजनिक हुनु दुःखद छ । सर्वत्र असहयोगका बाबजुद अहिले नसकिएको राप्रपा कहिल्यै सकिँदैन, समाप्त हुँदैन ।'
अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशन टारिरहेको भन्ने आरोपलाई प्रवक्ता श्रेष्ठले 'गलत भाष्य' को संज्ञा दिएका छन् । अध्यक्ष लिङ्देन समयमै महाधिवेशन गर्नका लागि प्रक्रियामा धेरै अघि नै प्रवेश गरिसकेको उनको दाबी छ ।
'महाधिवेशनका लागि न्यूनतम सर्त भनेको जिल्ला अधिवेशनहरू सम्पन्न हुनु हो । अध्यक्षको गृहजिल्ला झापाको अधिवेशन धेरैअघि सकिइसकेको छ,' श्रेष्ठले भनेका छन्, 'बरु महाधिवेशनको चर्का कुरा गर्ने साथीहरूको जिल्लामा अझै अधिवेशन हुन सकेको छैन ।' पार्टीले स्थानीय तहदेखि जिल्ला तहसम्मको अधिवेशनका लागि दुई पटक म्याद थप गरिसकेको र हालसम्म दुई दर्जन बढी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको उनले जानकारी दिए ।
पार्टीभित्र बसेर नेतृत्वको आलोचना गर्ने तर निर्वाचनमा असहयोग गर्नेहरूमाथि पनि श्रेष्ठले कटाक्ष गरेका छन् । 'उम्मेदवार नबन्ने, पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने, पार्टी राष्ट्रिय पार्टी बन्छ कि भनेर चिन्ता गर्ने र भोट हाल्न समेत नजानेहरूले पार्टीमा नैतिकताको खोजी गरिरहेको देख्दा उदेक लाग्छ,' उनले लेखेका छन् ।
अध्यक्ष लिङ्देनले एकलौटी निर्णय गरेको भन्ने आरोपको बचाउ गर्दै श्रेष्ठले विगत चार वर्षमा कुनै पनि विषयमा 'नोट अफ डिसेन्ट' (फरक मत) नलेखिएको स्पष्ट पारेका छन् । विशेष परिस्थितिमा लिइएका तत्कालका निर्णयहरू पनि कार्यसम्पादन समितिको बैठकबाट अनुमोदन गराउने गरिएको उनको भनाइ छ ।
प्रवक्ता श्रेष्ठले महाधिवेशनको आवश्यकता असन्तुष्ट पक्षलाई भन्दा बढी अध्यक्ष लिङ्देनलाई भएको समेत जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरमा १२औँ तह (अतिरिक्त सचिव) को पुल दरबन्दी, तर कोहि जाँदैनन्
-
मेस्सी र यमालको अनौठो संयोग
-
जब आँखै अगाडि ११ जनकलाकारको हत्या भयो
-
बन्दको घोषणापछि स्ट्रेट अफ होर्मुजमा जहाज आवागमनमा कमी
-
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण