सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

चौध वर्षपछि पलेँटीमा पुनः पवन गोले

आइतबार, ०६ वैशाख २०८३, ११ : ३२
आइतबार, ०६ वैशाख २०८३

सारांश

  • दार्जिलिङका प्रसिद्ध गायक पवन गोले १४ वर्षपछि पुनः नेपालयको पलेँटी मञ्चमा प्रस्तुत हुँदै छन्।
  • कार्यक्रममा गायक गोले आफ्नो पुराना र नयाँ गीतहरूका साथै संगीतकार रमेश गुरुङको धुनमा सजिएका गीतहरू प्रस्तुत गर्नेछन्।
  • नेपाली आधुनिक सङ्गीतलाई प्राथमिकता दिने पलेँटी कार्यक्रम २१ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।

काठमाडौँ । अंग्रेजी महिनाको अन्तिम शुक्रवार र शनिवार नेपालयको ’आर’सालामा आयोजना हुँदै आएको पलेंटीमा यसपालि दार्जिलिङका प्रसिद्ध गायक पवन गोले प्रस्तुत हुने भएका छन् । पवनले आजभन्दा १४ वर्ष पहिले पनि पलेँटीमा आफ्नो गायन प्रस्तुत गरेका थिए ।

पवनले यसपालिको पलेँटीमा आफ्ना पुराना गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन् । नयाँ गीतहरूमा सङ्गीतकार रमेश गुरुङद्वारा धुन भरिएका गीतहरू समेटिएका छन् । जसका निम्ति हार्मोनियम समातेर रमेश गुरुङ र माइक समातेर पवन गोले अभ्यासमा जुटिरहेका देखिन्छन् । पलेँटीका कलाकारहरूले उनीहरूलाई साथ दिइरहेका छन् ।

पलेँटी कार्यक्रम नेपाली आधुनिक सङ्गीतलाई प्राथमिकता दिँदै सुरु भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको हो । पवन गोले नेपाली साङ्गीतिक जगतका नेपालीभाषी श्रोताबिच परिचित नाम हो । खासगरी ‘हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ’ पवन गोलेको स्वरमा सर्वाधिक लोकप्रिय गीत हो । उनी दार्जिलिङको साङ्गीतिक जगतमा लामो समयदेखि क्रियाशील कलाकार हुन् ।

दार्जिलिङमा उहिले ‘सङ्ग एण्ट ड्रामा युनिट’ नामको संस्था हुने गर्थ्यो । उतिबेला पश्चिम बंगाल सरकारको मातहतको त्यो संस्था पछि गएर जिटिए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन) अन्तरगत समायोजन भयो । जसको नाम ‘इन्फरमेसन एण्ड कल्चर डिपार्टमेन्ट’ रह्यो । पवन गोलेले त्यही संस्थामा कलाकारको रुपमा सेवारत रहेर सन् २०२१ मा अवकास प्राप्त गरे । तर सङ्गीतको मोहबाट उनी अहिले पनि अवकास लिन रुचाउँदैनन् । त्यसैले गायनमा क्रियाशील रहिरहेका छन् ।

सङ्गीतकार सुवर्ण लिम्बूको धुनमा सजिएको गीत ‘हावासँग बगूँ भन्छ’ गीतबाट नेपाली सङ्गीत जगतमा चिनिएका पवनले अनगिन्ती गीत गाएका छन् तर उनको गायन, आम नेपाली श्रोतामाझ मनग्य हुनेगर प्रस्तुत भएका छैनन् । त्यही यथार्थलाई अनुभूत गरेर पलेँटीले यसपालि उनलाई दोहोर्‍याएर काठमाडौँ निम्त्याएको हो ।

पवनले यसपालि सुवर्ण लिम्बूको नयाँ धुनका साथै पारस गजमेर, बसन्त छेत्री, प्रदीप छेत्री र रमेश गुरुङले सङ्गीत भरेका गीतहरू प्रस्तुत गर्नेछन् । पवनको पलेँटीमा समेटिएका गीतकारमा शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन प्यासी, पुरन गिरि, सुरेन थिङ, संजय बान्तवा, संजय बिष्ट, कालूसिंह रनपहेली, प्रमोद स्नेही र अरुण तिवारी रहेका छन् ।  

पवन गोले सन् २०१२ मा पनि पलेँटी कसिसकेका गायक हुन् । उतिबेला उनले विभिन्न सङ्गीतकारका धुनहरूमा सजिएका गीत सुनाएका थिए । यसपालिको पलेँटीमा आधा पुराना र आधा नयाँ सङ्गीतहरू समेटेका छन् । नयाँ धुनहरूमा सङ्गीतकार रमेश गुरुङको साथ रहनेछ ।

पहिलो पल्ट सन् २०१२ मा पलेँटी कसेको सम्झना गर्दै पवन गोले भन्छन्  ’यसभन्दा पहिले पलेँटीमा आउँदाको सुन्दर अनुभूति मनबाट नमेटिँदै फेरि पनि यो मञ्चमा आएको छु । झन् यसपालि साथमा सङ्गीतकार रमेश गुरुङ भाइ छन् । आशा छ मेरो सृजनाकर्ममा नयाँ पुराना दर्शक, श्रोताको मनग्य माया पाउनेछु ।’

खुल्ला हाँसोमा देखिन्छन् उनी । छेउमा हार्मोनियम खेलाइरहेका सङ्गीतकार रमेश गुरुङको पनि पलेँटीमा यो दोस्रो सहभागिता हो । उनी भन्दै भन्छन् ‘सन २००६ को पलेँटीमा दावा ग्याल्मो दिदीलाई हार्मोनियममा साथ दिन आएको थिएँ । यसपालि त सङ्गीतकारको भूमिका निभाउन पाएको छु । त्यो पनि अग्रज पवन दाजुसँग । साह्रै खुसी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप