बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय बजारमा किन घट्यो सुनको मूल्य ?

सोमबार, ०७ वैशाख २०८३, १० : ५८
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • अन्तर्राष्ट्रिय बजारमा डलर सूचक बलियो हुनु र अमेरिका-इरानबीचको तनावका कारण सुनको मूल्यमा गिरावट आएको छ।
  • अमेरिकी १० वर्षे ट्रेजरी बन्डको ब्याजदर बढ्नु र कच्चा तेलको मूल्यमा भएको वृद्धिका कारण सुन बजार प्रभावित भएको हो।
  • अप्रिल १३ यताकै न्यून स्तरमा पुगेको सुनको मूल्यमा भारतको खरिद सिजनमा पनि माग कम देखिएको छ।

न्युयोर्क । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको मूल्य घटेको छ । मुद्रा डालोमा आबद्ध मुद्राहरुको तुलनामा डलर सूचक बलियो हुनु र अमेरिका-इरानबिचकाे बढ्दो तनावका कारण सुन बजारमा दबाब देखिएको विश्लेषण गरिएको छ । 

डलर सूचकाङ्क बलियो हुँदा अन्य मुद्रामा किन्ने लगानीकर्ताका लागि सुन महँगो पर्न जान्छ, जसले माग घटाउँछ । स्टेट अफ होर्मुज फेरि बन्द भएर विश्व बजारमा कच्चा तेलको भाउ उकालो लागेपछि महँगी बढ्ने चिन्ता बल्झिँदा कमाडिटी बजारमा यसको प्रभाव देखिएको हो ।  

न्यु योर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्ड करिब शून्य दशमलव ७ प्रतिशतले घटेर प्रतिऔंस ४ हजार ७९३ डलर ९८ सेन्टमा पुगेको छ, जुन अप्रिल १३ यताकै सबैभन्दा न्यून हो । उता, अमेरिकी फ्युचर्स बजारमा जुन डेलिभरीको सुनको मूल्य १ दशमलव ४ प्रतिशतले घटेको छ ।

साथै, अमेरिकी १० वर्षे ट्रेजरी बन्डको ब्याजदर पनि बढेको छ । यसले पनि ब्याज नदिने सुन जस्ता सम्पत्ति प्रति आकर्षण घटाउँछ । अमेरिका–इरान बिचको युद्धविराम पछि आज सुनको घटेको टेस्टि लाइभका ग्लोबल म्याक्रो प्रमुख इल्या स्पिभाकले बताएका छन् । 

पछिल्लो समय बजारले आशा गरेको युद्धविराम कमजोर बन्दै जाँदा व्यापार युद्ध पुनः सक्रिय भएको र यसको असरले कच्चा तेलको मूल्य बढाएर मुद्रास्फीति सम्बन्धी चिन्ता फेरि बढाएको बताइएको छ । यसैबिच स्ट्रेट अफ होर्मुज पुनः बन्द भएपछि तेलको मूल्य उकालो लागेको छ ।

यो मार्ग बन्द हुँदा विश्वव्यापी आपूर्ति प्रभावित हुने भएकाले बजारमा अस्थिरता बढेको हो । अमेरिकी नौसेनाले इरानी कार्गो जहाज कब्जा गरेपछि तनाव अझ बढेको छ । इरानले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ र दोस्रो चरणको वार्तामा सहभागी नहुने सङ्केत गरेको छ ।

फेब्रुअरी अन्त्यदेखि अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेयता सुनको मूल्य करिब ८ प्रतिशतले घटिसकेको छ । उच्च ऊर्जा मूल्यले मुद्रास्फीति बढाउने र ब्याजदर लामो समय उच्च रहने अनुमानले सुनमा दबाब परेको हो । 

यसैबिच,भारतमा प्रमुख खरिद सिजन (चाडपर्व) को समयमा पनि उच्च मूल्यका कारण सुनका गहनाको माग कमजोर देखिएको छ । यद्यपि लगानीका लागि केही माग भने बढेको छ । सोमबारको कारोबारमा अन्य धातुहरूको भाउमा पनि कमी देखिएको छ । 

चाँदी करिब शून्य दशमलव ९ प्रतिशतले घटेको छ भने प्लाटिनम र प्यालेडियममा पनि सामान्य उतारचढाव देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप