सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सरकारले सुनेन भने आवाज कसरी ठूलो बनाउने हामीलाई थाहा छ : गगन थापा

बुधबार, ०९ वैशाख २०८३, १२ : ४३
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले नागरिकका माग बेवास्ता गरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।
  • उनले भदौ २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र सरकारले विधि-विधान मिच्न नहुनेमा जोड दिएका छन्।
  • थापाले कांग्रेसले संसदमा तथ्यका आधारमा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको स्पष्ट पारेका छन्।

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले नागरिकका मागहरूलाई बेवास्ता गरे सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगाए ।

सभापति थापाले भदौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे । ‘हामीले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेका छौँ,’ थापाले भने, ‘सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठुलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’

सरकारलाई सचेत गराउँदै उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्ने उनको भनाइ थियो । ‘पछिल्लो समय सरकारले आफ्ना मनमा लागेका कुरा गर्न विधि र विधान मिच्ने काम गरेको छ, यस्ता विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौँ,’ उनले थपे ।

कांग्रेसको भूमिकाबारे प्रस्ट पार्दै थापाले भने, ‘हामी सङ्घीय संसदमा प्रतिपक्षमा छौँ तर सातै प्रदेशमा सरकारमा छौँ । केन्द्रीय कार्यसमितिको बैठकबाटै हामीले निर्णय गरेका छौँ कि सरकारका राम्रा काममा हाम्रो समर्थन रहन्छ ।’  उनले थपे, ‘प्रतिपक्षी भएर कुरा उठाउँदा हामी तथ्यमा आधारित भएर उठाउँछौँ । जनहितका विषयमा सरकार चुक्दा कांग्रेस दरो भएर उभिन्छ ।’

  कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निभाउन नसकेको हो भन्ने प्रश्नमा उनले तथ्यका आधारमा आवाज उठाउने उनले बताए । ‘हामी अराजक वा चर्को छैनौँ, त्यसैले कतिपयलाई हाम्रो आवाज कम सुनिएको जस्तो लाग्न सक्छ । तर हामी जिम्मेवार छौँ र जहाँ जुन विषय उठाउनुपर्ने हो, त्यहाँ उठाइरहेका छौँ ।’

गृहमन्त्री सुधन गुरुङको विषयमा भने  थापाले पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै धेरै टिप्पणी गर्न चाहेनन् । उनले भने, ‘गृहमन्त्रीको विषयमा पार्टीले जे भन्नुपर्ने हो, भनिसकेको छ ।’ यस्तै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरे । उनले १५ महाधिवेशनमा सबै सँगै जाने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप