सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कीर्तिमानी इनिङ्ससँगै ओरेन्ज क्यापको दौडमा अभिषेक शीर्ष स्थानमा

बुधबार, ०९ वैशाख २०८३, १२ : ४९
बुधबार, ०९ वैशाख २०८३

सारांश

  • सनराइजर्स हैदराबादले आईपीएल २०२६ को खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
  • अभिषेक शर्माले १३५ रनको कीर्तिमानी इनिङ्स खेल्दै ओरेन्ज क्यापको दौडमा शीर्ष स्थान हासिल गरेका छन्।
  • इसान मलिङ्गाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएर पर्पल क्यापको दौडमा दोस्रो स्थानमा पर्न सफल भएका छन्।

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को मङ्गलबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ।

अभिषेक शर्माको विस्फोटक ब्याटिङ र इसान मलिङ्गाको कसिलो बलिङको मद्दतले हैदराबादले दिल्लीलाई स्तब्ध पारेको हो। यो जितसँगै हैदराबाद अङ्क तालिकाको संयुक्त दोस्रो स्थानमा उक्लिएको छ ।

यस खेलपछि ओरेन्ज र पर्पल क्यापको दौडमा समेत ठुलो फेरबदल आएको छ। ब्याटिङतर्फ अभिषेक शर्माले आफ्नो टी– २० करियरमै पहिलो पटक पूरा २० ओभर क्रिजमा बिताउँदै कीर्तिमानी इनिङ्स खेले। उनले मात्र ६८ बलमा १३५ रन बनाउँदै आईपीएल इतिहासकै पाँचौँ ठुलो व्यक्तिगत स्कोर खडा गरे।

यो उनको जारी सिजनको पहिलो र समग्र आईपीएल २०२६ को चौथो शतक हो। अभिषेकले भारतीय ब्याटरका रूपमा विराट कोहलीको रेकर्डसँग बराबरी गर्दै आफ्नो नवौँ टी–२० शतक पूरा गरेका छन्। उनको यो उत्कृष्ट प्रदर्शनले उनलाई सिजनको सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा शीर्ष स्थानमा पुर्‍याएको छ। अभिषेकले सात इनिङ्समा २१५.३३ को स्ट्राइक रेटमा ३२३ रन जोडिसकेका छन्।

हैदराबादका लागि हेनरिक क्लासेनले पनि अन्तिम समयमा विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ३७ रनको योगदान दिए। उनी ओरेन्ज क्यापको दौडमा अभिषेक भन्दा मात्र ३ रनले पछि रहँदै दोस्रो स्थानमा छन्।

सर्वाधिक रन बनाउनेको सूचीमा गुजरात टाइटन्सका कप्तान शुभमन गिल तेस्रो, विराट कोहली चौथो र वैभव सूर्यवंशी पाँचौँ स्थानमा रहेका छन्। टप १० भित्र इशान किशन, रजत पाटीदार, कपूर कोनोली, यशस्वी जैसवाल र प्रियान्श आर्य जस्ता खेलाडीहरू अटाएका छन्।

बलिङतर्फ हैदराबादका इसान मलिङ्गाले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिँदै दिल्लीको ब्याटिङ लाइन अपलाई ध्वस्त बनाए। यो उनको टी– २० करियरको तेस्रो ४–विकेट हल हो। यस प्रदर्शनसँगै मलिङ्गा १२ विकेटसहित पर्पल क्यापको दौडमा दोस्रो स्थानमा पुगेका छन्। गुजरातका प्रसिद्ध कृष्णाको पनि समान १२ विकेट नै रहेको छ।

यद्यपि, चेन्नई सुपर किंग्सका अंशुल कम्बोज १३ विकेटका साथ अझै पनि पर्पल क्यापको हकदार बनिरहेका छन्। विकेट लिनेको सूचीमा प्रिन्स यादव, भुवनेश्वर कुमार, कागिसो रबाडा र रवि बिश्नोई क्रमशः त्यसपछिका स्थानमा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप