अमेरिका आएपछि चीनको पनि बढ्यो चासो
सारांश
- अमेरिकी सहायक विदेश मन्त्री एस पाउल कपुरको नेपाल भ्रमणप्रति चीनले गम्भीर चासो व्यक्त गरेको छ।
- नेपाल भ्रमणमा आएकी चिनियाँ अधिकारी काओ झिंगले तिब्बती शरणार्थी र दलाई लामाका प्रतिनिधिका गतिविधिबारे असन्तुष्टि जनाएकी छन्।
- जेठ १३ मा हुने केन्द्रीय तिब्बती प्रशासनका अध्यक्षको शपथ ग्रहण समारोहमा नेपालको सहभागितालाई लिएर चीन चिन्तित देखिएको छ।
काठमाडौँ । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री एस पाउल कपुरको नेपाल भ्रमणप्रति भारतसँगै चीनले पनि चासो व्यक्त गरेको छ ।
सोमबार नेपाल भ्रमणमा आएका कपुर हिजो बुधबार फर्किसकेका छन् भने चिनियाँ विदेश मन्त्रालयका एसियाली मामिला विभागकी उपनिर्देशक काओ झिंग पनि नेपाल आएर उच्चस्तरीय भेटघाट गरी स्वदेश फर्किसकेकी छन् ।
सहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेकै दिन काओ पनि परराष्ट्र मन्त्रालय पुगेकी स्रोत बताउँछन् । उनले मन्त्रालयमा सचिव अमृतबहादुर राईलाई भेटेर कपुरको भ्रमणबारे चासो राखेकी थिइन् ।
कपुरले भने सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका साथै अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री खनाललाई छुट्टाछुट्टै भेट गरेका थिए । उक्त भेटका क्रममा कपुरले तिब्बती शरणार्थीको विषय उठाएका थिए ।
कपुरले तिब्बती शरणार्थीको सुरक्षा र व्यवस्थाको बारेमा चासो राख्दा त्यसमा काओ झिंगले आपत्ति जनाएको परराष्ट्र मन्त्रालय स्रोत बताउँछ । नेपालमा तिब्बती शरणार्थीहरूको स्थिति र १४औँ दलाई लामाका प्रतिनिधिहरूको हालैका भ्रमणहरूलाई लिएर झिंगले चासो देखाएको मन्त्रालय स्रोतले जनाएको छ ।
साथै जेठ १३ अर्थात् मे २७ मा केन्द्रीय तिब्बती प्रशासनका अध्यक्षमा पेन्पा छिरिङको शपथ ग्रहण समारोहमा नेपाल सहभागी हुने विषयलाई पनि चीनले चासोका साथ हेरेको छ ।
यसैबिच उपनिर्देशक काओले नेकपा एमाले र नेकपाका केही नेताहरूसँग पनि भेट गरेकी स्रोतहरू दाबी गर्छन्, यद्यपि त्यसको आधिकारिक पुष्टि हुनै बाँकी छ ।
एसियाली मामिला विभागले चीनको विदेश नीति र सिद्धान्तहरूलाई कार्यान्वयन गर्ने काम गर्छ । यसले सम्बन्धित देश र क्षेत्रहरूबारे अध्ययन गर्ने चीनको द्विपक्षीय सम्बन्धबारे प्रतिवेदन तयार पार्ने र सोहीअनुसार काम गर्छ ।
विभागले सम्बन्धित देश र क्षेत्रहरूसँग कूटनीतिक मामिलाहरू सम्हाल्ने तथा आवश्यकता अनुसार प्रतिनिधित्व पठाउने काम पनि गर्दै आएको छ । र चीनका विदेशी कूटनीतिक नियोगहरूलाई उनीहरूको सम्बन्धित कार्यमा मार्गदर्शन गर्ने काम पनि यसले गर्दछ । साथै यो विभागले महत्त्वपूर्ण कूटनीतिक कार्यहरू गर्नुका साथै विभिन्न कागजात र उपकरणको सम्बन्धित भाषाहरूलाई अनुवाद र व्याख्या गर्ने काम पनि गर्छ ।
सो विभागमा लिउ जिन्सङ निर्देशक छन् भने काओसहित चार जना उपनिर्देशक छन् ।
यसअघि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चैत ३० गते तत्कालीन गृहमन्त्री सुधन गुरुङसँग भेटेका थिए, उनले त्यस भेटमा पनि नेपालमा बढ्दै गएको चिनियाँविरोधी गतिविधिबारे कुरा उठाएका थिए ।
राजदूत चाङले नेपालमा तिब्बती राजनीतिक कार्यक्रमबारे पनि चासो व्यक्त गरेका थिए । विशेषगरी मे २७ (जेठ १३) मा भारतको धर्मशालामा हुने केन्द्रीय तिब्बती प्रशासनका अध्यक्ष छिरिङको सपथ ग्रहण समारोहमा नेपालबाट सहभागी हुने विषयमा चिन्ता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रमका लागि नेपाललाई पनि निम्तो आउन सक्ने भएकाले त्यतिबेला नेपाल सरकारले के गर्ने भनी जिज्ञासा राखेका थिए ।
यसैबिच हालै भएको कपुरले नेपाल भ्रमणका क्रममा भएका विभिन्न भेटघाट तथा अवलोकनहरूमा तिब्बतीहरूको विषय निस्किएपछि त्यसप्रति चीन थप चिन्तित देखिएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण