सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरानमा रहेका अमृत झाको रिहाइ प्रक्रिया अन्तिम चरणमा : परराष्ट्र मन्त्रालय

शुक्रबार, ११ वैशाख २०८३, १७ : ०२
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • इरानमा रहेका अमृत झाको रिहाइ प्रक्रिया अन्तिम चरणमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
  • कम्बोडियामा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा नौ जना नेपाली पक्राउ परेका छन्।
  • थाइल्याण्ड र म्यानमारस्थित नेपाली दूतावासको समन्वयमा छ सय बाह्र जना नेपालीको उद्धार गरिएको छ।

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा बढ्दै गएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितका लागि सरकार संवेदनशील रहेको जनाएको छ। 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस क्षेत्रमा विकसित भइरहेको पछिल्लो घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको र ठूलो संख्यामा रहेका नेपालीको सुरक्षाका लागि निरन्तर पहल भइरहेको बताएका हुन्।

इरानको राजधानी तेहरानमा रहेका १० नेपालीमध्ये दुई जना तत्काल स्वदेश फर्कने तयारीमा रहेको र बाँकी ८ जनाले भने अहिले नै फर्कन अनिच्छा देखाएको मन्त्रालयले स्पष्ट पारेको छ। यसैगरी, द्वन्द्व सुरु हुनुअघि नै इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा संलग्न रहेको पानी जहाजको मुद्दामा स्थानीय अदालतबाट पहिलो चरणको फैसला भइसकेको छ। 

सोही प्रकरणमा पक्राउ परेका अन्य चार जना रिहा भइसकेका छन् भने झासहित बाँकीको रिहाइ प्रक्रिया समेत अगाडि बढिसकेको प्रवक्ता क्षेत्रीले जानकारी दिए। यद्यपि इरानको वर्तमान विषम परिस्थिति र त्यहाँको कानूनी प्रक्रियाका कारण यो विषय पूर्ण रूपमा टुंगिन केही समय लाग्न सक्ने देखिएको छ।

यसैबीच, कम्बोडियामा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ९ जना नेपाली नागरिक पक्राउ परेको मन्त्रालयले पुष्टि गरेको छ। दक्षिणपूर्वी एसियाली मुलुकहरूमा अलपत्र परेका वा समस्यामा परेका नेपालीहरूको उद्धार कार्यलाई पनि सरकारले तीव्रता दिएको छ। 

थाइल्याण्ड र म्यानमारस्थित नेपाली दूतावासको समन्वयमा हालसम्म सो क्षेत्रबाट ६ सय १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप