मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा दोस्रो साहित्य पर्व, साहित्यदेखि प्रविधिसम्म विमर्श

शनिबार, १२ वैशाख २०८३, २२ : ५७
शनिबार, १२ वैशाख २०८३

पोखरा। अलिमियाँको गाउँ पोखरा १३ मा दोस्रो साहित्य पर्व शनिबार विशेष रूपमा मनाइएको छ । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा स्थानीय स्तरमै सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक छलफल गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै लेखक तथा पत्रकार नारायण वाग्लेले पुस्तकालय लेखनको जन्मस्थान र प्रेरणाको स्रोत भएको बताए । ‘जब म पुस्तकहरूको वरिपरि पढ्न थालेँ, तब मलाई युवा कालमै लेखक बन्ने हुटहुटी भयो,’ उनले भने । सिर्जनाका लागि लेखक स्वयं स्वतन्त्र हुनुपर्ने र त्यसका लागि आफ्नै संघर्ष आवश्यक पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा अग्रज कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने बताए । लोककवि अलिमियाँको जन्मथलो मियाँपाटनमा भएको यस्ता कार्यक्रमले साहित्य, कला र सांस्कृतिक विविधता प्रस्तुत गरेको उनले सुनाए ।

कार्यक्रममा विभिन्न विषयमा विमर्श पनि गरिएको छ । अक्षरदेखि अल्गोरिदमसम्मः हाम्रो अबको शिक्षा र बदलिँदो समाजको स्वरूप शीर्षकमा डा. रामचन्द्र बरालले भौतिकशास्त्री डा. कपिल अधिकारी अधिकारीसँग संवाद गरे । अधिकारीले सामाजिक सञ्जालको अल्गोरिदमले मानिसको दैनिकी र आनीबानीलाई जिन्सी सामान जस्तो बनाइदिएको दाबी गरे ।

‘साहित्यमा नारीको प्रतिनिधित्व’ सत्रमा सहजकर्ता हसिना बस्नेतसँग कुरा गर्दै साहित्यकार सरस्वती प्रतीक्षाले गण्डक क्षेत्रले थुप्रै साहित्यिक सम्राट जन्माए पनि साहित्यिक साम्राज्ञी जन्माउन नसकेको बताइन् । महिलालाई आफ्नो पहिचानभन्दा पनि नातागोता र सम्बन्धका आधारमा मात्र चिनिने सामाजिक संरचनाका कारण साम्राज्ञी जन्मिन नसकेका उनको आलोचना छ ।

पत्रकार अनिशा श्रेष्ठले सहजीकरण गरेको उद्यम र उद्यमीसम्बन्धी सत्रमा व्यवसायी नारायण पौडेल र समेश राजभण्डारीले आफ्ना भोगाइ साटे । द्वन्द्वकालमै जापानको सुखद जीवन छाडेर नेपाल फर्किएका पौडेलले धैर्यता र अनुसन्धान भए नेपालमै प्रशस्त सम्भावना रहेको बताए । त्यस्तै, अर्का उद्यमी राजभण्डारीले सरकारले कच्चा पदार्थ उत्पादनमा सही नीति ल्याए हजारौँ युवाले नेपालमै रोजगारी पाउने दाबी गरे ।

पत्रकार अमृत सुवेदीसँग गफिँदै कन्दरा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठले संगीतमा संगतको ठूलो भूमिका हुने बताए । उनले ९० को दशकमा पोखरामा पाश्चात्य बाजा भित्रिँदा पनि आफूहरूले मादल र सारंगीको फ्युजन गरेर नेपालीपन जोगाएको स्मरण गरे ।

‘बितेका पाइला र आउने बाटा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देल र अग्रज पत्रकार पुण्य पौडेलबिच संवाद भएको थियो । पोखरामा विसं २००८ सालमा हिमदूत पत्रिकामार्फत पत्रकारिताको जग बसाल्ने स्व। जगन्नाथ सिग्देलका स्मरण गरिएको थियो । कार्यक्रममा साहित्यकारहरू सरस्वती श्रेष्ठ ‘सरु’, धर्मराज अल्पायु, चन्द्रावती वाग्ले र कुशल गौतम लगायतले आफ्ना रचना वाचन गरेका थिए भने गायिका हरिदेवी कोइरालाले अलिमिया संकलित आकाशमा बादलु डम्मै छ बोलको गीत गाएकी थिइन् । त्यस्तै, जित गुरुङ र कृपा श्रेष्ठले चित्रकला प्रदर्शनी गरेका थिए ।

वडाध्यक्ष किरण बरालले अलिमियाँको सम्मान र स्थानीय कला संस्कृतिको संरक्षणका लागि साहित्य पर्वको सुरुआत गरेको बताए । उनले यसलाई वडाकै ब्राण्डका रूपमा विकास गर्ने र बर्सेनि क्यालेन्डरमै राखेर सञ्चालन गर्दै लैजाने बताए । आगामी दिनमा पर्वलाई थप समयसापेक्ष बनाउँदै लैजाने कार्यक्रम संयोजक राजेन्द्र भण्डारी बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप