पोखराको पर्यटनलाई कार्बन न्यूट्रल बनाउन चिनियाँ संस्थासँग सम्झौता
सारांश
- पोखरा पर्यटन परिषद् र चीनको सान्सी एसोसिएसन फर कार्बन न्यूट्रालिटी टेक्नोलोजी डेभलपमेन्टबीच पोखराको पर्यटनलाई कार्बन न्यूट्रल बनाउन सम्झौता भएको छ ।
- यस सम्झौता अन्तर्गत पोखरामा कार्बन उत्सर्जन कम गर्न, होटल, यातायात प्रणालीलाई वातावरणमैत्री बनाउन, न्यून कार्बन कृषि मोडल विकास गर्न र स्वच्छ ऊर्जा प्रविधि भित्र्याउन सहकार्य गरिनेछ ।
- जलवायु परिवर्तनको चुनौतीसँग जुध्न र पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।
पोखरा । पोखराको दिगो पर्यटनको विकास र जलवायु परिवर्तनको असरसँग जुध्न चिनियाँ संस्थासँग सम्झौता गरिएको छ । पोखरा पर्यटन परिषद् र चीनको सान्सी एसोसिएसन फर कार्बन न्यूट्रालिटी टेक्नोलोजी डेभलपमेन्टबिच कार्बन उत्सर्जन कम गर्न समझदारी भएको हो ।
पोखरामा आयोजित एक विशेष कार्यक्रमकाबिच परिषद्का तर्फबाट अध्यक्ष तारानाथ पहारी र चिनियाँ संस्थाका तर्फबाट प्रतिनिधि वु चाओले सम्झौतापत्रमा हस्ताक्षर गरे । योसँगै अब दुवै संस्था मिलेर पोखरामा कार्बन न्यूट्रालिटी नीति अनुसन्धान, हरित वित्त, कार्बन सम्पत्ति व्यवस्थापन र न्यून कार्बन प्रविधिको प्रवर्द्धनमा काम गर्नेछन् ।
पोखराका होटललाई हरित तथा न्यून कार्बनयुक्त बनाउने, पर्यटकीय गन्तव्य र यातायात प्रणालीलाई वातावरणमैत्री बनाउने सम्झौतामा उल्लेख छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जलवायु परिवर्तनका कारण विश्वभरि नै चुनौती थपिँदै गएकाले त्यसलाई न्यूनीकरण गर्न यो सहकार्य गरिएको बताए ।
‘कार्बन न्यूट्रालिटी र हरित विकासमा चीनले हासिल गरेको परिपक्व अनुभव र प्रविधिलाई पोखराको स्थानीय अवस्थासँग जोड्न यो सम्झौता गरिएको हो,’ उनले भने, ‘वातावरणले निम्त्याएको अप्ठेरोबारे सहकार्य गर्न र न्यून कार्बन प्रविधिमार्फत पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी बनाउन हामीले काम गर्न लागेका हौँ ।’
सम्झौताले पर्यटनसँगै कृषिमा पनि जोड दिएको छ । न्यून कार्बन कृषि मोडलको विकास गर्दै स्थानीय कृषि उत्पादनको हरित प्रमाणीकरण गर्ने र मूल्य अभिवृद्धि गर्ने उनले सुनाए । यसका साथै स्वच्छ ऊर्जा, फोहोर व्यवस्थापन र ऊर्जा–दक्ष भवन निर्माण जस्ता प्रविधिलाई पोखरामा भित्र्याएर नयाँ हरित आर्थिक अवसर सिर्जना गरिनेछ ।
चिनियाँ संस्थाका प्रतिनिधि वु चाओले जलवायु परिवर्तनसँग जुध्न एक्लो प्रयासले मात्र सम्भव नहुने बताए । ‘हामी सबै नागरिक प्रकृतिका साथी हौँ । त्यसैले प्रकृति जोगाउनु हाम्रो साझा दायित्व हो,’ उनले भने, ‘हामीले प्रकृतिलाई अहिलेका लागि मात्र दोहन गरेर हुँदैन । भावी पुस्ताका लागि पनि यसलाई जोगाएर राख्नुपर्छ।’
परिषद्का सल्लाहकार बासु त्रिपाठीले जलवायु परिवर्तन पोखराको मात्र नभई समग्र विश्वकै समस्या बनिसकेको भन्दै यो सहकार्यले पोखरा र आसपासका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जलवायु परिवर्तनको असरबाट बच्न र दिगो पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको सुनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
-
बक्स अफिसमा जेठका ६ फिल्म: साढे ३ करोडको व्यवसाय, सवा लाख दर्शक
-
प्रचण्ड गर्मीमा पङ्खाविहीन कक्षा, विद्यार्थीको पढाइ प्रभावित
-
२–२ गोलको बराबरीमा रोकिए इरान र न्युजिल्यान्ड
-
नेपालगञ्ज भन्सारकाे राजस्व सङ्कलनमा वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण