अर्जुननरसिंह केसीलाई पदमा पुग्न गगन थापाले दोस्रो पटक रोके
सारांश
- कांग्रेस सभापति गगन थापाले आफ्ना ससुरा अर्जुननरसिंह केसीलाई पार्टीको १३ औँ महाधिवेशनमा महामन्त्री र अहिले संसदीय दलको नेता बन्नबाट रोकेका छन् ।
- १३ औँ महाधिवेशनमा केसी र थापा दुवै महामन्त्रीमा पराजित भए भने अहिले थापाले विशेष महाधिवेशन गरी भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत दलको नेता बनाएका छन् ।
- केसीले आफू गगन थापाको कारणले राजनीतिमा नआएको र अनुभव तथा सिनियरिटिका आधारमा दाबी रहे पनि प्रतिस्पर्धा नगर्ने बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्ना ससुरा अर्जुननरसिंह केसीलाई पदमा पुग्नबाट दोस्रो पटक रोकेका छन् । पार्टीको १३ औँ महाधिवेशनमा महामन्त्री बन्नबाट रोकेका थापाले अहिले संसदीय दलको नेता बन्न रोकेका हुन्।
१३ औँ महाधिवेशनमा केसी शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यो बेला थापा पनि महामन्त्रीको उम्मेदवार बने । ससुरा– ज्वाइबिच प्रतिस्पर्धा हुँदा दुवै जना पराजित भएर डा. शशांक कोइराला निर्वाचित भए । त्यो बेला डा.शशांक कोइराला १ हजार ४१७ मत ल्याएर विजयी भए ।
केसीले १ हजार १७ मत पाए र थापाले ५८४ मत पाए । जबकि थापा र केसीको मत जोड्दा डा. शशांकको भन्दा धेरै हुन्थ्यो ।
अहिले केसी प्रतिनिधि सभामा संसदीय दलको नेता बन्न चाहन्थे । तर, ससुरालाई संसदीय दलको नेता बनायो भन्ने अपजस आइलाग्छ भन्दै पार्टी सभापति थापाले आफूले विशेष महाधिवेशन गर्दा आफ्नो पक्षमा नरहेका भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत दलको नेता बनाए ।
केसीले आइतबार रातोपाटीसँग कुरा गर्दै आफ्नो राजनीतिक जीवनलाई गगन थापाको ससुरा भएकाले अगाडि बढायो भन्न नमिल्ने बताएका थिए । ‘नाताले म ससुरा हुँ । तर, म गगन थापाको कारणले राजनीतिमा आएको होइन । उहाँ राजनीतिमा आउँदा मैले राजनीतिमा धेरै संघर्ष गरिसकेको थिए ।’
प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको दुई महिना बित्न लाग्दासमेत कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसकेपछि केसीका कारण सहमति नबनेको कुरा आएको थियो ।
त्यसपछि केसीले प्रष्टीकरण दिँदै आफूले सहमतिमा दलको नेता बनाएमा अनुभव र सिनियारिटीका आधारमा दाबी रहे पनि प्रतिस्पर्धा नगर्ने बताएका थिए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण