मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

धादिङ र नुवाकोट चल्ने यातायात बसपार्कबाटै सञ्चालनः मागेको ठाउँमा काउन्टर

मङ्गलबार, १५ वैशाख २०८३, १९ : २१
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाले व्यवसायीहरूसँगको समन्वयमा एकीकृत बसपार्क सञ्चालनमा देखिएका समस्या समाधान गरेको छ ।
  • सार्वजनिक यातायात बसपार्कभित्रबाट सञ्चालन भएपछि चक्रपथ कोरिडोरमा सवारी पार्किङको समस्या न्यूनीकरण भएको छ र दुर्घटनाको जोखिम समाधान भएको छ ।
  • धादिङ र नुवाकोटतर्फ चल्ने यातायात व्यवसायीहरूले माग गरेअनुसार बसपार्कभित्र टिकट काउन्टरका लागि ठाउँ उपलब्ध गराइनेछ ।

काठमाडौँ । एकीकृत बसपार्क सञ्चालनका लागि व्यवसायीलाई संवाद र समन्वयका माध्यमबाट समस्या समाधान समझदारी गराइएको काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् ।

यसका लागि व्यावसायीसँगै नेपाल प्रहरी, ट्राफिक प्रहरी, वडा कार्यालय र बस पार्क सञ्चालन व्यवस्थापनमा काम गर्ने पक्षसँग चरणवद्ध छलफल गरेर, व्यवसायीहरूलाई सेवा स्थानान्तरण गर्न समय दिएर, व्यावसायीका मर्का र गुनासाको सम्बोधन गरेर लामो समयदेखि अड्किएको एकीकृत बस पार्क सञ्चालन व्यवस्थापनसँग सम्बन्धित  समस्या समाधान गरिएको उनको भनाइ छ ।

‘हाम्रो आग्रह व्यवसायीहरूले स्वीकार गरिदिनुभयो । यस कार्यका लागि महानगर प्रहरी बलले नेपाल प्रहरी, ट्राफिक प्रहरी र बसपार्क सञ्चालकसँग समन्वय गर्नुभयो । सार्वजनिक यातायात बस पार्कभित्रबाट सञ्चालन भएपछि चक्रपथ कोरिडोरमा सवारी पार्किङको समस्या न्यूनीकरण भएको छ । सडक किनारामा गाडी रोकेर यात्रु चढाउँदा र ओराल्दा हुने दुर्घटनाको जोखिम समाधान भएको छ,’ डंगोलले भनिन् ।

सहरी सुविधा वितरण तथा सहरी विकास व्यवस्थापनका विवाद समाधान गर्न यो अनुकरणीय उदाहरण भएको उनको भनाइ थियो । 'यसमा सबै पक्षको जित भएको छ । निर्णय कार्यान्वयन गर्दा कसैलाई नोक्सान पुगेको छैन, यसरी प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र थप सुधार गर्ने कामलाई अबलाई यसपछि प्राथमिकता दिइनेछ,’ उनले थपिन् । 

महानगरले वैशाख ७ गते व्यवसायीलाई अन्तिम पटक सार्वजनिक सूचना दिएर बसपार्कभित्र मात्र सवारी साधन रोक्ने, यात्रु चढाउने तथा ओराल्ने काम सञ्चालन गर्न गराउन अनुरोध गरेको थियो । वैशाख ७ गते कार्यवाहक प्रमुख डंगोलको अध्यक्षतामा नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्की, प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीसहितको बैठकले विगतका निर्णय र निर्णय कार्यान्वयनको अवस्था समीक्षा गर्दै अन्तिम पटक ३ दिनको समय थप गरेको थियो । त्यही बैठकले निर्णय कार्यान्वयनका लागि समन्वय र अनुगमन गर्न महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई जिम्मेवारी दिएको थियो ।

यस अघि २०८२ चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्क भित्रबाट एकीकृत रुपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यस सूचनाबाट नुवाकोटतर्फका यातायात सञ्चालन गर्ने कम्पनीहरू सम्पर्कमा आएको तर धादिङतर्फ सञ्चालन हुने यातायात व्यावसायीहरू सम्पर्कमा नआएको हुनाले प्रचलित कानुनबमोजिम सेवा सञ्चालन गर्न अन्तिम पटक ३ दिनको मौका प्रदान गरिएको थियो ।

एकीकृत बस पार्कमा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउन्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप एकै ठाउँमा मात्र हुनेछ । 

bus-park-ktm

प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौँबाट दैनिक औसतमा ७ सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा सवारी साधन बसपार्क बाहिरै पार्किङ हुने गरेका थिए । यात्रु चढाउने तथा ओराल्ने पनि बसपार्क बाहिरैबाट गर्ने गरेका थिए ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लका अनुसार अहिले नुवाकोटतर्फ चल्ने करि ६५ वटा धादिङतर्फ चल्ने करिब ९० वटा सवारी साधन बसपार्कभित्रबाट सञ्चालन हुन थालेका छन् । यी सवारी साधन सञ्चालन गर्ने व्यावसायीले माग गरेअनुसार ठाउँ भोलि बेलुकासम्म उपलब्ध गराइनेछ । अहिले निर्माण कार्य भइरहेको छ ।

बसपार्कमा लामो दूरीको एउटा सवारी साधन ९ घण्टा पार्किङ गरेको ४ सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दूरीका माइक्रो बसको २२० रुपैयाँ लिने गरिएको मल्लको भनाइ छ । बसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् । पोखरा, नुवाकोट, वुटबल, स्याङ्जा, दाङलगायत जिल्लामा माइक्रोबस सेवा सञ्चालन हुन्छ ।

नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप