सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एआई मानवीय संवेदनाको विकल्प हुन सक्दैन: बार अध्यक्ष मिश्र

शुक्रबार, १८ वैशाख २०८३, १० : ०४
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले कानुन व्यवसाय र न्याय सम्पादनमा एआईको प्रभावलाई आत्मसात् गर्नुपर्ने बताएका छन् ।
  • उनले एआईलाई केवल सहयोगी औजारका रूपमा मात्र प्रयोग गर्न सुझाव दिँदै यसको प्रयोगले कानुन व्यवसायीमा आलस्यता र सृजनशीलतामा ह्रास आउन सक्नेप्रति सचेत गराए ।
  • कानुन व्यवसायीहरूलाई प्रविधिमा पोख्त बनाउन बार काउन्सिलले एआई सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जानकारी उनले दिए ।

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले कानुन व्यवसाय र न्याय सम्पादनको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् । 

नेपाल बार एसोसिएसन युवा समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले प्रविधिमैत्री न्याय प्रणालीको आवश्यकता औँल्याए । अध्यक्ष मिश्रले कानुन व्यवसायीहरूको व्यावसायिक मर्यादा र अनुशासनका विषयमा बार काउन्सिल गम्भीर रहेको बताए । पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूमा कानुन व्यवसायीहरूबाट हुने अराजक टिप्पणी र व्यवहारलाई नियमन गर्न काउन्सिलले छुट्टै एकाइ खडा गरी अनुगमन सुरु गरेको उनले जानकारी दिए । 

एआईका कारण कानुन व्यवसायीहरूमा आलस्यता बढ्नसक्ने र सृजनशीलतामा ह्रास आउन सक्नेप्रति उनले सचेत गराए । फिराद पत्र, प्रतिउत्तर र बहस नोटहरू कानुन व्यवसायीको आफ्नै बौद्धिक सिर्जना हुनुपर्नेमा जोड दिँदै उनले एआईलाई केवल एक ‘सहयोगी औजार’ का रूपमा मात्र प्रयोग गर्न सुझाव दिए । उनले एआई प्रयोग गरेर तयार पारिएका मस्यौदाहरूमा हुबहु नक्कल गर्दा पर्नसक्ने कानुनी जोखिम र क्षतिपूर्तिका विषयमा आचारसंहिता पुनरावलोकन समितिले काम गरिरहेको समेत बताए । 

अदालतका नयाँ भवनहरू निर्माण गर्दा बारका लागि पर्याप्त स्थान नछुट्याइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले राज्यले बार प्रणालीलाई अझै पनि उचित महत्व नदिएको गुनासो गरे। साथै, राज्य प्रणालीमा अंग्रेजी भाषाको बढ्दो प्रयोगले नेपाली भाषाको मौलिकता र अस्तित्वमा पर्नसक्ने असरबारे पनि उनले चिन्ता व्यक्त गरे ।

कानुन व्यवसायीहरूलाई प्रविधिमा पोख्त बनाउन बार काउन्सिलले आगामी सोमवारदेखि एआई सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने जानकारी अध्यक्ष मिश्रले दिए । युवा समितिलाई यस्ता रचनात्मक र तालिममूलक कार्यक्रमहरूलाई निरन्तरता दिन निर्देशन दिँदै उनले कानुन व्यवसायीहरूलाई प्रविधि र कानूनको संगममा रहेर काम गर्न प्रेरित गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप