सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बालेनलाई बाबुरामको सुझाव- जे हुनु भयो, अब पुनर्स्थापनाकाे व्यवस्था गरेरमात्र सुकुमबासी बस्ती भत्काउनुपर्छ

शुक्रबार, १८ वैशाख २०८३, १० : २२
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँका सुकुमबासी बस्तीको अवलोकन गर्दा आशासँगै डर, त्रास र भय देखिएको बताएका छन् ।
  • उनले सरकारले पहिलो चरणमा डोजर चलाएका थापाथली, सिनामंगल र भक्तपुरको मनहरा क्षेत्रको प्रत्यक्ष अवलोकन गरेका थिए ।
  • भट्टराईले पुनर्स्थापनाको व्यवस्था गरेरमात्र सुकुमबासी बस्ती भत्काउनुपर्ने सुझाव दिएका छन् ।

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालेन नेतृत्वको सरकारले काठमाडौँका सुकुमबासी बस्तीको अवलोकन गर्दा थोरै आशासँगै डर, त्रास र भय देखिएको बताएका छन् । 

डा. भट्टराईले सरकारले पहिलो चरणमा डोजर चलाएका थापाथली, सिनामंगल र भक्तपुरको मनहरा क्षेत्रको बिहीबार प्रत्यक्ष अवलोकन गरेपछि शुक्रबार भिडियोमार्फत यस्तो बताएका हुन् । 

उनले आफूसहित पूर्वमन्त्री हिसिला यमीसहितले कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर र नयाँ बसपार्क नजिक केही होटल र लजमा राखिएका सुकुमवासीसँग पनि भेटघाट र कुराकानी गरेपछि आफ्नै कार्यकालमा निर्माण गरिएको नागार्जुनको इचंगुनारायणस्थित सुकुमवासी पुनस्थापना अपार्टमेन्टहरूको अवलोकन गरेको बताएका छन् । 

भत्किएका बस्तीको अवलोकन र राखिएका सुकुमबासीसँग कुरा गरेपछि आफ्ना अनुभूति संक्षिप्तमा राख्दै भट्टराईले भनेका छन्, ‘सुकुमबासी बस्तीमा पुग्दा केही बाँकी रहेकाहरूसँग कुरा गर्दा यो सरकारले केही गर्ला भन्ने आशा देखियो भने अर्कोतिर गम्भीर आशङ्का र त्रास पनि छाएको देखियो ।’

उनले भर्खर नयाँ सरकार बनेका बेला सहरी क्षेत्रका गरिव, श्रमिकहरुमा आतंक देखिनु राज्यप्रति विश्वास गुम्नु भन्दै त्यो ‘मिठो’ नभएको बताएका छन् । उनले केही महिलाहरुले आफूसँगको भेटमा डराएकै स्वरमा नाम दर्ता गर्दा आफ्नो भएको जायजेथा पनि जान्छ भन्ने किसिमको बुझाई रहेको बताएका छन् । 

‘कतिपयले छोटो समयको सूचना दिएर टहरा भत्काएकाले सामानहरू उठाउन नपाएको दुखद दृश्य पनि देखियो’, भट्टराईले भनेका छन्, ‘पहिले डोजर लाउने कि पुर्न व्यवस्थापन गर्ने विषयमा सरकार प्रस्ट हुनुपर्छ ।’ उनले संसारमा पुर्नव्यवस्थापनलाई पहिला जोड दिने गरिएको पनि बताएका छन्, ‘दोस्रोमा जग्गा प्राप्ति र सौन्दर्यीकरण हुनुपर्छ । पुर्नस्थापनको व्यवस्था गरेरमात्रै सुकुमबासी भत्काउनुपर्छ’, भट्टराईले अहिलेसम्म जे भयो भयो तर बाँकी स्थानका सुकुमबासीका सवालमा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप