सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समाचार

‘गरिबको चमेली बोल्दिने कोही छैन..’

शुक्रबार, १८ वैशाख २०८३, १८ : ००
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चुनावअघि गाएको 'गरिबको चमेली' बोलको गीत अहिले सुकुमबासी बस्तीमा डोजर चलिरहँदा चर्चामा आएको छ ।
  • सुकुमबासी बस्तीका बासिन्दाहरूले राज्यविहीन र आवाजविहीन महसुस गरिरहेका छन् र उनीहरूको पक्षमा बोल्ने कोही नभएको गुनासो गरेका छन् ।
  • विगतमा सुकुमबासी बस्ती हटाउने कुरा हुँदा आश्वासन दिने राजनीतिक दलका नेताहरू अहिले डोजर चलिरहँदा सम्पर्कमा नआएको गुनासो स्थानीयले गरेका छन् ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार हुँदै गर्दा बालेन्द्र (बालेन) शाह टेलिभिजन प्रस्तोता सुरज ठकुरीको ‘इट्स माइ शो’मा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनसँगै पुगेका थिए । उक्त शोमा रामेश रायनको ‘गरिबको चमेली बोल्दिने कोही छैन, कोही छैन’ बोलको गीतलाई र्‍यापमा मिक्सअप गरेर बालेनले गाएका थिए । 

पछि बालेनले त्यो गीत आफने युट्युब च्यानलमा पनि हालेका छन् । उक्त गीत युट्युबमा १ करोड ६० लाखले हेरिसकेका छन् ।

प्रधानमन्त्री बालेनको निर्देशनमा सुकुमबासी बस्तीमाथि डोजर चलाएसँगै अहिले यो गीतको प्रसङ्ग फेरि जोडिन आइपुगेको छ । बालेनकै निर्देशनमा अहिले उपत्यकाका सुकुमबासी बस्तीमा धमाधम डोजर चलिरहेका छन् ।

Teku Bansighat Sukumbasima dozar_Nepal Photo library (4)

सुकुमबासी बस्तीका स्थानीयहरू अहिले राज्यविहीन र आवाज विहीन भएको महसुस गरिरहेका छन् । उनीहरू आफ्नो पक्षमा बोलिदिने कोही नभएको महसुस गर्दैछन् ।

काठमाडौँको आकाशमा शुक्रबार सूर्य नउदाउँदै टेकु र वंशीघाटको बस्तीमा एक प्रकारको सन्त्रास फैलिसकेको थियो । खोलाको चिसो सिरेटोभन्दा पनि चिसो बनेर आएको थियो महानगरको डोजर । जुन गीतले हिजो चुनावका बेला मानिसहरूको मन जितेको थियो, आज त्यही गीतका शब्दहरू बागमतीको धमिलो पानीमा डुब्दै गरेको भान हुन्थ्यो ।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै बालेनले र्‍याप गाउँदा ताली बजाउने तन्नेरीहरू आज उनकै नेतृत्वको सरकारले डोजर चलाएर घर भत्काउँदा स्तब्ध छन् । ती बस्तीका बासिन्दाहरूका लागि त्यो गीत आज एउटा ठुलो व्यङ्ग्य बनेर ठिङ्ग उभिएको छ ।

Teku Bansighat Sukumbasima dozar_Nepal Photo library (8)

वंशीघाटको किनारमा बिहानैदेखि एउटा दुःखद् हतारो थियो । सुकुमबासीहरू आफ्नो जीवनभरको कमाइ जोगाउने अन्तिम र असफल प्रयासमा थिए । एक अधबैंसे महिला हस्याङफस्याङ गर्दै आफ्ना पुराना लत्ताकपडा र केही भाँडाकुँडा एउटा ठुलो प्लाष्टिकको बोरामा कोच्दै थिइन् । जाने कहाँ ? ओत लाग्ने कहाँ ? सरकारले त हट् भन्यो, तर यहाँ जा भनेर देखाउने ठाउँ कतै थिएन । उनले लामो सुस्केरा हाल्दै भनिन्, ‘कहाँ जाने त के थाहा ! आफ्नो भएको यही एउटा छाप्रो पनि भत्काइहाल्यो । सरकारले रोडमै सुत भनेको होला नि !’

नदीको अर्को किनारमा डोजरहरूको लस्कर तयारी अवस्थामा थियो । सुन्दर साह, जो मधेसबाट आएर विगत १३ वर्षदेखि यही वंशीघाटमा पसिना बगाइरहेका थिए । उनले मोटरसाइकल मोडिफाइ गर्नेे काम गरेर सानो एउटा पक्की घर बनाएका थिए । त्यो पक्की घर आज सरकारको नजरमा एउटा ‘अतिक्रमण’ मात्र थियो ।

Teku Bansighat Sukumbasima dozar_Nepal Photo library (6)

सुन्दरको चिन्ता घर भत्किएकोमा मात्र थिएन, बरु आफ्ना लालाबालाहरूको भविष्य र नागरिकताको अभावमा राज्यबाट पाउने अधिकारबाट वञ्चित हुनुपर्ने पीडामा पनि थियो । उनले भने, ‘जहाँ बसे पनि गरिबलाई गरेर खाने ठाउँ त दिनुपर्‍यो नि !’

उनको आफ्नोमात्रै नागरिकता बनेको छ । ‘श्रीमती र छोराछोरीको कागज बनेको छैन । अब सरकारले के गरी बस्न दिन्छ, थाहा छैन,’ उनले चिन्ता व्यक्त गरे ।

कुलेश्वर माविको दक्षिणतर्फको बस्तीमा बिहानैदेखि फलफूल र तरकारी लिन जाने गाडीहरूलाई समेत रोकिएको थियो । टहराको जस्ता पाताहरू हतार–हतार उप्काउँदै थिए रामबहादुर परियार । उनको मनमा मिडिया र युट्युबरहरूप्रति ठुलो घृणा थियो । ‘हामीलाई हुकुमबासी भन्छन्, के हामी रहरले यहाँ बसेका हौँ र ?’ उनले आक्रोश पोखे, ‘कहिले खोलाको बाढीले बगाउने डर, कहिले सरकारले भत्काउने डर, सुकुमबासीको जीवन सधैँ डरैडरमा रह्यो । एक हप्ताको समय पनि नदिई एक्कासि डोजर चलाउनु कस्तो न्याय हो ?’

Teku Bansighat Sukumbasima dozar_Nepal Photo library (1)

  • सुकुमबासी नेता हराएको गुनासो

सुकुमबासी बस्तीका बासिन्दाहरूका अनुसार विगतमा जब–जब सुकुमबासी बस्ती हटाउने कुरा हुन्थ्यो, तब–तब राजनीतिक दलहरूका ठुला नेताहरू त्यहाँ पुग्थे । उनीहरूले लालपुर्जा दिने आश्वासन दिन्थे, आन्दोलन गराउँथे ।

अहिले डोजर चलिरहेको छ, तर ती नेताको अत्तोपत्तो छैन । वंशीघाटका स्थानीयका अनुसार नेताहरू अहिले फोनसमेत उठाउँदैनन् । बस्तीका भीम खत्रीको आक्रोश छ, ‘४/५ चोटी उठाउने हल्ला चल्यो, तर यहाँ नेताहरूले हटाउँदैन, यहीँ लालपुर्जा बाँड्छ भन्दै राखे । अहिले तिनीहरू कोही देखा परेका छैनन् ।’

पहिले सुकुमबासी बस्ती चलाउँदा देशभरि आन्दोलन भए पनि अहिले राजनीतिक दलहरू ‘ठिक्क पर्‍यो’ भनेर बसेको विश्वनिकेतन मावि अगाडि भेटिएका भीम खत्रीले बताए । ‘आन्दोलन गर्नुपर्‍यो भनेको, एउटा नेताले घन्टीका सांसदलाई भन् न भन्यो । दुःखको बेला पनि निहु खोज्ने हो त ?’ खत्रीले भने ।

Teku Bansighat Sukumbasima dozar_Nepal Photo library (2)

  • कहाँ–कहाँ चल्यो डोजर ?

सरकारले सुकुमबासी बस्ती हटाउने अभियान अन्तर्गत आजमात्रै काठमाडौँ जिल्लाको विभिन्न नदी किनारमा रहेको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । 

काठमाडौंँको विष्णुमती किनार पर्ने बालाजु–बसपार्क क्षेत्रमा बिहानैदेखि डोजर चलेको छ । यस्तै बागमती नदी किनारको शंखमुल–बुद्धनगरमा १० बजेपछि डोजर चलाइएको छ ।

Teku Bansighat Sukumbasima dozar_Nepal Photo library (5)

बिहान ८ बजेपछि विश्वनिकेतन माविदेखि बागमती नदी किनार हुँदै वंशीघाट क्षेत्रमा डोजर चलेको थियो । त्यहाँ एकैपटक ६ वटा ठुला डोजर र ड्रील चलेको थियो । बिहानैदेखि विष्णुमती र बागमती नदीको दोभान क्षेत्र, टेकुदेखि कालिमाटी क्षेत्रमा डोजर चलाइएकोे छ ।

यस्तै बल्खुको चक्रपथ अन्तर्गतको बागमती पुलदेखि, कालिमाटी तरकारी बजारको तल्लो क्षेत्र रहेको बागमती नदी किनारको बस्तीमा पनि डोजर चलाइएको छ । आज नदी किनारमा रहेको सुकुबासी बस्तीमा मात्रै डोजर चलाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमृत चिमरिया
अमृत चिमरिया
लेखकबाट थप