आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

‘ईएफएस फाइट नाइट ८’ हुँदै

च्याम्पियनसिप बेल्ट र एक लाखका लागि कामा र गुमान भिड्ने
शनिबार, १९ वैशाख २०८३, १३ : २०
शनिबार, १९ वैशाख २०८३

सारांश

  • नेपालमा मुवा थाई खेलको विकास र प्रवर्द्धन गर्न काठमाडौंमा 'ईएफएस फाइट नाइट ८' आयोजना गरिने भएको छ।
  • यस प्रतियोगितामा कुल २६ बाउट हुनेछन् जसमा ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसमा ६ वटा व्यावसायिक खेलहरू समावेश छन्।
  • ५८ केजी सुपर फेदरवेट उपाधि भिडन्तमा कामाबहादुर मगराती र गुमान घर्तीमगरबीच प्रतिस्पर्धा हुनेछ, जसको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

काठमाडौँ । नेपालमा मुवा थाई खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा ‘ईएफएस फाइट नाइट ८’ आयोजना हुने भएको छ। डब्लुबीसी मुवा थाई नेपालको आयोजनामा आगामी मे १६, २०२८ मा यो रोमाञ्चक मार्सल आर्ट प्रतियोगिता हुन लागेको हो।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाली मुवा थाईको स्तर उकास्दै विश्व मञ्चमा मजबुत उपस्थिति जनाउने लक्ष्यसहित यो फाइट नाइट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। सन् २०२१ अगस्ट २७ मा स्थापना भएको डब्लुबीसी मुवा थाई नेपालले खेलाडीको क्षमता विकास, व्यवस्थित प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय एक्सपोजरमा विशेष जोड दिँदै आएको छ।

आयोजकका अनुसार यस प्रतियोगितामा कुल २६ वटा बाउट (फाइट) हुनेछन्, जसमा ५२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यीमध्ये ६ वटा खेल पूर्ण रूपमा व्यावसायिक (प्रोफेसनल) हुनेछन् भने बाँकी खेलहरू एमेच्योर र प्रो–एमेच्योर नियममा आधारित रहेर सञ्चालन गरिनेछ। प्रतियोगितामा देशभरका ९ वटा विभिन्न जिमका खेलाडीहरू सहभागी हुनेछन्, जसले नेपालमा मुवा थाई खेलको बढ्दो क्रेजलाई प्रस्ट पार्छ।

IMG_1297

प्रतियोगिताको मुख्य आकर्षण ५८ केजी सुपर फेदरवेट तौल समूहको भिडन्त हुनेछ। यस उपाधि भिडन्तमा इरावान मुवा थाई फाइट जिमका कामाबहादुर मगराती र जिमखाना परफर्मेन्सका गुमान घर्तीमगर आमनेसामने हुनेछन्। यो खेल जित्ने खेलाडीले ‘डब्लुबीसी मुवा थाई नेसनल च्याम्पियनसिप’ को बेल्टका साथै नगद एक लाख रुपैयाँ पुरस्कार हात पार्नेछ।

त्यस्तै, सह-मुख्य प्रतिस्पर्धाअन्तर्गत ४८ केजी लाइट फ्लाईवेट तौल समूहमा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय भिडन्त हुनेछ। यस खेलमा नेपालकी करिश्मा कार्कीले भारतकी पुष्पा आरसँग प्रतिस्पर्धा गर्नेछिन्। महिला खेलाडीहरूबिचको यो अन्तर्राष्ट्रिय बाउटलाई पनि निकै चासोका साथ हेरिएको छ।

IMG_0464

यसबाहेक प्रारम्भिक प्रतिस्पर्धाअन्तर्गत विभिन्न तौल समूहमा अन्य रोमाञ्चक खेलहरू पनि तय भएका छन्। रिङमा सन्तोष खत्री र एलेन ठकाली, फुर्बा शेर्पा र अनुप कटुवाल, सन्जु लामा र अलिश बोम्जन तथा मुबिन राई र दावा लामाबीच कडा प्रतिस्पर्धा हुनेछ।

यस बृहत् खेलकुद कार्यक्रमलाई बागमती युवा तथा खेलकुद परिषद् र बूढानीलकण्ठ नगरपालिकाले सहयोग गरेका छन्। यति एयरलाइन्स र एक्स्ट्रीम इनर्जी ड्रिंक्स प्रायोजकका रूपमा रहेका छन् भने '९७७ क्लोथिङ ब्रान्ड' एपारेल पार्टनरको रूपमा जोडिएको छ। रिङभित्रको यो एक्सनलाई दर्शकले ‘डिश होम एक्सन स्पोर्ट्स’ च्यानलमार्फत प्रत्यक्ष हेर्न पाउनेछन्। यस प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउनुका साथै खेल पर्यटनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप