आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सुधार गृह पठाउने तयारी गरिएका युवकको हतियार प्रहारबाट ३ जना घाइते

आइतबार, ०७ असार २०८३, १६ : ५२
आइतबार, ०७ असार २०८३

सारांश

  • विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकले हतियार प्रहार गर्दा तीन जना घाइते भएका छन् ।
  • सुधार गृहका प्रतिनिधि, आफन्त र प्रहरीले कोठाभित्र रहेका युवकलाई सम्झाइ–बुझाइ गर्ने प्रयास गरिरहेका बेला उनले धारिलो हतियार निकालेर प्रहार गरेका थिए ।
  • टाउकोमा सामान्य चोट लागेका घाइतेहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

विराटनगर । मोरङको विराटनगरमा सुधार गृह पठाउने तयारी गरिएका एक युवकको हतियार प्रहारबाट ३ जना घाइते भएका छन् । विराटनगर महानगरपालिका–१, अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्ने २९ वर्षीय रुबिण कार्कीले धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार आज दिउँसो करिब साढे तीन बजे कार्कीलाई ‘साथीभाइ नेपाल सुधार गृह’ काठमाडौँ पठाउने तयारी भइरहेको थियो । सोही क्रममा उनले कोठा थुनेर आत्महत्याको प्रयास गरेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।

सूचना प्राप्त हुनासाथ सिआरभी भट्टाचोकबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । सुधार गृहका प्रतिनिधि, आफन्त र प्रहरीले कोठाभित्र रहेका कार्कीलाई सम्झाइ–बुझाइ गर्ने प्रयास गरिरहेका थिए । सोही क्रममा कार्कीले आफू सुत्ने बेडमा लुकाएर राखेको धारिलो हतियार अचानक निकालेर प्रहार गरेका थिए ।

आक्रमणबाट स्थानीय भोजराज रेग्मी, हिमाल घिमिरे र सन्तोष सापकोटा घाइते भएका छन् । उनीहरूको टाउकोमा सामान्य चोट लागेको छ । घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा आवश्यक समन्वय र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठ र वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बेनु कार्की नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप