आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता

आइतबार, ०७ असार २०८३, २० : ३६
आइतबार, ०७ असार २०८३

सारांश

  • डच राजा विलेम-अलेक्जेन्डरले नेदरल्यान्ड्स र कुरासाओ दुवै टोलीको विश्वकप खेल हेरेर उत्सव मनाए।
  • नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ ले हरायो भने कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै विश्वकपमा पहिलो अङ्क प्राप्त गर्‍यो।
  • राजाले दुई टोलीको समर्थन गर्न पाउनु विश्वकपलाई विशेष बनाएको र दुवै टोलीले राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।

काठमाडाैँ। कुरासाओले विश्वकपमा पहिलो अङ्क हासिल गरेपछि राजा विलेम–अलेक्जेन्डरले टोलीका खेलाडीहरूसँग उत्सव मनाए । उनको लागि दुई राष्ट्र, चार अङ्क र विश्वकपको एक अविस्मरणीय दिन रह्यो ।

नेदरल्यान्ड्स र यसको पूर्व उपनिवेश कुरासाओबिच करिब ५ हजार माइलको दूरी भए पनि विश्वकपका कारण डच राजपरिवारका सदस्यहरूले शनिबार दुवै टोलीको खेल प्रत्यक्ष हेर्न पाए ।

नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डर, रानी म्याक्सिमा र राजकुमारी आरियाने ह्युस्टनमा भएको मध्यान्ह खेल हेर्न पुगेका थिए, जहाँ डच टोलीले स्विडेनलाई ५–१ ले पराजित गर्दै प्रभावशाली प्रदर्शन गर्‍यो ।

त्यसपछि करिब ८ सय माइल उत्तरतर्फको यात्रा गर्दै उनीहरू कान्सास सिटी पुगे, जहाँ कुरासाओले इक्वेडरविरुद्ध गोलरहित बराबरी खेल्दै विश्वकप इतिहासकै पहिलो अङ्क जित्यो ।

कुरासाओ टोलीका एक खेलाडीबाहेक सबै नेदरल्यान्ड्समै जन्मिएका छन् । दिनको अन्त्यमा राजपरिवारले ड्रेसिङ रुममा पुगेर खेलाडीहरूसँग उत्सव पनि मनायो ।

राजा विलेम–अलेक्जेन्डरले आरटीएल–टिभीसँग भने, ‘यो विश्वकप विशेष छ, किनभने हामीसँग नेदरल्यान्ड्स र कुरासाओ दुवै छन् ।’ उनले थपे, ‘हामीसँग समर्थन गर्न दुई टोली छन् । निलो जर्सीधारी र सुन्तला जर्सीधारी दुवै टोलीलाई हौस्याउने उत्कृष्ट अवसर हो ।’

‘समग्रमा, दुई टोलीका कारण यो विश्वकप मेरो लागि विशेष हुनेछ र स्वाभाविक रूपमा म दुवै टोली धेरै माथिसम्म पुगून् भन्ने आशा गर्छु ।’ रानी म्याक्सिमा अर्जेन्टिनाकी हुन् । यदि उनी सोमबार टेक्सासको आर्लिङ्टन पुगिन् भने अर्जेन्टिनाले अस्ट्रियाविरुद्ध खेल्ने खेल पनि हेर्न सक्नेछिन् ।

१ लाख ५८ हजार जनसंख्या भएको कुरासाओ एकदमै सानो टापु हो र अहिले पनि नेदरल्यान्ड्स राज्यको हिस्सा हो ।

१७औँ शताब्दीमा नेदरल्यान्ड्सले हालको इन्डोनेसिया, दक्षिण अफ्रिका, कुरासाओ र पश्चिम पपुवा क्षेत्रका विशाल भूभागहरू आफ्नो नियन्त्रणमा लिएको थियो ।

दास व्यापारको समयमा अफ्रिकाबाट हजारौं मानिसलाई क्यारेबियन र दक्षिण अमेरिकास्थित डच उपनिवेशहरूमा जबर्जस्ती लगिएको थियो । यो समग्र ट्रान्स–अटलान्टिक दास व्यापारको करिब पाँच प्रतिशत हिस्सा मानिन्छ । सन् १८६३ मा उक्त प्रथा औपचारिक रूपमा निषेध गरिएको थियो ।

राजा विलेम–अलेक्जेन्डरले सन् २०२३ मा दास व्यापारमा आफ्नो देशको भूमिकाका लागि औपचारिक रूपमा क्षमायाचना गर्दै आफू त्यस इतिहासबाट ‘व्यक्तिगत र गहिरो रूपमा विचलित’ भएको बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप