मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एआईबाट नक्कली तस्बिर बनाएर फैलाउँदा ५ वर्ष जेल सजायको जोखिम

शनिबार, १९ वैशाख २०८३, १४ : ०१
शनिबार, १९ वैशाख २०८३

सारांश

  • एआई प्रयोग गरी नक्कली तस्बिर बनाएर अनलाइनमा पोस्ट गर्ने दक्षिण कोरियाका एक व्यक्तिलाई ५ वर्षसम्म जेल सजाय हुन सक्ने भएको छ।
  • ती व्यक्तिले चिडियाखानाबाट भागेको ब्वाँसो सहरमा घुमिरहेको जस्तो देखिने नक्कली तस्बिर बनाएर पोस्ट गर्दा सरकारी संयन्त्र भ्रमित भएको थियो।
  • नक्कली तस्बिरले गर्दा वास्तविक ब्वाँसोलाई पक्रन नौ दिन ढिला भयो र सरकारी स्रोतसाधनको दुरुपयोग भयो।

सोल । प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगसँगै यसका जोखिमहरू पनि सतहमा आउन थालेका छन्। हालै दक्षिण कोरियामा एक व्यक्तिले रमाइलोका लागि एआई प्रयोग गरी बनाएको एउटा तस्बिरले उनलाई ५ वर्षसम्मको जेल सजाय हुने अवस्था सिर्जना गरेको छ। 

ती व्यक्तिले सहरको सडकमा ब्वाँसो हिँडिरहेको देखिने वास्तविक जस्तो लाग्ने तस्बिर बनाएर अनलाइनमा पोस्ट गरेका थिए। हेर्दा सामान्य लागे पनि यो तस्बिरले सरकारी संयन्त्रलाई ठुलो भ्रममा पारेपछि अहिले उनी कानुनी फन्दामा परेका हुन्।

गत अप्रिल ८ मा दक्षिण कोरियाको देजोन चिडियाखानाबाट ‘नुकगु’ नामको ब्वाँसो भागेको खबर सार्वजनिक भएको थियो। सोही समयमा ती ४० वर्षीय पुरुषले एआईको सहयोगमा देजोन सहरकै सडकमा ब्वाँसो देखिएको एउटा नक्कली तस्बिर बनाएर सार्वजनिक गरे। 

उक्त तस्बिर देखेपछि स्थानीय प्रशासन र प्रहरीले ब्वाँसो सहर पसेको ठानेर व्यापक सर्च अपरेशन सुरु गर्‍यो। सम्भावित खतरालाई ध्यानमा राख्दै सहरका प्राथमिक विद्यालयहरू बन्द गरिए भने प्रहरी र दमकलका विशेष टोलीहरू परिचालन गरिए।

दक्षिण कोरियाली अधिकारीका अनुसार एउटा नक्कली तस्बिरले गर्दा वास्तविक ब्वाँसोलाई पक्रन नौ दिनसम्म ढिलो भयो। प्रहरी र उद्धारकर्मीहरू सहरभित्र ब्वाँसो खोज्न व्यस्त हुँदा उनीहरूको नियमित सार्वजनिक सुरक्षाको काममा समेत गम्भीर बाधा पुग्यो। 

पछि प्रहरीले वास्तविक ब्वाँसोलाई सहरभन्दा टाढा बाहिरी क्षेत्रमा फेला पार्‍यो। तर, त्यतिन्जेलसम्म राज्यको ठुलो स्रोत र साधन खेर गइसकेको थियो।

पक्राउ परेका ती व्यक्तिले आफूले रमाइलोका लागि मात्र यस्तो गरेको बयान दिएका छन्। तर प्रशासनले यसलाई गम्भीर अपराधको रूपमा लिएको छ। गलत सूचना फैलाएर सरकारी काममा बाधा पुर्‍याएको र जनजीवन त्रसित बनाएको अभियोगमा उनलाई ५ वर्षको जेल सजाय र ६ हजार ७ सय डलर जरिवाना हुन सक्ने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप