चीनमा हुर्किँदैछ ‘मानवरूपी रोबोट’ को फौज
सारांश
- चीनले मानवरूपी रोबोटको विकासमा नेतृत्व गरिरहेको छ, जसले जटिल कलाबाजी प्रदर्शन गर्न सक्षम छन्।
- डिप लर्निङ प्रविधि र 'इम्बडिड इन्टेलिजेन्स'ले रोबोटहरूलाई वातावरण बुझ्न, सिक्न र मानिसजस्तै काम गर्न सक्षम बनाउँदैछ।
- हाङ्जाउ सहर 'इम्बडिड इन्टेलिजेन्स'को केन्द्र बनेको छ र यसले रोबोटिक्सको अनुसन्धान, विकास र प्रयोगलाई तीव्र गतिमा अघि बढाइरहेको छ।
हाङ्जाउ । गत फेब्रुअरीमा चीनको ‘लुनार न्यु इयर गाला’ मा एउटा यस्तो दृश्य देखियो, जसले विश्वभरका प्रविधि विज्ञहरूलाई चकित पार्यो।
अघिल्लो वर्ष सामान्य नृत्य मात्र गर्न सक्ने रोबोटहरू यस वर्ष ‘कार्टह्विल’, पार्कोर र मार्सल आर्टका जटिल कलाबाजी प्रदर्शन गरिरहेका थिए। त्यो एउटा मनोरञ्जनात्मक कार्यक्रम मात्र थिएन, विश्वलाई दिइएको एउटा प्रष्ट सन्देश थियो, मानवरूपी रोबोटहरू आउँदैछन् र यसको नेतृत्व चीनले गरिरहेको छ।
चीनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मानिसको दैनिक जीवनको सामान्य हिस्सा बनिसकेको छ। तर, अहिले चिनियाँ राजनीतिज्ञ र उद्योगीहरूलाई सबैभन्दा बढी उत्साहित बनाउने विषय भने ‘रोबोटिक्स’ बनेको छ। एआई र रोबोटिक्सको यो अभूतपूर्व संयोजनले अब काम गर्ने विश्वव्यापी परम्परालाई नै पूर्ण रूपमा बदल्ने संकेत देखिएको छ।
_hwKaqJiA0j.jpg)
- के हो इम्बडिड इन्टेलिजेन्स ?
यस क्रान्तिको पछाडि मुख्य रूपमा ‘डिप लर्निङ’ प्रविधिको हात छ, जसले ठूला भाषा मोडेलहरूलाई शक्ति प्रदान गर्छ। वैज्ञानिकहरूको विश्वास छ, जसरी च्याटजीपीटी र डिपसिकले भाषा सिक्यो र संवाद गर्न थाल्यो, त्यसरी नै मेसिनहरूले भौतिक संसारमा काम गर्न सिक्न सक्छन्। उनीहरू अब प्रोग्राम गरिएका नियमहरूको भरमा मात्र पर्दैनन्, बरु ठूलो मात्रामा तथ्याङ्क ग्रहण गरेर आफैँ सिक्छन्।
यसको केन्द्रमा छ ‘इम्बडिड इन्टेलिजेन्स’ अर्थात् मुर्त बौद्धिकता। इम्बडिड इन्टेलिजेन्सले एआईलाई रोबोटजस्ता भौतिक रूपहरूमा एकीकृत गर्छ।
_3BzovmwEZQ.jpg)
यसले रोबोटहरूलाई मानिसले जस्तै आफ्नो वरपरको वातावरण बुझ्न, सिक्न र अन्तर्क्रिया गर्न सक्षम बनाउँछ। बौद्धिकता र भौतिक शरीरको यो मिलनले रोबोटहरूमा सामान्य विवेकको विकास गराइरहेको छ।
यस प्रविधिको अन्तिम लक्ष्य भनेकै मानिसजस्तै देखिने, मानिसजस्तै सोच्ने र कारखाना वा घरमा मानिसले जस्तै काम गर्न सक्ने ‘ह्युमनोइड’ रोबोटहरूको निर्माण गर्नु हो।
_XPZMpNyhWB.jpg)
- हाङ्जाउ: रोबोटिक्स क्रान्तिको नयाँ ‘हब’
यस अभियानमा चीनको हाङ्जाउ सहर ‘इम्बडिड इन्टेलिजेन्स’ को प्रमुख केन्द्र बनेर उदाएको छ। सन् २०२६ को सुरुवातसँगै यो सहर मानवरूपी र रोबोटिक एआई प्रविधिको अनुसन्धान, विकास र प्रयोगको केन्द्रीय थलो बन्दैछ।
_bXixJgWXSo.jpg)
हाङ्जाउले एआईलाई सफ्टवेयरबाट भौतिक रूप जस्तैः रोबोट, स्वचालित सवारीसाधन र औद्योगिक मेसिनरीमा रूपान्तरण गर्ने प्रक्रियालाई तीव्र गतिमा अघि बढाइरहेको छ। सन् २०२६ देखि २०३० को बिचमा एआई नवप्रवर्तनमा विश्वव्यापी नेता बन्ने यस सहरको रणनीतिक लक्ष्य छ।
_qHB2dXpQ0U.jpg)
यसलाई मूर्तरूप दिन सन् २०२५ को डिसेम्बरमा हाङ्जाउले एउटा ऐतिहासिक कदम चाल्यो। सहरले इम्बडिड इन्टेलिजेन्ट रोबोट इन्डस्ट्रीको विकास प्रवर्द्धन गर्ने कानुन नै पारित गर्यो। यो अनुसन्धान, परीक्षण र वास्तविक प्रयोगलाई समेटेर बनाइएको चीनकै पहिलो स्थानीय कानुन हो।
_Ma77hVHAJI.jpg)
- कफी बनाउनेदेखि विपद् उद्धारसम्म
हाङ्जाउको इम्बडिड इन्टेलिजेन्स एक्जिबिसन सेन्टरमा यतिबेला भविष्यको झल्को दिने अचम्मलाग्दा परीक्षणहरू भइरहेका छन्। त्यहाँ पुग्ने जो कोहीले ग्राहकलाई कफी सर्भ गरिरहेका, रेस्टुरेन्टमा काम गरिरहेका, मानिससँग खेल खेलिरहेका र बक्सिङ गरिरहेका रोबोटहरू देख्न सक्छन्।
_OAIW47tRSc.jpg)
तर, यी रोबोटहरूको लक्ष्य मनोरञ्जनमा मात्र सीमित छैन। यस्ता ह्युमनोइड रोबोटहरूलाई औद्योगिक सञ्चालन, अटोमोबाइल (सवारीसाधन) निर्माण, सामानको गुणस्तर परीक्षण, विपद् उद्धार र सुरक्षा, पानीजहाज निर्माणदेखि लिएर व्यावसायिक सेवा, दैनिक घरेलु सहयोग, वृद्धवृद्धाको हेरचाह, पेट्रोकेमिकल उद्योग र कृषि उत्पादन जस्ता जटिल र जोखिमपूर्ण क्षेत्रमा प्रयोग गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ।
_Ej1yziJe8N.jpg)
आफ्नो यो महत्त्वाकांक्षी लक्ष्य प्राप्तिका लागि चीनले ढुकुटी नै खुला गरिदिएको छ। सन् २०२५ मा चीनले क्वान्टम कम्प्युटिङ, स्वच्छ ऊर्जा र रोबोटिक्स जस्ता रणनीतिक प्रविधिहरूको विकासका लागि १०० अर्ब पाउन्डको विशाल कोष घोषणा गर्यो।
_v8oPb78zA2.jpg)
यसको प्रभावस्वरूप हाल चीनमा करिब १४० वटा प्रविधि कम्पनीहरू उत्कृष्ट ह्युमनोइड रोबोट बनाउने तीव्र प्रतिस्पर्धामा उत्रिएका छन्। सफ्टवेयरमा मात्र सीमित रहेको एआई अब फलाम र फाइबरको शरीर धारण गरेर भौतिक संसारमा हिँड्न थालिसकेको छ। चीनको यो द्रुत विकासले एउटा कुरा स्पष्ट पारेको छ, श्रम र प्रविधिको भविष्य अब मानिस र रोबोटको संयुक्त सहकार्यमा कोरिनेछ।
_aJW1qlLg2Y.jpg)
_0QOPcRIs5T.jpg)
_h3te1Lob0l.jpg)
_xz8ZwvcFT2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवात, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण