पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले पार्टीभित्र कुनै मनमुटाव नरहेको सन्देश दिन खोजेका छन् ।
- उनीहरूले एकताबद्ध भएर देश विकासको अभियानमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै पार्टीभित्रको एकता, सुशासन र विकासलाई आगामी कार्यदिशाको केन्द्रमा राख्ने बताएका हुन् ।
- महाधिवेशनमा सहभागी अन्य वक्ताहरूले पनि रवि र बालेनको सहकार्यलाई सकारात्मक रूपमा व्याख्या गर्दै रास्वपालाई आन्तरिक लोकतन्त्र, सुशासन, विकास र जनविश्वासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूबिच कुनै मनमुटाव नरहेको सन्देश दिने प्रयास गरेका छन् ।
उनीहरुले एकताबद्ध भएर देश विकासको अभियानमा अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्। आइतबार भरतपुरमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै दुवै नेताले पार्टीभित्रको एकता, सुशासन र विकासलाई आगामी कार्यदिशाको केन्द्रमा राख्ने बताएका हुन्।
रवि र बालेनबिच दूरी बढेकोसम्मका चर्चा हुने गरेकामा उनीहरूले एउटै मञ्चबाट एक-अर्काप्रति विश्वास र सम्मान व्यक्त गर्दै ती सबै अड्कलबाजीको खण्डन गर्ने प्रयास गरे ।
सभापति रवि लामिछानेले आफू र बालेनबिचको सम्बन्ध अटुट रहेको उल्लेख गर्दै पार्टी र सरकार सञ्चालनको जिम्मेवारी सक्षम नेतृत्वमार्फत अगाडि बढाइने बताए।
उनले अब सरकार सञ्चालनका महत्त्वपूर्ण जिम्मेवारी बालेन शाहले सम्हाल्ने र देशलाई परिणाममुखी ढङ्गले अघि बढाउने विश्वास व्यक्त गरे। लामिछानेले पार्टीभित्र पदका लागि अस्वस्थ प्रतिस्पर्धा नगर्न, षड्यन्त्रको राजनीतिबाट टाढा रहन र सबै कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले रास्वपाले छोटो समयमै देशको शक्तिशाली राजनीतिक शक्ति बन्न सफल भएको दाबी गर्दै प्राप्त जनमतलाई प्रतिशोधका लागि नभई नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न प्रयोग गरिने बताए। साथै, पार्टीले जनतासँग गरेका प्रतिबद्धताको अक्षरशः पालना गर्ने र आगामी निर्वाचनमा पनि आत्मनिर्भर ढङ्गले अघि बढ्ने स्पष्ट पारे।
वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले पनि पार्टी र सरकारको यात्रालाई तीव्र गतिमा अघि बढाउने सङ्केत दिए। ‘हाम्रो गाडी एक्सप्रेस-वेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ,’ भन्दै उनले विकास, सुशासन र परिणाममुखी कामलाई प्राथमिकता दिइने बताए।
बालेनले पार्टी एकताको आवश्यकता दोहोर्याउँदै अब केही समय पार्टीलाई संस्थागत रूपमा बलियो बनाउन र आगामी पाँच वर्ष देश निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखे। उनले महाधिवेशनले पार्टीलाई थप व्यवस्थित र संस्थागत बनाउने विश्वास व्यक्त गरे।
उद्घाटन समारोहमा सहभागी अन्य वक्ताहरूले पनि रवि र बालेनको सहकार्यलाई सकारात्मक रूपमा व्याख्या गरेका थिए। भरतपुर महानगरपालिकाकी सभापति सीता ज्ञवालीले दुवै नेतालाई ‘कृष्ण–अर्जुन’ को जोडीसँग तुलना गर्दै उनीहरूबिच बलियो सहकार्य रहेको बताइन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नयाँ राजनीतिक शक्तिको उदय भएको उल्लेख गर्दै रवि र बालेनको नेतृत्वलाई नयाँ पुस्ताको आशाको केन्द्रका रूपमा चित्रण गरे।
महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले रास्वपाको भविष्य र सम्भावित चुनौतीबारे पनि धारणा राखे। नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा ठुला दलहरू नेताहरूको अहङ्कार, व्यक्तिवाद र आन्तरिक टकराबका कारण कमजोर बनेको इतिहास स्मरण गराउँदै रास्वपालाई त्यसबाट बच्न सुझाव दिए। उनले नेताहरूलाई ‘भगवान’ बनाउने प्रवृत्तिबाट टाढा रहन र पार्टीभित्र प्रश्न गर्ने संस्कृतिको विकास गर्न आग्रह गरे।
उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको मुख्य चुनौती जनआक्रोशलाई आशामा र विद्रोहलाई निर्माणमा रूपान्तरण गर्नु रहेको बताए। उनले पुरानो भागबन्डा र पहुँचको राजनीतिक संस्कृतिलाई अन्त्य गर्दै योग्यता र क्षमतामा आधारित प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिए।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाले पाएको जनमत अत्यन्त ठुलो जिम्मेवारी भएको उल्लेख गर्दै जनताको अपेक्षा पूरा गर्न नसके कठोर मूल्य चुकाउनुपर्ने चेतावनी दिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीतिभन्दा सहमति र सहकार्यको मार्ग रोज्न सुझाव दिए भने नेकपाका नेता वर्षमान पुनले पार्टीप्रति रहेका नीतिगत र शैलीगत आशङ्काहरू महाधिवेशनले हटाउने विश्वास व्यक्त गरे।
साथै, नेताहरूले रास्वपा आन्तरिक लोकतन्त्र, सुशासन, विकास र जनविश्वासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण