गोलबजार नगरपालिकाको ५० लाख लागतमा निर्माण भएको वडा कार्यालयबाट सेवा प्रवाह
सारांश
- गोलबजार नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ।
- ५० लाख लागतमा निर्माण भएको सो वडा कार्यालय भवनको नगर प्रमुख श्याम कुमार श्रेष्ठ र वडा अध्यक्ष सञ्जित लामाले संयुक्तरुपमा उद्घाटन गरेका हुन्।
- तीन कोठा, शौचालय र भर्याङसहितको २ कठ्ठा क्षेत्रफलमा दुई वर्ष लगाएर बनेको यो भवन निर्माणका लागि स्थानीयले निःशुल्क जग्गादान गरेका थिए।
सिराहा । सिराहा लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गोलबजार नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले अव आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। आजबाट आफ्नै भवनबाट विधिवतरुपमा सेवा प्रवाह गर्ने भएको हो।
गोलबजार नगरपालिकाको ५० लाख लागतमा निर्माण भएको वडा कार्यालय भवनको आज नगर प्रमुख श्याम कुमार श्रेष्ठ र वडा अध्यक्ष सञ्जित लामाले संयुक्तरुपमा उद्घाटन गरेका हुन्। तीन वटा कोठा, सुविधासम्पन्न शौचालय र भर्याङ्गसहितको २ कठ्ठा क्षेत्रफलमा वडा कार्यालय भवन दुई वर्ष लगाएर निर्माण भएको वडा अध्यक्ष लामाले जानकारी दिए।
उद्घाटन समारोहका प्रमुख अतिथि तथा नगरप्रमुख श्यामकुमार श्रेष्ठले वडा अध्यक्ष लामाको व्यक्तिगत मेहनतमा दाताहरूबाट जग्गा प्राप्त गरी नगरको सहयोगमा भवन निर्माण गरेको बताए। उनले भने 'भाडामा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो, वडा अध्यक्षले आफ्नो मेहनतमा जग्गा खोजेर भवन बनाएर कार्यालय सञ्चालन गर्नु भयो, वहाँलाई धेरै धेरै धन्यवाद छ।'
सोही क्रममा मेयर श्रेष्ठले वडा अध्यक्ष लामाले आफ्नै घर घाडामा लिएर वडा कार्यालय सञ्चालन गरेको विषयमा स्थानीय रुपमा टिक्का टिप्पणी हुँदै आएकोसमेत बताए। उनले त्यसैले पनि वडा अध्यक्षले छिटो छिटो वडाको आफ्नै भवन बनाउने कार्य गरेको बताए।
सोही क्रममा मेयर श्रेष्ठले लामो समयदेखि अलपत्र अवस्थामा रहेको निर्माणाधीन प्रशासकीय भवनको विषयमा स्थानीय दलहरूसँगको छलफलपछि निर्णय लिने बताए। उनले भने, ‘निर्माण कम्पनीले राम्रोसँग काम गर्न सकिरहेको छैन। लामो समयदेखि अलपत्र अवस्थामा राखेको छ। पछिल्लो पटक थपिएको म्याद पनि यही वैशाखमा सकिंदैछ। अव कसरी जानेभन्ने विषयमा म चाँडै सर्वदलीय बैठक राख्दै छु, त्यसले दिएको म्यान्डेडको आधारमा निर्णय लिन्छु।'
उद्घाटन मन्तव्यको क्रममा नेकपाका स्थानीय नेता उमेश बरालले प्रशासकीय भवनको काम सम्पन्न गर्न ध्यानाकर्षण गराएका थिए। उनले ‘निर्माणाधीन प्रशासकीय अव आव हुने नगरसभा त्यही भवनमा हुने गर्नेगरी काम अगाडी बढाउनु पर्यो। त्यो भवन निर्माणको ढिलाइले जग्गादाता र स्थानीय निराश भएका छन्।'
भवन निर्माणको लागि स्थानीय मीनकुमार लामाले एक कठ्ठा ५ धुर र अम्मवर कुमार लामाले १५ धुर जमिन वडा कार्यालयलाई निःशुल्क दिएका थिए। उनीहरुलाई आज उद्घाटन कार्यक्रममा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन। वडाकार्यालय आफ्नै भवनमा सरेपछि वडा बासी खुसी भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण