सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गण्डकीमा बढ्यो गाडी भाडा, कति पुग्यो ?

बुधबार, २३ वैशाख २०८३, १४ : ०४
बुधबार, २३ वैशाख २०८३

सारांश

  • गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ढुवानीका साधनको भाडा बढाएको छ ।
  • मन्त्रीस्तरीय निर्णयपछि पोखरा उपत्यकामा चल्ने नगर बस, लामो दूरीका बस, ट्याक्सी र मालवाहक ट्रकको भाडा बढेको छ ।
  • विद्युतीय गाडीको भाडा भने बढाइएको छैन ।

पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ढुवानीका साधनको भाडा बढाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आज (बुधबार)देखि लागू हुने गरी भाडा समायोजन गरेको हो । 

यसअघि २०७८ फागुन १ गते नयाँ भाडादर लागू भएको थियो । त्यसयता पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि भए पनि भाडा समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले आलोचना गरेका थिए ।

 मन्त्रीस्तरीय निर्णयपछि पोखरा उपत्यकामा चल्ने नगर बस, लामो दूरीका बस, ट्याक्सी र मालवाहक ट्रकको भाडा बढेको छ ।

बजारको महँगी र इन्धनको मूल्यवृद्धिलाई मध्यनजर गर्दै वैज्ञानिक आधारमा भाडा समायोजन गरिएको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द नेपालीले बताएका छन् । 

‘लामो समयदेखि भाडादर समायोजन नहुँदा यातायात व्यवसायी र यात्रुबीच बेलाबेला विवाद आउने गरेको थियो,’ उनले भने, ‘अहिले हामीले इन्धनको मूल्य र वैज्ञानिक भाडा समायोजनको मापदण्डलाई टेकेर नयाँ दर तोकेका छौं ।’ विद्युतीय गाडीको भाडा भने बढाइएको छैन ।
कहाँ कति बढ्यो ?

नगर बसमा ३ किलोमिटरसम्मको न्यूनतम भाडा २० बाट बढाएर २४ पुर्याइएको छ । ३ किलोमिटरभन्दा माथिको दूरीमा प्रति किलोमिटर ३ रुपैयाँ तोकिएको छ । पेट्रोलबाट चल्ने ट्याक्सीको सुरुवाती शुल्क ८० नै कायम गरिएको छ । 

दिउँसोमा चल्ने ट्याक्सीले प्रति २०० मिटरको भाडा १० बाट बढाएर ११ कायम गरिएको छ भने १५ किमीभन्दा माथि गुड्दा प्रति किलोमिटर ४३ रुपैयाँ लाग्नेछ । रातीको समयमा सुरवाती शुल्क ८० नै कायम छ भने पल्स दर प्रति २ सय मिटरमा १७ रुपैयाँ तोकिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीलाई पनि छुट्टै भाडादर तोकिएको छ । एयरपोर्टबाट चल्ने ट्याक्सीको सुरुवाती शुल्क ८० र प्रति २ सय मिटरको पल्स दर १२ रुपैयाँ तोकिएको छ । रात्रिकालीन सेवामा भने नियमित ट्याक्सी सरह नै प्रति २ सय मिटर १७ रुपैयाँ लाग्नेछ ।

लामो दुरीको यात्रुवाहक बसलाई प्रति किलोमिटर ३.९ बाट बढाएर ४ रुपैयाँ लिन पाउने गरी दर कायम गरिएको छ । जिपले प्रति किलोमिटर ७ रुपैयाँ लिन पाउनेछन् । यसअघि यो शुल्क ५.५ रुपैयाँ थियो । सामान ढुवानी गर्ने ट्रकको भाडा प्रति किलोमिटर प्रति टन ११.७२ बाट बढाएर १५ कायम गरिएको छ ।

मन्त्रालयका अनुसार प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक विद्युतीय सवारीसाधनको हकमा भने २०७८ फागुन १ गतेकै भाडादर लागू हुनेछ ।

 विद्युतीय सवारीलाई प्रोत्साहन गर्न यस्तो नीति लिइएको मन्त्री नेपालीले बताए । त्यसैगरी यात्रुले १५ केजीसम्म सामान निःशुल्क लैजान पाउने र सोभन्दा बढी लिँदा थप १० केजीसम्म सामानको प्रति केजी ५ का दरले शुल्क लाग्ने व्यवस्था गरिएको छ । 

मन्त्रालयले पोखरा उपत्यका र १५ किलोमिटरको दूरीभित्र चल्ने सम्पूर्ण ट्याक्सीहरूलाई अनिवार्य रूपमा मिटर प्रणालीमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप