सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
मनोरञ्जन

फ्लोरमा आधा दर्जन फिल्म, दर्जनभन्दा बढी तयारीमा

बिहीबार, २४ वैशाख २०८३, ०७ : ००
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • नेपाली फिल्म क्षेत्र यतिबेला चलायमान छ, दैनिकजसो फिल्म घोषणा, शुभ–मुहुर्त लगायतका गतिविधि भइरहेका छन् ।
  • काठमाडौँका ऐतिहासिक गल्लीदेखि म्याग्दीका विकट डाँडाकाँडा र तराईका फाँटहरूसम्म फिल्मका काम भइरहेका छन् ।
  • यतिबेला आधा दर्जन फिल्म फ्लोरमा छन् भने करिब दर्जन फिल्म छायाङ्कन तयारीमा छन् ।

काठमाडौँ । नेपाली फिल्म क्षेत्र यतिबेला चलायमान छ । दैनिकजसो फिल्म घोषणा, शुभ–मुहुर्त लगायतका गतिविधि भइरहेका छन् । काठमाडौँका ऐतिहासिक गल्लीदेखि म्याग्दीका विकट डाँडाकाँडा र तराईका फाँटहरूसम्म फिल्मका काम भइरहेका छन् ।

बसन्त निरौला निर्देशित फिल्म ‘पाँच पाण्डव’को छायाङ्कन केही दिन यता ललितपुरको हरिसिद्धीमा नियमित भइरहेको छ । यो फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला ‘पाँच पाण्डव’को रूपमा देखिने छन् । फिल्ममा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायत कलाकार पनि छन् ।

फिल्मको छायाङ्कन अझै १० दिन चल्ने जनाइएको छ । फिल्मको क्लाइमेक्स छायाङ्कन भइरहेको निर्देशक निरौलाले बताए । कालीरानी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको गत चैत २ गते नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टाबाट छायाङ्कन थालिएको थियो । फिल्मका लेखक सुशील पौडेल हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता काली रानी श्रेष्ठ हुन् ।

5-pandav

‘पाँच पाण्डव’मात्र होइन, ‘सारथी’, ‘जूबा’, ‘मुक्तिपुर’ लगायतका आधा दर्जन फिल्म यतिबेला फ्लोरमा छन् । यीमध्ये धेरै भर्खर छायाङ्कनमा निस्किएका हुन् भने केही छायाङ्कनको अन्तिम चरणमा छन् ।

कुमार गजुरेलको निर्देशन रहेको फिल्म ‘सारथी’ यतिबेला म्याग्दीको बिभिन्न रमणीय स्थानमा छायाङ्कन भइरहेको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा भव्य मुहूर्त गर्दै वैशाख ९ गतेदेखि यो फिल्म छायाङ्कन सुरु भएको हो । छायाङ्कन जारी रहेको निर्माता तारा थापा ‘किम्भे’ले बताए ।

sarathi_E7O48XaiU0

वरिष्ठ सम्पादक समेत रहेका ‘किम्भे’को यो फिल्म किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मसको सहकार्यमा निर्माण हुन लागेको हो । फिल्ममा उत्तम प्रधान, निरुता सिंहको जोडी रहनेछ । करिब दुई दशकपछि पुनः एकसाथ यो जोडी पर्दामा देखिन लागेको हो । फिल्ममा उत्तम र निरुताको अलवा मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

प्रकाश कर्णको निर्देशक रहेको फिल्म ‘जूबा’को पनि यतिबेला सर्लाहीका विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । काठमाडौंमा शुभमुर्हुत गर्दै छायाङ्कनमा निस्किएको केही दिन सर्लाहीमा खिचेपछि भारतको राजस्थान छायाङ्कन हुने निर्माण पक्षले जनाएको छ । ७५ दिनको छायाङ्कन सेड्युलसहित फ्लोरमा निस्किएको फिल्मको मुख्य भूमिकामा सौगात मल्ल देखिनेछन् । फिल्मबाट अभिनेत्रीको रुपमा सोफी धरेलले डेब्यु गर्दैछन् ।

juwa_qMFmLR843p

फिल्म ‘मुक्तिपुर’ पनि अहिले फ्लोरमा छ । नेपालगञ्जमा छायाङ्कन भइरहेको फिल्मको निर्देशक सुनिल पाण्डे हुन् । साहिबा फिल्मस् प्रोडक्सन र एभरेष्ट फिल्म एकेडेमीले मिलेर निर्माण गरिरहेको फिल्मका निर्माता विजय राजवंशी र रोशन पासवान छन् । क्राइम जनरामा बन्ने फिल्मले बदलाको कथा पेस गर्नेछ । फिल्ममा नाजिर हुसेन, गौरव पहारी, प्रकाश शाह, एवनराज उप्रेती, आकृति बुढाथोकी अभिनयरत छन् ।

najir_husein

फिल्म ‘छ माया छपक्कै २’को छायाङ्कन बुधबारबाट सुरु हुँदैन । सोमबार (बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा मुहूर्त गरेको फिल्मको छायाङ्कन सुरु भैसक्नुपर्ने थियो । मौसमको कारण फिल्म सुटिङमा जान ढिलाई भएको निर्देशक दीपेन्द्र लामाले बताए ।

680708286_27177365798523383_358439952349157210_n-(1)_N7bv3F5rNj

नेपालको फिल्म निर्माणमा सबैभन्दा सफल मानिएको दीपक–दीपा समूहको निर्माण रहने फिल्ममा दिपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराईको अभिनय रहनेछ । दीपक–दीपा समूहको कम्पनी आमा सरस्वती मूभिजसँगको सहकार्यमा ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले यस फिल्मको निर्माण गर्दैछन् । यी दुवैको सहकार्यमा यसअघि सन् २०१९ मा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ बनेको थियो ।

काठमाडौँबाट छायाङ्कन सुरु हुने फिल्म नुवाकोट र पोखरा पन खिचिनेछ । फिल्म रिलिज भने आगामी दसैँबाट हुने जनाइएको छ ।

छायाङ्कनको तयारीमा पनि धेरै छन् फिल्म

पछिल्लो समय फिल्म निर्माण बढेको छ । आधा दर्जनभन्दा बढी फिल्म फ्लोरमा रहेको यतिबेला करिब दर्जन फिल्म छायाङ्कन तयारीमा छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ पनि छायाङ्कन तयारीमा छ । हिट फिल्म ‘आबाट आमा’को सिक्वेलका रूपमा निर्माण हुन लागेको फिल्मको सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त भएको थियो । विपना थापा, पल शाह, भारतीय फिल्मका प्रख्यात खलनायक प्रदीप रावत, गजित विष्ट र आकाश श्रेष्ठ लगायतको अभिनय फिल्ममा रहनेछ । फिल्म आर्या इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको हो ।

1000018021_HnHSUddAEa

फिल्म ‘तिमी मेरो म तिम्रो’ फ्लोरको तयारीमा छ । घनश्याम लामिछानेको निर्देशन रहने फिल्म केही दिनअघि राजधानीमा एक कार्यक्रमसहित घोषणा गरिएको हो । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा बन्न फिल्ममा भुवन केसी, जितु नेपाल, सन्तोष अधिकारी र नवनायिका प्रतिमा थापाको मुख्य अभिनय रहनेछ । फिल्मले नेपाली दर्शकमाझ हराउँदै गएको शुद्ध प्रेमकथाको भोक मेटाउने निर्देशक लामिछानेले बताए । आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको सहकार्यमा बन्न लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

1000113166_JF3GG0wIjF

त्यस्तै, वर्ष २०८१ को सुरुवातमै ‘बोक्सीको घर’मार्फत ऐतिहासिक सफलता हासिल गरेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ प्रोजेक्ट ‘स्टेसन’को केही दिनअघि शुभमुहूर्त गरेकी छन् । ‘बोक्सीको घर’का निर्देशक सुलक्षण भारतीले निर्देशन गर्ने फिल्म फ्लोरको तयारीमा छ । सोसल ड्रामामा आधारित हुने भनिएको यो फिल्ममा आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

station_7RzL3uD2jr

विनयराज पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘अक्षरा’ केही दिनअघि पनि गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त गरिएको थियो । सुशील सिटौला र न्यान्सी खड्काको मुख्य भूमिका रहने यो फिल्म सामाजिक तथा पारिवारिक कथावस्तुमा बन्न लागेको हो । फिल्म फ्लोरको तयारीमा छ ।

akshara_c8dYOPtvwl

‘महाराजधिराज’ पनि फ्लोरको तयारीमा छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शुभमुहूर्त भएको फिल्ममा पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेतलगायत ८० कलाकारको अभिनय रहनेछ । परिच्छेद सेनको निर्देशन रहने फिल्मको छायाङ्कन २५ गते सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ ।

maharajdhiraj

माथिका त केही उदाहरणमात्र हुन् ‘रत्यौली’, ‘एक्का तीन’लगायत थुप्रै फिल्म छन् । जो निर्माण घोषणासहित फ्लोरको तयारी गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप