स्ट्रेट अफ होर्मुज खुलाउने प्रयासमा किन भ्रम छरिरहेछ ट्रम्प प्रशासन ?
वाशिङ्टन डीसी । डोनाल्ड ट्रम्प प्रशासनले इरानसँगको युद्धबारे पछिल्ला २४ घण्टामा बारम्बार फरक–फरक सन्देश दिँदा स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने अमेरिकी रणनीतिबारे अन्योल बढेको छ ।
मंगलबार बिहान अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजबाट जहाज आवतजावत गराउन सुरक्षा दिइरहेको बताएका थिए । उनले यो केवल रक्षात्मक अभियान भएको र युद्धविराम कायम रहेको दाबी गरे ।
यद्यपि इरानले अमेरिकी सैन्य अड्डामाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो, जसको जवाफमा अमेरिकी सेनाले इरानका साना आक्रमणकारी डुंगाहरू डुबाएको बताए ।
त्यसै दिन दिउँसो अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी सैन्य अभियान समाप्त भएको र अमेरिका आफ्नो उद्देश्यमा सफल भएको बताए । तर लगत्तै राष्ट्रपति ट्रम्पले अझै पनि शान्तिको मार्ग खोजिरहेको र त्यसका लागि इरानले हर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्झौतामा सहमत हुनुपर्ने उनले बताए ।
मंगलबार साँझ ट्रम्पले जहाज सुरक्षा अभियान अस्थायी रूपमा रोकिएको घोषणा गर्दै वार्ताको सम्भावना परीक्षण गरिने बताए । तर बुधबार बिहानै उनले फेरि इरानले अमेरिकी सर्त नमाने पुनः बमबारी सुरु हुन सक्ने चेतावनी दिए ।
ट्रम्प प्रशासनको लगातार बदलिएको र कहिलेकाहीँ परस्पर विरोधी सन्देशका कारण अमेरिकी रणनीति स्पष्ट हुन सकेको छैन । स्ट्रेट अफ होर्मुज विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख समुद्री मार्ग हो । यहाँ अवरोधका कारण विश्व बजारमा इन्धन मूल्य बढिरहेको छ र अमेरिकी रिपब्लिकन पार्टीमाथि आगामी मध्यावधि निर्वाचनअघि आर्थिक दबाब बढ्दै गएको छ । ट्रम्प प्रशासनको सन्देश कमजोर हुनुको कारण युद्धको अपर्याप्त तयारी भएको वाशिंगटन इन्स्टिच्युट फर नियर इस्ट पोलिसीकी वरिष्ठ फेलो एलिजाबेथ डेन्ट भन्छिन् ।
उनका अनुसार युद्ध अत्यन्त छिटो सुरु भएकाले अमेरिकी जनतालाई स्वीकार्य हुनेगरी यसको औचित्य प्रस्तुत गर्न सकिएको थिएन । 'अब ट्रम्प फेरि युद्ध चर्किन नदिन सक्दो प्रयास गरिरहेका छन्, किनकि उनले यो युद्ध लोकप्रिय नभएको महसुस गरेका छन्,' उनले भनिन् ।
विश्लेषकहरूका अनुसार ट्रम्पले युद्धविरामको अर्थ, विजयको परिभाषा तथा सैन्य कारबाहीसम्बन्धी कानुनी अधिकारबारे पनि पटक–पटक फरक धारणा प्रस्तुत गरेका छन् । ट्रम्पका आकस्मिक अभिव्यक्तिलाई पछि उनका सहयोगीहरूले स्पष्ट पार्ने प्रयास गर्नुपरेको अवस्था रहेको बताइएको छ ।
ट्रम्प प्रशासन कुनै स्पष्ट नीति प्रक्रियाभन्दा पनि आवेगमा चलिरहेको देखिएको इन्टरनेसनल क्राइसिस ग्रुप इरान निर्देशक अली भाएज बताउँछन् । राष्ट्रपति अहिले यो युद्धबाट थाकेको जस्तो देखिएको अनि आफ्नो राजनीतिक पुँजी थप खर्च गर्न अनिच्छुक रहेको उनले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण