शिवपुरीमा ढुंगाले हिर्काएर सरिता तिवारीको हत्या गरेका आरोपितको बयान– मरेको यकिन भएपछि खाल्डो खनेर पुरेँ
सारांश
- तारकेश्वर नगरपालिका वडा नम्बर–३ की ४५ वर्षीया सरिता तिवारी वैशाख ११ गते घरबाट हराएपछि प्रहरीले अनिल डंगोललाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्यो ।
- नियन्त्रणमा लिएका ३५ वर्षीय अनिल डंगोलले सरितालाई शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा ढुंगाले हिर्काएर हत्या गरेको र खाल्डो खनेर पुरेको बयान दिएका छन् ।
- मृतक सरिता पूर्वनिर्वाचन प्रहरी हुन् र आरोपित डंगोलसँग उनीहरूको प्रेम सम्बन्ध रहेको र खटपट भएपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
काठमाडौ । तारकेश्वर नगरपालिका वडा नम्बर–३ स्थित जितपुरफेदी घर भएकी सरिता तिवारी वैशाख ११ गते घरबाट हराइन् । ४५ वर्षीय तिवारी दिउँसो १ बजेतिर घरबाट निस्केकी थिइन् ।
साँझसम्म पनि घरमा नफर्केपछि परिवारले प्रहरी वृत्त बालाजुमा उनको ‘खोजतलास’ गरिपाउँ भन्दै निवेदन दिए।
बालाजु क्षेत्रको सीसीटीभी फुटेज र मोबाइलको विवरण हेर्दा सरिता र अनिल डंगोलको बिचमा सम्पर्क देखिएको थियो । दुवै जना शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ गएको प्राविधिक रूपमा पुष्टि भएपछि प्रहरीले ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।
टोखा नगरपालिका–२ बस्दै आएका डंगोलले सो क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएका थिए । उनी घरजग्गाको काम पनि गर्छन् ।
पक्राउ गरेपछि अनुसन्धान अधिकृतहरूसँग उनले सरितालाई जङ्गलमा लगेर हत्या गरेको बयान दिए । त्यसपछि डंगोलले नै देखाएको ठाउँमा गएर उत्खनन गर्दा सरिताको शव भेटिएको हो ।
सरिता र डंगोलको परिवार पूर्वपरिचित हुन् । तिवारीलाई उनले ‘भाउजु’ सम्बोधन गर्ने गरेको स्थानीय बताउँछन् । आरोपितले सुरुमा प्रहरीलाई लेनदेनको कारण फोन सम्पर्क भएको जिकिर गरेका थिए ।
वैशाख ११ गते टोखा नगरपालिका–१ मा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जको फेदीमा लगेर सरितालाई ढुंगाले हिर्काएर हत्या गरेको डंगोलले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रारम्भिक बयानमा डंगोलले भनेका छन्, ‘ढुङ्गाले टाउकोमा हिर्काएँ, मृत्यु भएको यकिन भएपछि खाल्डो खनेर पुरेँ ।’
डंगोल एक्लैले खाल्डो खनेर शवको व्यवस्थापन कसरी गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । ज्यान सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर डंगोलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘पोष्टमार्टम रिपोर्ट आएको छैन, हामी पोष्टमार्टम रिपोर्ट कुरिरहेका छौँ ।’
डंगोललाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ । शव उत्खनन गरिएको ठाउँ महाराजगञ्जको ईलाकामा पर्ने हुनाले घटनाको अनुसन्धान महाराजगञ्ज वृत्तले गरेको हो ।
मृतक र आरोपितको बिचमा पारिवारिक चिनजान थियो । उनीहरू प्रेम सम्बन्धमा रहेको र सम्बन्धमा खटपट भएपछि हत्या गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
मृतक सरिता पूर्वनिर्वाचन प्रहरी हुन् । २०८२ फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनले निर्वाचन प्रहरी भएर काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण