सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

पोखरा विमानस्थल सञ्चालनका लागि कूटनीतिक पहल गर्न सांसद गुरुङको माग

बिहीबार, २४ वैशाख २०८३, १६ : ४५
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • सांसद विना गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन कूटनीतिक पहल गर्न माग गरेकी छन्।
  • उनले छिमेकी मुलुक भारत र चीनबाट पर्यटक भित्र्याउन विमानस्थलको सहज सञ्चालन अपरिहार्य रहेको बताइन्।
  • उनले पोखराका तालतलैयाको व्यवस्थापन र सञ्चार सेवाको समस्या समाधानमा पनि सरकारको ध्यानाकर्षण गराइन्।

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विना गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरेकी छन्। 

बिहीबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद गुरुङले अर्बौँको लगानीमा बनेको विमानस्थल चलायमान हुन नसक्नु दुखद भएको बताउँदै यसका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेकी हुन्।

सांसद गुरुङले नेपालको पर्यटन विकासमा छिमेकी मुलुक भारत र चीनको भूमिका निर्णायक हुने उल्लेख गरिन्। दुवै देशको विशाल जनसङ्ख्यालाई लक्षित गर्दै नेपालमा पर्यटक भित्र्याउन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सहज सञ्चालन अपरिहार्य रहेको उनको तर्क छ। ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल त छ, तर यसलाई चलायमान बनाउन सकिएको छैन,’ उनले भनिन्, ‘चीन र भारतबाट ठुलो मात्रामा पर्यटक भित्र्याउन सकिने सम्भावनालाई मध्यनजर गर्दै सरकारले कूटनीतिक पहलका साथ यी विमानस्थल सञ्चालनको विशेष व्यवस्था गरोस् भन्ने मेरो माग छ।’

पर्यटकीय नगरी पोखराको चर्चा गर्दै सांसद गुरुङले त्यहाँका तालतलैयाहरूको उचित व्यवस्थापन र संरक्षणमा पनि सरकारको ध्यान जानुपर्नेमा जोड दिइन्। उनले पोखरालाई पर्यटनको हब बनाउन पूर्वाधार विकास र प्राकृतिक सम्पदाको जगेर्ना दुवैलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन्।

यसका साथै, सांसद गुरुङले पछिल्लो समय टेलिफोन र इन्टरनेटको नेटवर्किङमा देखिएको समस्याले नागरिक र पर्यटक दुवैलाई सास्ती भइरहेको भन्दै त्यसको तत्काल समाधानका लागि सरकारलाई सचेत गराएकी छन्। प्राविधिक समस्याका कारण सञ्चार सेवा अवरुद्ध हुँदा दैनिक जनजीवन र पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै उनले गुणस्तरीय सेवा सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप