नेपाली कांग्रेसका नेताहरू पुस अन्तिम साता भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि बढेको विवाद बुधबारदेखि समाधानतर्फ मोडिएको बताउन थालेका छन् । विशेष महाधिवेशन नस्विकारेका शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहका शीर्ष नेतालाई सभापति गगन थापाले उनीहरूकै निवास र सचिवालयमा पुगेर भेटेपछि विवाद समाधानतर्फ लागेको नेताहरू बताउँछन् ।
विशेष महाधिवेशनको विरोध गरेको देउवा समूहका नेता डा. प्रकाश शरण महतलाई हामीले ‘पार्टीभित्रको राजनीतिक विवाद समाधानतर्फ अगाडि बढेको हो ?’ भनेर प्रश्न गरेका छौँ । उनीसँग विवाद समाधानका लागि संस्थापन पक्षले के के गर्नुपर्छ भनेर पनि हामीले सोध्यौँ ।
प्रस्तुत छ, डा. महतसँग गरिएको कुराकानीः
नेपाली कांग्रेस एकताबद्ध भएर, अझ मजबुत भएर जानुपर्छ भन्ने पक्षमा हामी छौँ । विशेष महाधिवेशन सबैको सहभागितामा भएको होइन । विशेष महाधिवेशन हुँदा ठुलो संख्या, बहुमत संख्या बाहिर थियो । हाम्रो भनाइ नियमित महाधिवेशनबाटै टुङ्ग्याउनुपर्छ, निर्वाचनपछि गरौँ भन्ने थियो । त्यसका बाबजुद केही साथीहरूले विशेष महाधिवेशन अगाडि बढाउनुभयो । निर्वाचन आयोगदेखि लिएर सर्वोच्च अदालतले समेत त्यसैलाई कायम गर्यो । त्योचाहिँ यथार्थ आधारमा भएन भन्ने हाम्रो भनाइ रहँदै आएको हो ।
तथापि सर्वोच्च अदालतले पनि फैसला गरिसकेपछि कानुनी रूपमा त अब त्यसमा कुनै विरोध रहेन, तर राजनीतिक रूपमा त पार्टीलाई कसरी मजबुत गर्ने भन्ने विषय विद्यमान नै छ । पार्टीभित्र अझै मनोवैज्ञानिक र अरु हिसाबले पनि दुरी र मतभिन्नता छ भन्ने कुराको समाधान हुनुपर्छ ।
त्यो विषय समाधान गर्न १५औँ महाधिवेशन निष्पक्ष र सम्मानजनक सहभागिता, सबैको स्वामित्वसहित भयो भनेमात्रै पार्टी एकताबद्ध र मजबुत भएर जान्छ भन्ने हाम्रो भनाइ हो । हिजो विश्वेश्वरप्रसाद कोइरालाले नेतृत्व गर्दासमेत सबै नेताहरूलाई मिलाएर जानुहुन्थ्यो भने अहिले त बहुमत संख्या विशेष महाधिवेशनमा सहभागी नभएको अवस्थामा पार्टीलाई एकताबद्ध बनाउन त १५औँ महाधिवेशन निष्पक्ष र सबैको सम्मान र स्वामित्वसहित हुनुपर्ने यथार्थ कसैबाट छुटेको छैन ।
कानुनी रूपमा गगनजी (गगन थापा) सभापति हुनुभएको छ, मान्यता प्राप्त गर्नुभएको छ । त्यो पक्षले मात्रै पार्टीलाई एकताबद्ध गराउँदैन । तसर्थ १५औँ महाधिवेशन विश्वसनीय बनाउन एउटा सहमतिको संयन्त्र बनाउँ, जसले सबैको प्रतिनिधित्व हुने गरेर अधिवेशन सम्पन्न गर्ने काम गरोस् भनेर हामी भनिरहेका छौँ । क्रियाशील सदस्यता पहिला पार्टी एकै भएको बेला गगनजीहरू समेत सहभागी भएर निर्णय भएको र गगनजीकै नेतृत्वमा टुङ्गिएको हो । नवीकरण टुङ्गिएकोलाई भौतिक रूपमा पालिका–पालिका, वडामा उपस्थितिको कुरा अहिलेको प्रतिकूल अवस्थामा व्यावहारिक नहुने र आवश्यक नरहेको अवस्थामा अधिवेशन सम्पन्न गर्ने एउटा संयन्त्र बन्नुपर्छ भन्ने हाम्रो भनाइ हो । त्यसरी अधिवेशन भएर निर्वाचित नेतृत्वलाई सबैले स्वामित्व दिन्छन् भन्ने हाम्रो भनाइ हो ।
भेटवार्ताबारे विस्तृत त मलाई थाहा छैन । पूर्णजीले फोन गरेर केही कुरा बताउनुभएको थियो । उहाँले अब यी कुराहरू मिलाउन साथीहरूलाई एक बनाएर लानुपर्छ भन्ने जुन हाम्रो आपसमा सल्लाह भएको थियो, त्यही अनुसार कुरा राखेँ भन्नुभएको थियो । उहाँहरूले पनि कसरी मिलाउने, के गर्ने ? अब सम्झाइ–बुझाइ गर्छु भन्ने कुराहरू गर्नुभयो । तर ठोस कुरा अझै केही आएको छैन ।
समय धेरै नभएकाले समयमै टुङ्गो लाग्नैपर्छ । होइन भने पार्टीलाई अप्ठ्यारो आउँछ र पार्टीले नेतृत्वदायी भूमिका खेल्न झन् थप चुनौतीपूर्ण अवस्था आउँछ । त्यसले पार्टी थप कमजोर बन्छ भनेको छु भन्ने कुरा उहाँले गर्नुभएको हो ।
कार्यालय जलेर सदस्यतालाई केही भएको छैन । जिल्ला–जिल्लामा रेकर्ड छ । कहाँ जलेको छ, कहाँ जलेको छैन भन्ने विषय देखाउन सक्नेगरी नै छ । त्यसैले त्यो कुनै समस्याको कुरा छैन र त्यसको आवश्यकता पनि छैन । रेकर्डहरू सबै जिल्ला–जिल्लामा होला, जिल्लामा नभए क्षेत्रमा छ । त्यसैले त्यसलाई कतै छुटेको छ अथवा त्यो रेकर्ड त्यहाँ नभएको छ भने फेरि पठाउन भनेको भए हुन्थ्यो । अहिले प्रतिकूल अवस्थामा सबै उपस्थित होऊ भनेर उपस्थित हुन सक्ने अवस्था छैन । त्यसैले साथीहरूले यो कुरालाई व्यावहारिक पनि ठानेका छैनन् । जसले पार्टी छोड्या छन् या पार्टीलाई सहयोग गर्या छैनन्, यो स्थानीय तहका साथीहरूलाई थाहा हुन्छ । उनीहरूलाई स्थानीय तहबाटै हटाउन सकिहाल्थ्यो । त्यसकारण अहिले फेरि नवीकरण भइसकेको कुरालाई थप परीक्षण गर्नुपर्ने आवश्यकता छैन ।
विशेष अधिवेशन अस्थायी व्यवस्था हो । त्यसकारण अहिले जति पनि भागबन्डा, संरक्षण गर्नेदेखि लिएर अनेकौँ निर्णय भइराख्या छन्– राष्ट्रिय सभाका सिनियर नेता कृष्ण सिटौलाजीलाई हटाउने काम भयो । यसले पार्टीलाई एकताबद्ध गरेर राख्ने कुरामा झन् थप जटिलता थप्या छ, यसो गर्नु हुँदैन । हामी सबै पार्टी बलियो बनाउन चाहन्छौँ । संस्था बलियो भयो भने, पार्टी बलियो भयो भने हामी सबै बलियो हुने हो । पार्टीलाई कमजोर गरेर कोही व्यक्ति बलियो भएर कुनै परिणाम निस्किँदैन । यो यथार्थ हो र अहिले झन् हामी सत्ताबाट बाहिरिएको अवस्थामा पार्टी अझ मजबुत र परिपक्व बनाउन आवश्यक छ ।
कांग्रेस लामो इतिहास भएको पार्टी भएकाले सशक्त प्रतिपक्ष भएर काम गर्न मजबुत र एकताबद्ध पार्टीले मात्रै गर्न सक्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ । सबैको सहभागितामा १५औँ महाधिवेशन भएपछि नयाँ डिरेक्सन दिने, एजेन्डाहरूलाई अगाडि सारेर लैजाने, सरकारले गरेका कमी–कमजोरी वा राम्रा–नराम्रा कुराहरूको यथार्थ मूल्याङ्कन र समीक्षाका आधारमा अगाडि बढाउने, लोकतन्त्रलाई कमजोर गराउने कुनै पनि प्रवृत्तिको विरोध गर्ने, देशलाई कमजोर गर्ने प्रवृत्तिको विरोध गर्ने काममा हाम्रो भूमिका सशक्त हुन सक्छ । होइन भने झन् शिथिल बन्न सक्छ ।
विरोधका लागि विरोध गर्ने हाम्रो मनसाय छैन, नियत छैन । देशैभरिका आम कार्यकर्ताहरू, देशैभरिको हाम्रो पार्टी संरचनामा सबैले अहिले ल्याइएको योजना व्यावहारिक होइन, यसले झन् पार्टी तोड्ने अवस्था बन्छ भनिरहेका छन् । अहिले भौतिक रूपमा धेरै ठाउँमा कोही आउँदैनन्, बाहिर छन् । उनीहरू अध्यावधिकका लागि किन आउने भन्ने कुरा अब आउँछ । त्यसले झन् पार्टी सीमित हुन जान्छ भन्ने साथीहरूको भनाइ छ ।
अहिले कानुनी रूपमा गगनजीलाई मान्यता दिइएको छ, त्यो हामीले स्विकार्यौं । त्यसलाई चित्त बुझे पनि, नबुझे पनि सम्बन्धित ठाउँबाट निर्णय यथार्थको आधारमा आए पनि, नआए पनि हामी कानुनी शासनको वकालत गर्ने पार्टीका सिपाहीले जिम्मेवारी दिइएको निकायले निर्णय गरिसकेपछि त्यसलाई स्विकार्छौं । तर राजनीतिक रूपमा पार्टीभित्र रहेको समस्याको त समाधान हुनुपर्छ । समाधान गर्न १५औँ महाधिवेशन निष्पक्ष, सम्मानजनक र स्वामित्वसहित हुने अवस्था सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । त्यसका लागि एउटा सहमतिको संयन्त्रले अधिवेशन सम्पन्न गर्ने, निर्वाचन प्रक्रिया अगाडि बढाउने, सक्रिय सदस्यताको टुङ्गो लगाउने काम गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
यस्तो भयो भने जो कोही आए पनि सहर्ष रूपमा, सहज रूपमा सबैले स्वीकार गर्छन् र त्यस्तो नेतृत्वले सञ्चालन गर्ने पार्टी मजबुत हुन्छ । यो विषयमा आधिकारिकता पाएकाले यसको पहल र सकारात्मक सङ्केत छोटो समयमै टुङ्गो लगाउने पहल गगनजीले गर्नुपर्छ ।
प्रतिक्रिया