नेपाली संगीतले विश्व बजारमा ठाउँ बनाउँदैछ
सारांश
- विश्व संगीत दिवसको अवसरमा संगीतकार राजु सिंहले संगीतलाई विश्वव्यापी भाषाको संज्ञा दिएका छन् ।
- उनले नेपाली संगीतले विश्व बजारमा आफ्नो स्थान बनाउँदै गरेको र यसलाई शैक्षिक रूपमा अझै बलियो बनाउनुपर्ने बताएका छन् ।
- सिंहले नयाँ पुस्ताका कलाकारलाई संगीतलाई साधना र शिक्षाको माध्यम मानेर मौलिक पहिचान बनाउन सुझाव दिएका छन् ।
आज, विश्व संगीत दिवस । हरेक वर्ष जुन २१ तारिखका दिन विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ । सन् १९८१ देखि फ्रान्सबाट सुरु भएको यो दिवस नेपालमा भने २०४५ सालदेखि मनाउन थालिएको हो । सबैले आआफ्नो तवरले बुझ्ने र प्रस्तुत गर्ने संगीत एउटा विश्वव्यापी भाषा मानिन्छ ।
पछिल्लो समय संसारका १०० बढी देशमा सङ्गीत दिवस बनाउने चलन छ । आज परेको संगीतिक दिवसको अवसर पारेर नेपाली संगीतिक क्षेत्रका दिग्गज संगीतकार राजु सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश ।
आज विश्व संगीत दिवस । यो विशेष दिनलाई तपाईं कसरी मनाउँदै हुनुहुन्छ ?
– सर्वप्रथम विश्व संगीत दिवसको अवसरमा सम्पूर्ण स्रोता, दर्शक र मिडियाका साथीहरूलाई शुभकामना । आजभोलि संगीत दिवसमा ‘योग’ पनि जोडिएको छ, जुन एकदमै राम्रो पक्ष हो । संगीत र योग दुवै एउटा ध्यान वा मेडिटेसनको रूप हुन् । पहिला–पहिला यस दिनमा ठूला–ठूला सांगीतिक कार्यक्रमहरू हुन्थे, अहिले केही सीमित भएको जस्तो लागे पनि केही स्थानमा सांगीतिक कार्यक्रम र ट्रिब्युट प्रोग्रामहरू भइरहेका छन् । म पनि केही सांगीतिक प्रस्तुति र कार्यक्रमहरूमा सरिक हुँदै यो दिवस मनाउँदैछु ।
तपाईंको नजरमा संगीत भनेको के हो ?
– मेरो बुझाइमा संगीत एउटा विश्वव्यापी भाषा हो । संगीतसँग हाम्रो जीवन र स्वास्थ्य प्रत्यक्ष जोडिएको हुन्छ । सामान्य मानिसले समेत संगीतको आवश्यकता महसुस गर्छ । यदि कसैले बेसुरा वा बेतालको कुरा गर्यो भने हामीले ‘बेसुरा बोलेको’ भन्छौँ, यसबाटै बुझिन्छ कि हाम्रो जीवन ताल र सुरमा चलेको हुन्छ । मानिसको शारीरिक स्वास्थ्य, प्रेसर वा पल्स रेटमा पनि संगीतको प्रभाव पर्छ । सात सुर र सातवटा इन्द्रियहरूसँग संगीतको गहिरो नाता छ । प्रकृतिको आवाज, चराचुरुंगीको चिरबिर र खोलानालाको कलकलमा पनि संगीत हुन्छ, त्यसैले संगीतलाई म एउटा अभिन्न जीवन मान्छु ।
अहिलेको सांगीतिक अवस्था कस्तो छ ?
– अहिले संगीत क्षेत्र धेरै व्यावसायिक भएको छ । हामी नेपाली कलाकारले विश्वको ठूला–ठूला स्टेजहरूमा प्रस्तुति दिइसकेका छौ । हाम्रा कलाकारहरूले अन्तर्राष्ट्रिय स्तरको पहिचान बनाइरहनु भएको छ । तर, यो सँगसँगै चुनौती पनि थपिएको छ। पहिलाको तुलनामा अहिले धेरै जनराका म्युजिकहरू सिर्जना भइरहेका छन् । नेपाली संगीत अब विश्व बजारमा आफ्नो ठाउँ बनाउँदैछ । यद्यपि, हामीले अझै पनि संगीतलाई एकेडेमिक (शैक्षिक) रूपमा बलियो बनाउन धेरै मिहिनेत गर्न बाँकी छ ।
नेपाली समाज र संगीतबिच कस्तो सम्बन्ध देख्नुहुन्छ ?
–संगीतले सधैं समाजको प्रतिनिधित्व गर्छ । आजकालका गीतहरूमा केवल मनोरञ्जन मात्र नभई सामाजिक चेतना, राष्ट्रियता, र समसामयिक विषयहरू समेटिएका छन् । एउटा लामो भाषण वा लेखले भन्दा २ मिनेटको संगीतले मानिसको मनमा छिटो प्रभाव पार्छ। त्यसैले अहिले संगीत चेतना फैलाउने माध्यम पनि बनेको छ । राम्रो आम्दानी पनि दिन थालेको छ ।
सांगीतिक क्षेत्रमा चोरी (कपी)को समस्या कस्तो छ र एआईको आगमनले कस्तो प्रभाव पारेको छ ?
– संगीतमा चोरीको समस्या एउटा विश्वव्यापी चुनौती हो । तर, अहिले प्रविधिले गर्दा कुन गीत कहाँबाट चोरी भयो भन्ने कुरा सजिलै थाहा हुन्छ । वास्तविक श्रोताहरूले पनि यसलाई पहिचान गर्न थालिसक्नुभएको छ। जो अरूको गीत चोरी गरेर बाँच्न खोज्छन्, उनीहरूको सांगीतिक आयु लामो हुँदैन। जहाँसम्म एआईको कुरा छ, यसले छिटो काम गर्न सक्ला, तर मानिसको साधना, भावना र सिर्जनशीलताको ठाउँ मेसिनले लिन सक्दैन। त्यसैले साँचो श्रष्टाले आत्तिनु पर्दैन ।
तपाईंको सांगीतिक यात्राको सुरुवातका ती क्षणहरू कस्ता थिए ?
– मेरो यात्रा एकदमै विशेष छ। म घरमै सांगीतिक वातावरणमा हुर्किएँ । मेरा बुबा प्रतिष्ठित वाद्यवादक हुनुहुन्थ्यो, त्यसैले मलाई सानैदेखि संगीत बुझ्ने मौका मिल्यो । मेरो पहिलो गीत रेकर्डिङ गर्दा मलाई एकदमै डर र खुसी दुवै थियो । २०४७ सालको कुरा हो, पहिलो गीत रेडियो नेपालमा रेकर्ड गरेपछि त्यो गीत बज्ने दिन म रातभरि नसुती रेडियो कुरेर बसेको थिएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा लामो र रमाइलो दिन थियो ।
नयाँ पुस्ताका कलाकारहरूलाई तपाईंको के सुझाव छ ?
– म नयाँ पुस्तालाई के भन्छु भने संगीतमा आउनुस्, तर ‘पढेर’ र ‘साधना गरेर’ आउनुस् । संगीतलाई मनोरञ्जनको साधन मात्र नमान्नुस् । नेपाली संगीतको एउटा गौरवपूर्ण इतिहास र मापदण्ड छ, त्यसलाई सम्मान गर्दै आफ्नो मौलिक पहिचान बनाएर अघि बढ्नुस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
-
बागमती नदीमा फसेका १४ जनाको सशस्त्र प्रहरीले गर्याे उद्धार
-
प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ
-
संस्कृति संरक्षणमा दरै समुदाय
-
रास्वपा महाधिवेशनमा रोचक दृश्यः रवि–बालेनको डमीदेखि मोही माग्नेको हारालुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण