डा. मुकेश कुमार चालिसे नेपालमा बाँदरबारे विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुन् । उनी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभाग (सेन्टल डिपार्टमेन्ट अफ जुलोजी)का प्राध्यापक तथा नेपालका प्रमुख प्राइमेटोलोजिस्ट (बाँदर विज्ञ) हुन् ।
उनले नेपालमा पाइने बाँदर प्रजाति, तिनको आनीबानी, पारिस्थितिकीय अवस्था र मानव–बाँदर द्वन्द्वका विषयमा गहन अध्ययन गरेका छन् । उनले सन् १९९८ मा नेपालका पहरे बाँदरबारे पहिलो अनुसन्धान गरेकाले एसियामा पहिलो पटक ‘मार्था जे गालाण्टे फेलो’ जस्ता अनुसन्धानात्मक पुरस्कार पाएका थिए । नेपालमा नास्ट तथा वन मन्त्रालयको सर्वोच्च जीव विज्ञानको पुरस्कारबाट उनलाई (२०७५/०७६) मा सम्मान गरिएको थियो ।
फुलब्राइट स्कलरका रूपमा अमेरिकाको वासिङ्टन नेशनल प्राइमेट रिसर्च सेन्टरमा समेत रहेर काम गरिसकेका चालिसेले नेपालमा वन्यजन्तु संरक्षण र अनुसन्धानका लागि थुप्रै विद्यार्थी र अनुसन्धानकर्तालाई मार्गदर्शन गर्दै आएका छन् । नेपालमा वन्यजन्तु संरक्षण, प्राइमेटोलोजी (बाँदर सम्बन्धी अध्ययन) र विज्ञानको क्षेत्रमा पुर्याएको विशिष्ट योगदान स्वरुप उनले थुप्रै प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् ।
नेपालमा बाँदरजन्य समस्या, यसले निम्त्याएका खतरा र खाद्य सङ्कटलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर बाँदर विज्ञ डा. चालिसेसँग रातोपाटीका लागि नरेन्द्र रौलेले कुराकानी गरेका छन् । प्रस्तुत छ, डा. चालिसेसँग गरिएको कुराकानीको सम्पादित अंश-
जीवनमा केही न केही नयाँ कुरा, धेरै मान्छेलाई फाइदा हुने कुरा कसरी गर्न सकिन्छ भनेर समाजमा हेर्दा मैले भुइँ मान्छेहरूलाई याद गरेँ । पूर्वभन्दा पश्चिम अविकसित भएको हुनाले अनुसन्धानमा पश्चिमलाई बढी ध्यान दिएँ । जनावरमा पनि बाघ, भालु अथवा गैँडा, हात्तीजस्ता जनावरहरूमा धेरै विदेशीहरूले सहयोग गर्ने, पैसा कमाउन सकिने, काठमाडौँमा आफैँले घर बनाउन सकिने खालका सामाजिक परिवेशलाई चिरेँ ।
नेपालमा सबैभन्दा हेलामा परेको जनावरमा बाँदर पर्छ । यद्यपि हामी र बाँदरबिचमा शारीरिक संरचना, आनीबानी, स्वभाव, जीवनचर्या, सामाजिक प्रणाली मिल्छ । त्यसैले प्राकृतिक रूपमा बस्दै आएका बाँदरको बारेमा अध्ययन गरेमा कृत्रिम कुराहरूबाट प्रभावित भइरहेको हाम्रो मानव समाजलाई के कस्तो सहयोग गर्न सकिन्छ अथवा त्यसको ज्ञानले हामीले कसरी मानव समाजलाई उन्नतितिर लैजान सकिन्छ भन्ने हिसाबले मैले त्यो अध्ययन गर्ने विचार गरेँ ।
त्यो अध्ययनमा मैले खानालाई बढी जोड दिएँ । किनभने विश्वभरि खाद्य सङ्कट भइरहेको छ । विश्वका अरु देशहरूले विभिन्न खालका प्राकृतिक पदार्थहरू, वनस्पतिका भाग प्रयोग गरेर खानेकुरा बनाएका छन् ।
विज्ञानमा हामीले पीएचडी गर्ने अथवा डक्टरेट गर्ने भनेको नयाँ कुरा पत्ता लगाउनु हो । त्यो नयाँ कुरा पत्ता लगाउने मान्छे वैज्ञानिक हुन्, तर पीएचडी गरेका सबै वैज्ञानिक नहुन पनि सक्छन् । विज्ञान भनेको खाली रकेट उडाउने मात्रै होइन, घर–गृहस्थीमा भइरहेका कुरा पनि विज्ञान हुन् । हाम्रो समाजमा विज्ञानलाई अलग्गै विषयको रूपमा बुझिएको हुनाले त्यस्ता चिन्तन भएका मान्छेले बाँदरको विषयमा के अध्ययन गर्नु भनेर खिसीटिउरी गर्छन् । हिजो–आज त्यो विषयमा म जानकार भएकाले उनीहरूले मान्छन्, सर–सल्लाह लिन खोज्छन् ।
नेपालमा तीन वटा प्रमुख जातिका बाँदर छन् । एउटा लंगुर बाँदर, जसलाई ढेडु बाँदर पनि भनिन्छ । यसको रौँ सेतो र अनुहार कालो हुन्छ । यो बाँदरमा तीन वटा उपजाति छ । शुक्लाफाँटा, बैतडी, बझाङ र अपिनाम्पा हिमाली शृङ्खलाको छेउमा पाइने लंगुर बाँदरहरू फरक–फरक उपजातिका हुन् । तर उनीहरूको मूल वंश एउटै हो ।
त्यस्तै दुमौलादेखि तल खण्डेश्वरी घुसा, लटिनाथा क्षेत्रमा पाइने बाँदरहरू अर्को खालका छन्, जसलाई हामी कालो बाँदर पनि भन्छौँ । मैले त्यसलाई पहरामा बस्ने हुनाले पहरे बाँदर भन्छु । अंग्रेजी र हिन्दीमा आसामी बाँदर भनिन्थ्यो । त्यो आसामी बाँदर हाम्रो देशमा दुई वटा प्रजाति, दुई वटा उपजाति रहेको अनुसन्धान गरेको छु । हाम्रो सेती, महाकालीतिर पाइने अलि रातो मुख भएका, ती पहरे बाँदर एउटा उपजाति हुन् र पूर्वतिर मकालु–बरुणदेखि तल, हैन बराह क्षेत्रसम्म, इलामतिर पाइने बाँदरहरू अर्को उपजाति हुन् ।
रातो बाँदर हामी मठ, मन्दिर, सबैतिर देख्छौँ । तराईदेखि रारा राष्ट्रिय निकुञ्जसम्म पाइने ती आयातीत बाँदर हुन्, रैथाने होइनन् । उनीहरू खाना कहाँ पाइन्छ भनेर हिँडेका चलाख बाँदर हुन् ।
अहिले बाँदर प्रजातिले दुःख दियो भनिन्छ । धेरैजसो यही रातो जातको बाँदरले दुःख दिएको हो । त्यसपछि पहरे बाँदर, त्यसपछि लंगुर बाँदर आउँछ । यो रातो बाँदरले घाँटीमा खानेकुरा जम्मा गरेर राख्न सक्छ र गाई–वस्तुले जस्तै पछि निकालेर उग्राएको जस्तो गरी खान सक्छ । यो बढी बदमास, श्रीसम्पत्ति, खेतीबारीमा नोक्सान पुर्याउने खालको हुन्छ । यो बाँदर मकैको बारीमा आयो भने एउटैले चार–पाँच वटासम्म घोगा च्यापेर लैजान सक्छ ।
अहिलेसम्म छैन, उनीहरू आफैँ जान्ने छन् । हाम्रा सांसद र मन्त्रीहरू यस्तो अनौठा छन् कि उनीहरूले हवाइजहाज उडाउनेदेखि रकेट उडाउनेसम्मका गफ दिन सक्छन् । चुनावमा उनीहरूले पुल बनाउनेदेखि सिँचाइ, वन–व्यवस्थापनदेखि मान्छे व्यवस्थापनसम्मका गफ दिन्छन् । यहाँको प्रवृत्ति नै त्यस्तै छ । यहाँ कहिल्यै पनि ज्ञानलाई सम्मान गर्ने, विज्ञसँग सर–सल्लाह लिने चलन छैन । त्यसैले मेरो सम्पर्कमा उहाँहरू आउनुहुन्न ।
मैले पञ्चायतकाल, जनमत सङ्ग्रहपछिको पञ्चायतकाल, सुधारिएको पञ्चायत, बहुदलीय व्यवस्था, गणतान्त्रिक व्यवस्था, सङ्घीय व्यवस्था सबै भोगेको छु । सबै व्यवस्थाका वनमन्त्री र प्रधानमन्त्रीहरू सहभागी हुनु भएका विभिन्न कार्यक्रमहरूमा मेरो प्रस्तुति राखेको छु, तर उहाँहरू कोही पनि त्यसलाई लागु गर्नेतिर जानुभएन ।
अहिले बर्खाको बेला छ । मकैको सिजन छ । धानमा–भर्खर दुध पलाउँदै छ र मकै पनि भर्खर दुधिलो हुँदैछ, त्यसले गर्दा सुरुमा केही काम नपाउँदा यो बर्खाभरि बाँदरको गफ खुब हुन्छ । पोहोर सालको पत्रिकाको न्यूजहरू देख्नुहुन्छ, बर्खाभरि बाँदरको गफ हुन्छ । किन ? किनभने यो बेला बाँदरले बाली खाइरहेको हुन्छ । असोज–कात्तिकपछि मकै पाकिसकेपछि बाँदरहरू टाढा हुन्छन् । त्यो बेला फेरि यो कुरा हट्छ ।
मानिस जस्तो चेतनशील प्राणीमा पनि बन्ध्याकरण गर्दा त पुरुषत्व जान्छ भनिन्छ । वन्यजन्तुमा बन्ध्याकरण गर्दा के असर गर्छ भन्ने कुराको अन्तिम निचोड निकाल्न सकिँदैन । बन्ध्याकरण गर्न एउटा बाँदरलाई समात्ने हो भने त्यो समूहको कुनै पनि अन्य बाँदर तपाईंको नजिक आउँदैन । अनि तपाईंले कसरी गर्नुहुन्छ ? त्यो सम्भवै छैन । भारतमा एकचोटि कोसिस गरिएको थियो, तर सफल भएन ।
कसैले बाँदर मार्नैपर्छ भनेको पनि सुनिन्छ । सबै बाँदर उत्तिकै अपराधी होइनन् । कुनै बाँदरलाई समूहबाटै हटाउनुपर्ने खालको छ, जसले बढी दुःख दिइरहेको छ, त्यहाँ सरकारी निकायले विज्ञको सल्लाहमा मारे पनि हुन्छ । बाँदरमध्ये पनि सबैभन्दा बदमास, काम नलाग्ने छ भने त्यसलाई मार्दा हुन्छ । त्यो अन्तर्राष्ट्रिय रूपमा पनि प्रचलित छ, तर मार्ने भनेर सबैलाई मार्ने होइन । सबैले त्यसरी नोक्सान गर्दैनन् ।
गाउँमा बाँदर धपाउने मान्छे नै छैनन् । सबै विदेशमा छन् । नेपालको बलियो श्रम–शक्ति बाहिर छ । हेरालुका रूपमा रोजगारी नै दिन सकिन्छ । हरेक ठाउँका बाँदरको फरक–फरक गुण भेटिन्छ । यो अध्ययन गरेर अगाडि बढ्यो भने काम लाग्छ । होइन भने उही दसैँ–तिहार लागेपछि देउसी खेलेको जस्तो मात्र हुन्छ । बर्खा लागेपछि बाँदरका गफ झिक्यो, जबकि बाँदर–सँगसँगै दुम्सी, लोखर्के, धानचरी, मृग, बँदेलले पनि उत्तिकै दुःख–दिएका छन्, तर अरुको कुरा आउँदैन । किनभने उनीहरू लुक्न बढी जान्दछन् । बाँदरहरू बाहिर देखिने भएकाले बढी चर्चा हुन्छ । यसको निराकरण हुन जरुरी छ ।
यसको एउटै समाधान छ, बाँदरहरूको आकर्षण कुन अन्नमा हो भन्ने पत्ता लगाउनु पर्छ । त्यो ठाउँअनुसार फरक हुन्छ । बाँदरको आकर्षण भएको अन्न पत्ता लगाउने, आसपास रहेका बाँदरको सङ्ख्या पत्ता लगाउने र उनीहरूले मुख्य लक्षित गरेको कुराहरूलाई पत्ता लगाउने, त्यसको विकल्पमा खेतीपाती गर्न सहयोग गर्नुपर्छ । कृषि मन्त्रालय, वन मन्त्रालयले यो काम गर्नुपर्छ ।
वन्यजन्तु अध्ययन गर्ने, बाँदर अध्ययन गर्ने विज्ञहरूलाई लिएर त्यसको रिपोर्टिङ गर्नुपर्छ । त्यसका आधारमा जनताले कहाँ कसरी दुःख पाएका छन्, कुन बालीमा दुःख पाएका हुन्, त्यो बालीको विकल्पमा के गर्न सकिन्छ ? गाउँ, वडा–तहमा अध्ययन गर्नुपर्छ ।
यसमा म एउटा उदाहरण दिन्छु– ललितपुरको मङ्गलबजारमा बाँदरले दुःख दियो । बाँदरले मन्दिर, देवालय, दरबार क्षेत्रमा रहेका विभिन्न संरचनाको झिंगटी, टायल उक्काएर दुःख दिएको रहेछ । त्यसले गर्दा नोक्सान हुने, दुर्घटना हुने रहेछ । त्यसपछि नगरपालिकाले मलाई बोलायो । मैले अध्ययन गर्दा जम्मा १९ वटा बाँदर रहेछन् । बाँदरले टायलभन्दा मुनि माटोमा रहेको ढुसी किरा खानका लागि टायल उक्काउने गरेको रहेछ । उक्काइएका टायल खसेर पर्यटकहरूलाई लाग्ने रहेछ । यो पत्ता लगाएपछि त्यहाँ टायल उक्काउन नसक्ने गरी मर्मतको काम गरियो । अहिले बाँदरले त्यसरी टायल उक्काउन सक्दैन । यसरी समस्या समाधान भयो । हामीले बाँदरले खास नोक्सान पुर्याउने कारण, तरिका, कुन–कुन चिज–वस्तु अथवा अन्न हो भन्ने पत्ता लगाइसकेपछि सोहीअनुसार समाधानको विधि निकाल्नु पर्छ ।
ठाउँ अनुसार अलग–अलग व्यवस्थापनका उपाय अपनाउनु उपयुक्त हुन्छ । दोस्रो, सबैभन्दा बदमास बाँदरलाई समातेर तह लगाउनुपर्छ । पालिकास्तर वा क्षेत्रीयस्तरमा चिडियाखाना बनाएर राख्ने, यदि धेरै रोगी वा बदमास छ भने मार्नु पनि पर्छ । सबैभन्दा बदमास छ भने त मार्नुपर्यो, तर त्यो नै पूर्ण रूपमा समस्याको समाधान होइन । सबै समूहलाई होइन, समूहका सबै बाँदर अपराधी हुँदैनन् । कुन बाँदर बढी बदमास छ वा नोक्सान गर्ने खालको छ भनेर अध्ययनबाट पत्ता लगाउनुपर्यो, लिस्ट बनाउनुपर्यो । बाँदरको संख्या पत्ता लगाउने, बाँदरको खानाको विकल्पमा काम गर्ने हो भने यस्ता समस्या चाँडै व्यवस्थापन गर्न सकिन्छ ।
तत्कालै पालिकास्तरमा जनप्रतिनिधिले एउटा समूहमा अध्ययन गर्ने, नोक्सान–भएको छ भने ठाउँको–ठाउँ राहत दिने, त्यसको क्षतिपूर्ति दिनुपर्छ । दोस्रो– कुन–कुन अन्नमा आक्रमण बढी भएको छ, त्यसको लिस्ट बनाउने, कतिसम्म नोक्सान–गर्दो रहेछ ? कुन किसानको कति ? कसैको एक–मुरी होला, कसैको दश–मुरी होला अलग–अलग आँकडा निकाल्ने ।
गाउँपालिका, नगरपालिकाहरूले के गर्ने त ? उनीहरूले ठाउँ–ठाउँमा गएर सहयोग गर्नुपर्यो । सहयोग गर्ने क्रममा स्थानीय कृषि–प्राविधिकहरू, वनका कर्मचारीहरू मिलेर क्षतिको वास्तविक आँकडा निकाल्ने, आँकडाको आधारमा राहत वितरण गर्ने । त्यो आँकडा लिएर केमा नोक्सान गर्छ, त्यो पत्ता लगाउने । त्यसमा अर्को बाली के लगाउन सकिन्छ, कृषि प्राविधिकले सिफारिस गर्ने, त्यो सिफारिस गरेको बाली सबै त्यहाँ खपत हुँदैन, त्यहाँ सहकारीजस्तो बनाएर जनताबाट किनिदिनु पर्छ ।
जस्तोः मकै धेरै खाइदियो भने मकैको ठाउँमा अरु बाली रोप्ने । त्यसलाई बेच्न कहाँ जाने ? सरकारले सम्बन्धित पालिकामा एउटा किनमेल केन्द्र राख्नुपर्यो, जसले गर्दा उनीहरूले त्यो अन्न त्यहाँ बेच्छन् र आफूलाई चाहिने चामल, मकै, दाल लिएर जान्छन् । उब्जाउ अन्न देशका अरु भागमा पुर्याउन सकिन्छ । यसरी व्यवस्थापनतिर सोच्यो भने हुन्छ ।
‘कि बाँदर रहन्छ कि म रहन्छु’ जस्तै कुरा गरेर हुँदैन । हामीले यो प्राकृतिक संरचनालाई भत्काइसकेपछि फेरि त्यो संरचनाले दुःख दिने भनेको मान्छेलाई नै हो । बाँदर त अझैसम्म प्राकृतिक अवस्थामा छन् । त्यही हुनाले कहिले पनि उनीहरू तल–माथि अरु कुरा गर्दैनन् । तर हामी त प्राकृतिक अवस्थामा छैनौँ, हामी कृत्रिमतामा छौँ । सहर बजारका मन्दिरका बाँदर बढी रोगी छन् । पशुपति, स्वयम्भूमा हेर्नुस्, कति रोगी बाँदर छन् ? जीव–विज्ञानमा हरेक जीवको आफ्नो बासस्थानमा धान्ने क्षमता हुन्छ । खोलामा तर्ने डुंगामा १ सय जना चढ्यो भने त्यो डुब्छ । कुनै जङ्गलको बासस्थानमा कति वटा बाँदर अटाउन सक्छ, कतिवटा हात्ती अटाउन सक्छ भन्ने अध्ययन हुनुपर्छ । त्यो धान्ने क्षमताको अध्ययन भयो हामीले कति वटा राख्ने, कति वटा नराख्ने भन्ने उपाय अपनाउनुपर्छ । यसरी व्यवस्थापन गरेमा जीवहरू पनि बाँच्छन्, मान्छे पनि बाँच्छ, प्रकृति पनि रहन्छ । होइन भने अतिवादी भएर खाली ‘तँ छोड कि म छोड’ भन्नेमात्र हुन्छ ।
प्रतिक्रिया