युद्ध रोक्ने अस्थायी सम्झौता नजिक अमेरिका–इरान
सारांश
- अमेरिका र इरान युद्ध रोक्न अस्थायी सम्झौताको अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
- यो सम्भावित सहमतिले युद्ध रोक्ने, स्ट्रेट अफ होर्मुजको संकट समाधान गर्ने र दीर्घकालीन वार्ताका लागि वातावरण बनाउने लक्ष्य राखेको छ ।
- सम्झौताको सम्भावनासँगै विश्व तेल बजार ओरालो लागेको छ, ब्रेन्ट कच्चा तेलको मूल्य करिब ११ प्रतिशत घटेर प्रतिब्यारेल ९८ डलरसम्म पुगेको थियो ।
वासिङ्टन डीसी । अमेरिका र इरान जारी युद्ध अन्त्य गर्न अस्थायी तथा सीमित सम्झौतामा पुग्ने प्रयास अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्रोतहरूका अनुसार दुवै पक्षबीच पूर्ण शान्ति सम्झौता नभएर तत्काल युद्ध रोक्ने उद्देश्यसहित छोटो अवधिको समझदारीपत्रमा तयारी भइरहेको छ ।
यो सम्भावित सहमतिले युद्ध रोक्ने, स्ट्रेट अफ होर्मुजको संकट समाधान गर्ने र दीर्घकालीन वार्ताका लागि वातावरण बनाउने लक्ष्य राखेको बताइएको छ । तर इरानको आणविक कार्यक्रम, उच्च संवर्धित युरेनियमको भण्डारण तथा आणविक गतिविधि रोक्ने अवधि जस्ता संवेदनशील विषयमा अझै गम्भीर मतभेद कायम रहेको जनाइएको छ ।
स्रोतहरूका अनुसार प्रस्तावित योजना तीन चरणमा अघि बढ्नेछ । पहिलो चरणमा युद्ध औपचारिक रूपमा अन्त्य गर्ने, दोस्रो चरणमा स्ट्रेट अफ होर्मुजको संकट समाधान गर्ने र तेस्रो चरणमा ३० दिनको वार्ता अवधिमार्फत व्यापक सम्झौताबारे छलफल गर्ने तयारी छ । यस वार्तामा पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेको बताइएको छ । मध्यस्थतामा संलग्न एक वरिष्ठ पाकिस्तानी अधिकारीले रोयटर्ससँग भनेका छन्, “हाम्रो प्राथमिकता स्थायी रूपमा युद्ध अन्त्य भएको घोषणा गराउनु हो । त्यसपछि बाँकी विषय प्रत्यक्ष वार्तामार्फत समाधान गर्न सकिन्छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौताको सम्भावनाप्रति आशावादी प्रतिक्रिया दिएका छन् । उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भने, “उनीहरू सम्झौता गर्न चाहन्छन् । यो सम्भव छ ।” पछि उनले युद्ध “छिट्टै अन्त्य हुन सक्ने” पनि बताए । तर इरानी पक्ष भने अझै सशंकित देखिएको छ । इरानको विदेश मन्त्रालयले प्रस्तावबारे उचित समयमा प्रतिक्रिया दिने जनाएको छ भने इरानी सांसद इब्राहिम रेजाइले प्रस्तावलाई अमेरिकी इच्छा सूची जस्तो भनेका छन् । त्यस्तै इरानका संसद् सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत अमेरिका वार्ताको सफलताको भ्रम फैलाइरहेको आरोप लगाएका छन् । उनले “अपरेशन ट्रष्ट मि ब्रो फेल्ड” लेख्दै अमेरिकाले स्टे«ट अफ होर्मुज पुनः खोल्न नसकेपछि वार्तालाई प्रचारका रूपमा प्रयोग गरिरहेको संकेत गरेका छन् ।
सम्झौताको सम्भावनासँगै विश्व तेल बजार ओरालो लागेको छ । सम्भावित शान्ति सम्झौतापछि तेल आपूर्ति सहज हुन सक्ने अपेक्षाले तेलको मूल्य तीव्र रूपमा घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य एक समय करिब ११ प्रतिशत घटेर प्रतिब्यारेल ९८ डलरसम्म पुगेको थियो, यद्यपि पछि केही सुधार हुँदै यो ९९–१०० डलर आसपास स्थिर भयो । विश्लेषकहरूका अनुसार बजार अहिले नयाँ सैन्य कारबाही नहुने आशामा सकारात्मक प्रतिक्रिया दिइरहेको छ । जीसीआई एसेट म्यानेजमेन्टका वरिष्ठ पोर्टफोलियो प्रबन्धक ताकामासा आइकेदाले भने, “प्रस्तावको सामग्री धेरै स्पष्ट छैन, तर बजारले अब थप युद्ध नहुने अपेक्षा गरिरहेको छ ।”
यसैबीच अमेरिकी सञ्चारमाध्यम एनबीसी न्यूजले जनाए अनुसार ट्रम्पले स्टे«ट अफ होर्मुज पुनः खोल्न सुरु गरिएको अमेरिकी नौसैनिक अभियान रोक्नुमा साउदी अरेबियाको भूमिका पनि रहेको छ । रिपोर्टअनुसार साउदी अरेबियाले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र सैन्य अड्डा प्रयोग गर्न अनुमति नदिएपछि ट्रम्पले अभियान स्थगित गर्ने निर्णय गरेका थिए । रिपोर्टमा उल्लेख भएअनुसार साउदी अधिकारीहरू अमेरिकी योजनाबाट असन्तुष्ट थिए र उनीहरूले वासिङ्टनलाई अमेरिकी सैन्य विमानहरूलाई साउदी हवाई क्षेत्र प्रयोग गर्न नदिने जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण