बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
वरिष्ठ अधिवक्ता बाबुराम दाहालसँग ‘वारपार’

‘न्यायालयमा ९३ सालसम्मको सेटिङ भत्किएको छ, यो राम्रो हो'

‘'वरीयता मात्रै आधार हुने भए संविधानमै ‘ज्येष्ठतम् न्यायाधीशलाई नियुक्त गरिनेछ’ लेखिन्थ्यो होला'’
शुक्रबार, २५ वैशाख २०८३, १८ : ००
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • वरिष्ठताको आधारमा प्रधानन्यायाधीश सिफारिस गरिने परम्परालाई तोड्दै संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि न्यायालयमा बहस सिर्जना भएको छ ।
  • वरिष्ठ अधिवक्ता बाबुराम दाहालले यस सिफारिसलाई संविधानसम्मत भन्दै विगतदेखिको 'सेटिङ' भत्किएको तर्क गरेका छन् ।
  • दाहालले नयाँ प्रधानन्यायाधीश डा. शर्माका सामु न्यायालयको राजनीति अन्त्य गर्ने, निष्पक्ष न्याय सुनिश्चित गर्ने जस्ता चुनौती रहेको बताएका छन् ।

काठमाडौँ । चौथो नम्बरमा रहेका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि कानुनी र राजनीतिक क्षेत्रमा यसले बहस सिर्जना गरेको छ । कसैले यसलाई न्यायालयको स्वतन्त्रता, व्यावसायिकता र स्थापित मान्यता विरुद्धको कदम भनेका छन् भने अर्कोथरीले सर्वोच्च अदालतको ‘सेटिङ’ तोडिएको तर्क गरेका छन् । 

स्वतन्त्र व्यक्तिहरूले भने संविधानको धारा १२९ को उपधारा तीन बमोजिम नै सिफारिस भएकाले यसलाई संविधान विपरीत भन्न नमिल्ने दाबी गरेका छन् । सक्षम र योग्य हुँदाहुँदै गलत ‘सेटिङ’ का कारण सपना प्रधान मल्ल, हरि फुयाँल र कुमार रेग्मी ‘भिक्टिम’ भएको उनीहरुको तर्क छ । 

परम्परा र लामो अभ्यास तोड्नुको बलियो कारण के हुन सक्छ सरकारसँग ? न्यायापालिकामा कार्यपालिका हाबी हुने संकेत हो ? किन डा. मनोज शर्मा नै प्रधानन्यायाधीशमा सिफारिस भए ? भावी प्रधानन्यायाधीशका चुनौती के-के छन् ? यिनै विषयमा केन्द्रित रहेर रातोपाटीको ‘वारपार’मा वरिष्ठ अधिवक्ता बाबुराम दाहालसँग गरिएको कुराकानीको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :  

संवैधानिक परिषद्ले वरिष्ठतामा चौथो नम्बरमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्‍यो । यो निर्णय तपाईँका लागि कत्तिको अपेक्षित वा अनपेक्षित थियो ?

यसलाई दुई दृष्टिकोणबाट हेर्नुपर्छ । यदि हामीले नेपालको न्यायपालिकामा अहिलेसम्म चल्दै आएको परम्परा र अभ्यासलाई मात्र हेर्ने हो भने यो निर्णय पूर्णतः अनपेक्षित हो । किनकि लामो समयदेखि वरिष्ठतालाई नै मुख्य आधार मानेर प्रधानन्यायाधीश छान्ने चलन थियो । तर यदि अहिलेको नयाँ सरकार, यसको कार्यशैली, नीति र उनीहरूले न्यायालयमा गर्न खोजेको परिवर्तन र त्यसमा पनि मूल कुरा हाम्रो संविधानको धारा १२९ को उपधारा (३) लाई हेर्ने हो भने यो अपेक्षित, संविधानसम्मत निर्णय हो ।

Baburam Dahal

तर न्यायालय त परम्परा, पद्धति र स्थापित नजिरहरूबाट चल्नुपर्ने संस्था होइन र ? वरीयता मिचिँदा यसको साखमा असर पर्दैन ?

हेर्नुस्, परम्परा र नजिरको कुरा गर्दा हामीले हाम्रो संविधानलाई बिर्सनु हुँदैन । अहिलेको संविधानको धारा १२९ को उपधारा (३) लाई हेर्नुस् । त्यहाँ प्रस्ट भनिएको छ सर्वोच्च अदालतमा कम्तीमा ३ वर्ष न्यायाधीश भइसकेको जोकोही व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुन्छ । यो योग्यता पुगेका अहिले ६ जना श्रीमानहरू हुनुहुन्थ्यो । जब संविधानले नै ६ जनालाई योग्य मानेको छ र ती ६ जनाकै नाम संवैधानिक परिषद्मा पुगेको छ भने संवैधानिक परिषद्ले तीमध्ये एकजनालाई छान्नु कसरी असंवैधानिक हुन्छ ?

संविधानमा वरिष्ठलाई नगर्नु पनि भनेको छैन नि त ?

वरिष्ठताको ‘लेप’ लगाएर संविधानको धारालाई नजरअन्दाज गर्न मिल्दैन । यदि वरीयता मात्रै आधार हुन्थ्यो भने त संविधानमा ‘ज्येष्ठतम् न्यायाधीशलाई नियुक्त गरिनेछ’ भन्ने भाषा हुन्थ्यो होला नि ? त्यसैले यो सिफारिस पूर्णतः संविधान अनुकूल छ । यसको विरोध गर्नु भनेको एक हिसाबले संविधानकै व्यवस्थाको विरोध गर्नु हो ।

तर सपना प्रधान मल्ल एक नम्बरमा हुनुहुन्थ्यो । उहाँको क्षमतामा त कसैले प्रश्न उठाएको छैन । उहाँलाई छाडेर चौथो नम्बरमा पुग्नुको अर्थ के हो ?

योग्यताको कुरा गर्दा ६ जना नै योग्य हुनुहुन्छ । वरीयताको कुरा गर्ने हो भने ६ नम्बरमा रहनुभएका तिलप्रसाद श्रेष्ठ श्रीमान् सबैभन्दा सिनियर हुनुहुन्छ । उहाँको पढाइ,  सेवा अवधि र अनुभवका आधारमा उहाँ यी सबै ५ जनाभन्दा अझ सिनियर हुनुहुन्छ । तर उहाँलाई सर्वोच्चमा ढिलो ल्याइयो । किन ल्याइयो ? किनभने उहाँको पक्षमा बोलिदिने कोही ‘शक्ति’ थिएन । उहाँ जागिर खाँदाखाँदै आफ्नो क्षमताले यहाँसम्म पुग्नुभयो ।

विधि मिचियो भन्ने छ क्या ?

अहिलेको वरीयतामा एक नम्बरमा सपना प्रधान मल्ल, दुईमा कुमार रेग्मी, तीनमा हरिकृष्ण फुयाँल, चारमा मनोज शर्मा, पाँचमा नकुल सुवेदी र ६ नम्बरमा तिलप्रसाद श्रेष्ठ हुनुहुन्छ । संविधानले सबैलाई बराबर योग्य मानेको छ । त्यसैले संवैधानिक परिषद्ले तीमध्येबाट एकजना रोज्दा विधिको शासन उल्टियो भन्नु तर्कसंगत देखिँदैन ।

तपाईंले ‘सेटिङ’को संकेत गर्नुभयो । के यो वरीयतामा कुनै खास स्वार्थ समूहको प्रभाव थियो र ?

हो, यहाँनेर म अलि गम्भीर कुरा गर्न चाहन्छु । नेपालको न्यायपालिकामा २०९३ सालसम्म को–को प्रधानन्यायाधीश हुने भन्ने कुरा पहिले नै ‘फिक्स’ जस्तै थियो । यो एउटा यस्तो सेटिङ थियो, जहाँ नियुक्ति हुँदै गर्दा उसको जन्ममिति र सेवा अवधिका आधारमा कसले कहिले बालुवाटार (प्रधानन्यायाधीशको सरकारी निवास) सर्ने भन्ने तालिका बनेको थियो । 

यसमा के बिग्रियो त ?

तपाईं विचार गर्नुस् त, नजन्मिँदै राजा हुने परम्परालाई हामीले गणतन्त्र ल्याएर फाल्यौँ । तर न्यायालयमा यसपछि कांग्रेसले ल्याएको मान्छे हुने, त्यसपछि एमालेले ल्याएको हुने भन्ने जुन सेटिङ चल्दै आएको थियो, त्यो कुनै पनि हालतमा लोकतान्त्रिक र व्यावसायिक हुन सक्दैनथ्यो । अहिलेको यो निर्णयले त्यही २०९३ सम्मको सेटिङलाई ध्वस्त पारेको छ ।

यो सेटिङ तोडिँदा योग्य न्यायाधीशहरू पीडित भए भन्ने गुनासो पनि त छ नि ?

मलाई पनि व्यक्तिगत रूपमा धेरै दुःख लागेको छ । सपना श्रीमान् हार्वर्ड पढेर आउनुभएको सक्षम महिला हुनुहुन्छ । कुमार श्रीमान् र हरि श्रीमान् पनि उत्तिकै योग्य हुनुहुन्छ । उहाँहरू जस्तो सक्षम व्यक्तिहरू यो सेटिङको कारण आज पीडित बन्नुपर्‍यो । उहाँहरू आफैँमा खराब हुनुहुन्न, तर जुन ‘सिस्टम’ बाट उहाँहरूलाई ल्याइयो, त्यो सिस्टमले उहाँहरूलाई ‘भिक्टिम’ बनाइदियो ।

Baburam Dahal1

अब यसपछि यो प्रधानन्यायाधीश बन्ने सुनिश्चित हुँदा कसरी खराब भयो त ?

न्यायालयमा ‘ग्यारेन्टी’ का साथ प्रधानन्यायाधीश हुने निश्चित भएपछि त्यहाँ सुधारको गुन्जायस हुँदैनथ्यो । ‘काम गरे पनि म नै हुने हो, नगरे पनि म नै हुने हो’ भन्ने सोचले न्यायालयलाई व्यावसायिक बनाउन दिँदैनथ्यो । यसले गर्दा  न्यायाधीशहरू र उनीहरूका परिवारबिच पनि विभेद थियो । जो प्रधानन्यायाधीश हुने लाइनमा हुन्थे, उनीहरूको सत्कार अर्कै हुन्थ्यो, जो नहुनेमा पर्थे उनीहरूलाई दोस्रो दर्जाको व्यवहार गरिन्थ्यो ।

डा. मनोजकुमार शर्मा चाहिँ त्यो सेटिङमा हुनुहुन्नथ्यो ?

मनोज शर्मा श्रीमान् २०९३ सालसम्मको त्यो लाइनभित्र पर्नु हुन्नथ्यो । उहाँ प्रधानन्यायाधीशको रोलक्रममा भए पनि उमेरका कारण अगाडिका श्रीमानहरू पदावधि नसकिँदै उहाँ अवकाशमा जाने अवस्था थियो । उहाँलाई न्याय परिषद्को सदस्यसम्म हुन सक्ने तर प्रधानन्यायाधीश नहुने ‘दोस्रो दर्जाको न्यायाधीश’ का रूपमा हेरिएको थियो । त्यसैले उहाँ र उहाँको परिवारले त्यो ‘मिठो–मसिनो’ सत्कार कहिल्यै पाउनुभएको थिएन । अहिले संवैधानिक परिषद्ले उहाँलाई छानेर एउटा सन्देश दिएको छ- ‘सेटिङ’ सधैँ चल्दैन ।

यो सिफारिसले स्वतन्त्र न्यायपालिकाको अवधारणामाथि प्रहार गर्‍यो र कार्यपालिकाको हस्तक्षेप बढ्यो भन्ने विपक्षी दलहरुको आरोप छ नि ? यसलाई कसरी हेर्नुहुन्छ ?

यो विरोधका पछाडि दुईवटा कारण छन् । एउटा त विरोधका लागि विरोध हो, किनकि सरकारले केही गर्दा प्रतिपक्षले बोल्नैपर्छ । दोस्रो र मुख्य कुरा चाहिँ उनीहरूले हिजो आफ्नो अनुकूल ठानेर सेट गरेका मान्छेहरू बाइपास हुँदाको पीडा हो ।

अदालत स्वतन्त्र हुनुपर्दैन त ?

अदालत स्वतन्त्र हुनुपर्छ भन्नेमा दुई मत छैन । तर ‘स्वतन्त्रता’ को आडमा दलगत भागबन्डाको सेटिङ सुरक्षित हुनुपर्छ भन्ने मान्यता गलत हो । एमाले, कांग्रेस र माओवादीले बनाएको संविधानमा लेखिएको धारा प्रयोग गर्दा कसरी न्यायालय सिध्याएको हुन्छ ? यदि यो व्यवस्था गलत थियो भने संविधान संशोधन किन नगरेको त ?

रास्वपाको अदालतमा प्रभाव बढेको हो ?

जहाँसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावको कुरा छ, मान्छेहरूले भनिरहेका छन् कि रास्वपाको बहुमत भएको बेला उसले आफ्नो मान्छे ल्यायो । तर म दाबीका साथ भन्छु, मनोज शर्मा कहिल्यै रास्वपासँग नजिक हुनुहुन्नथ्यो । उहाँलाई आफू प्रधानन्यायाधीश हुँदैछु भन्ने कुरा बैठक अघिसम्म थाहा पनि थिएन होला ।

एउटा गम्भीर प्रश्न, मनोज शर्मा श्रीमान् २०७० सालतिर उच्चको न्यायाधीश बनेपछि एमालेको तत्कालीन पार्टी कार्यालय बल्खु गएर धन्यवाद दिएको भन्ने चर्चा पनि छ । उहाँ एमाले निकट त हुनुहुन्थ्यो नि ?

२०७० सालमा न्यायाधीशहरूको एउटा समूह बल्खु गएको भिडियो नै बाहिर आएको थियो । त्यो गलत थियो र हामीले त्यतिबेलै त्यसको विरोध गरेका हौँ । तर त्यो समूहमा मनोज शर्मा हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो म एकिनका साथ भन्न सक्दिनँ । तर एउटा कुरा के सत्य हो भने धेरै न्यायाधीशहरू कुनै न कुनै बेला पार्टीका सदस्य थिए । तर मनोज शर्मा एमालेको आधिकारिक सदस्य भएको मलाई थाहा छैन । यदि कसैले उहाँ सदस्य हो भनेर प्रमाणित गर्छ भने म आफ्नो कुरा सच्याउन तयार छु । तर अहिलेको सिफारिस रास्वपा वा एमालेको ‘खास’ मान्छे भएर भएको हो जस्तो मलाई लाग्दैन । बरू स्थापित सेटिङ भत्काउन सरकारले उहाँलाई अगाडि सारेको देखिन्छ ।

अब वरीयता मिचिएका बाँकी तीन जना वरिष्ठ न्यायाधीशहरूले के गर्नुपर्छ ? उहाँहरूले राजीनामा दिनुपर्छ भन्ने पनि सुनिन्छ नि ?

यो पूर्णतः उहाँहरूको निजी निर्णयको कुरा हो । यसमा हामी वकिल वा सर्वसाधारणले राजीनामा दिनुस् वा नदिनुस् भन्न मिल्दैन । संविधानले उहाँहरूको पद जाँदैन भनेको छ । उहाँहरू काबिल न्यायाधीश हुनुहुन्छ ।

आफूभन्दा जुनियर व्यक्ति प्रधानन्यायाधीशमा जाँदा काम गर्न अलिकति अनकम्फर्टेबल होला नि त ?

त्यस्तो महसुस हुन सक्छ । तर उहाँहरूबिच समन्वय र मानसम्मान रहिरह्यो भने सँगै काम गर्दा न्यायालयकै हित हुन्छ । तर यदि भित्र गुटबन्दी हुने र बोलचाल नै बन्द हुने अवस्था आयो भने त्यसले न्याय सम्पादनमा असर गर्छ । त्यसैले उहाँहरूले आफ्नो विवेक प्रयोग गरेर निर्णय लिनुहुनेछ भन्ने मेरो विश्वास छ ।

Baburam Dahal2

यो सिफारिसका आधारमा मनोज शर्माका चुनौतीहरू के–के देख्नुहुन्छ ? उहाँले न्यायालयलाई सुधार्न सक्नुहोला ?

उहाँका अगाडि चुनौतीका पहाडहरू छन् । पहिलो चुनौती त यो सिफारिसलाई लिएर उठेका आशङ्काहरूलाई चिर्नु हो । उहाँ कुनै दलको होइन, सिंगो न्यायालयको र जनताको प्रधानन्यायाधीश हो भन्ने कुरा उहाँको कामले देखाउनुपर्छ । राजनीतिबाट पूर्ण मुक्ति दिलाउनुपर्छ अदालतलाई ।

त्यसका लागि के गर्नुपर्छ ?

न्यायालयमा राजनीति घुस्ने मुख्य बाटो बार एसोसिएसनको दलीय निर्वाचन हो । प्रधानन्यायाधीशले आँट गरेर वकिल र कर्मचारीका दलीय संगठनहरू खारेज गर्ने वा उनीहरूलाई न्यायालयको प्रशासनिक काममा हस्तक्षेप गर्न नदिने अडान लिनुपर्छ । सेटिङवाला र बिचौलियाको अन्त्य गर्नुपर्छ । त्यसका लागि न्यायालयभित्र केही यस्ता वकिल र न्यायाधीशहरू छन्, जो सधैँ शक्ति केन्द्रको वरिपरि घुम्छन् । उहाँले आफूलाई ओपन राख्नुपर्छ । कोही पनि पीडितले सिधै प्रधानन्यायाधीशलाई प्रमाणसहित गुनासो गर्न सक्ने संयन्त्र बनाउनुपर्छ । 

श्रीहरि अर्याल र हरिकृष्ण कार्कीका प्रतिवेदनहरूमा न्यायपालिकाका विकृति सुधारका स्पष्ट मार्गचित्र छन् । उहाँ ६ वर्षका लागि जाँदै हुनुहुन्छ, त्यसैले ती प्रतिवेदन अक्षरशः पालना गर्ने साहस उहाँले देखाउनुपर्छ । न्यायालयमा कुल बजेटको ०.४५ प्रतिशत मात्र बजेट छ । अदालतका भवनहरू भत्किन लागेका छन्, कर्मचारीलाई कापी–कलम किन्ने पैसा छैन । उहाँले कार्यपालिकासँग टाउको ठाडो गरेर न्यायपालिकाको अधिकार र बजेट माग्न सक्नुपर्छ । 

कनिष्ठ भएर पनि सिफारिसमा पर्नु भएका र प्रधानन्यायाधीश बन्दै गर्नु भएका मनोज शर्माले जनतामा अदालतप्रतिको भरोसा दिलाउन सक्नुहोला त ?

जनतालाई वरीयता भन्दा पनि न्यायसँग सरोकार छ । एउटा गरिब र धनीका बिचमा अदालतले गर्ने व्यवहार बराबरी हुनुपर्छ । यदि मनोज शर्मा श्रीमानले सेटिङ भत्काएर एउटा निष्पक्ष न्यायको वातावरण बनाउनुभयो भने उहाँ चौथो नम्बरबाट आएको कुरालाई जनताले बिर्सनेछन् । तर यदि उहाँ पनि ‘उही पुरानै ड्याङको मुला’ बन्नुभयो भने इतिहासले उहाँलाई क्षमा गर्ने छैन । 

भिडियो/फोटो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप