ओलीको ढोका ढकढक्याउँदै गगन–विश्व, प्रदेश सरकार परिवर्तन मुख्य एजेण्डा
सारांश
- कांग्रेसले गत निर्वाचनमा गठबन्धनलाई पराजयको मुख्य कारण मानेको थियो ।
- उपसभापति विश्वप्रकाश शर्मासहितको टोली प्रदेशमा गठबन्धन कायम गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेको छ ।
- कोशी प्रदेशमा सरकार परिवर्तनको चर्चा चलिरहे पनि बजेटअगाडि नै सरकार बदल्ने विषयमा कांग्रेस र एमाले निर्णयमा पुगिनसकेको छ ।
विराटनगर । नेपाली कांग्रेसको गत चैतमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने संयोजनको जिम्मा उपसभापति विश्वप्रकाश शर्मालाई दियो । ‘प्रदेश संसदीय दल, प्रदेश सरकार र स्थानीय तहमा पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकाको समीक्षा, समन्वय र थप प्रभावकारिताका लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई प्रदान गर्ने निर्णय गर्दछ,’ कांग्रेसले गरेको निर्णयमा उल्लेख छ ।
बैठकले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयको मुख्य कारण विगतमा गरिएको ‘गठबन्धन संस्कृति’ रहेको निष्कर्ष निकालेको थियो । ‘संसद् जोगाउन बनेको गठबन्धनलाई पछि चुनाव जित्न प्रयोग गरियो, जसका कारण पार्टीका इमानदार कार्यकर्ता र आम जनता दुवैमा चरम असन्तुष्टि पैदा भयो,’ उपसभापति शर्माले प्रस्तुत गरेको समीक्षामा भनिएको थियो ।
कांग्रेसले एमालेसँगको सत्ता गठबन्धनलाई पनि फागुन २१ को पराजयको एउटा प्रमुख कडी मानेको छ । ‘कांग्रेस–एमालेको गठबन्धन सरकार हाम्रो परिपक्व विश्लेषण र दुरदर्शी सोचको उपज थिएन, पार्टीको महामन्त्री तहमा समेत संवाद नगरी अपारदर्शी ढंगले रातारात भएको सम्झौता थियो,’ कांग्रेस बैठकमा प्रस्तुत प्रस्तावमा उल्लेख थियो, ‘संसदमा रहेका मुख्य दुई दलमध्ये एकले नागरिक असन्तुष्टिको रचनात्मक प्रतिनिधित्व गरेर संसदमा प्रतिपक्षी कित्ता सम्हाल्नै पर्दथ्यो ।’
सोही प्रस्तावमाथि छलफल गर्दै कांग्रेसले गठबन्धन सरकारको कार्यसम्पादनमा जन अपेक्षाविपरीत परिणाम देखिनु नै पराजयको कारण रहेको ठहर ग¥यो ।
गठबन्धन नै अलोकप्रियताको मुख्य कारण भनेर किटान गरेको कांग्रेसले डेढ महिनामै उपभापति विश्वप्रकाश शर्मासहितको टोली प्रदेशको गठबन्धन कायम गराउन भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको ढोका ढक्ढक्याउन पुगेपछि विशेष महाधिवेशन इतर पक्षले आलोचना गर्न सुरु गरेका छन् ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास भक्तपुरको गुण्डु पुगेका थिए । विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा दुवै दलका नेताहरूले छलफल गरेको स्रोतको दाबी छ । अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने कि बजेटपछि भन्ने विषयमा कांग्रेस र एमाले निर्णयमा पुगिनसकेको बताइन्छ ।
कांग्रेसकै विशेष महाधिवेशन इतर पक्षले भने निर्वाचन पराजयको मुख्य कारण एमाले र कम्युनिस्टहरूसँगको सहकार्य हो भन्ने निष्कर्ष निकालेको गगन–विश्व समूह अहिले ओलीकै ढोका चाहर्न थाल्नु सत्ता लिप्सा भएको आरोप लगाएका छन् । डाक्टर शेखर कोइराला निकट तरुण दलका नेता नेत्र पौडेलले आफ्नै निर्णयको विरुद्धमा जानु लज्जास्पद भएको बताए । ‘कांग्रेस सत्ताभन्दा बाहिर बस्नै सक्दैन भन्ने उदाहरण यसले देखाएको छ । शेरबहादुर देउवाले गठबन्धन गरेर गलत गरे भनेर निर्णय गरेको डेढ महिना पूरा नहुँदै युटर्न हुनु नयाँ बोतलमा पुरानै रक्सी भनेजस्तै हो,’ पौडेलले भने ।
२०८१ पुस २७ गठित हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कांग्रेससँग गठबन्धन गरेको (भदौ २७) १८ महिना पुग्न लाग्दा मुख्यमन्त्री फेरबदलको चर्चा केही दिनयता जारी छ । यद्यपि सरकार फेरबदलको मिति भने अझै टुङ्गो लागेको छैन । नेपाली कांग्रेस बजेट (असार १) अगाडि नै सरकार बदल्न चाहन्छ । एमाले भने आलटाल गरिरहेको स्रोत बताउँछ ।
नेपाली कांग्रेसका कोशी प्रदेश सभा सदस्य तथा अर्थसमितिका सभापति विनोद वान्तवा राईले सरकार फेरबदलको कुरा केन्द्रमा छलफल भए पनि आफूलाई थाहा नभएको बताए । ‘यस्तो कुरा केन्द्रमा हुन्छ । मलाई कुनै सूचना छैन,’ उनले भने ।
उता कांग्रेसकै सांसद तथा पूर्वमन्त्री हिमाल कार्की भने सरकार बदल्ने हो भने बजेट अगाडि नै गर्नुपर्ने बताउँछन् । ‘सरकार बदल्ने हो भने बजेट अगाडि नै गर्नुपर्छ,’ उनले भने, ‘यो संसद् र यो संसदबाट बन्ने सरकारको यही अन्तिम बजेट पनि हुनसक्छ । कुनै टुङ्गो छैन । अहिलेकै सरकारलाई बजेट ल्याउन दिने हो भने सरकार बदल्नुको के अर्थ ?’
बजेट ल्याउनु अगाडि नै अर्को सरकार बनाउनुपर्छ भन्ने विषयमा कांग्रेस एकमत देखिए पनि आफ्नो दलबाट को मुख्यमन्त्री बन्ने भन्ने विषयमा भने विवाद सिर्जना भएको छ । कांग्रेसको आन्तरिक कलहले सरकार परिवर्तनको प्रक्रियालाई जति सहज हुनुपर्ने हो, त्यति हुन नदिएको सो पार्टीकै सांसदहरू स्वीकार गर्छन् ।
गत मंगलबार कोशी प्रदेशमा कांग्रेसको विशेष महाधिवेशन इतर पक्षको भेला भएको थियो । विराटनगरको एक होटलमा आयोजित भेलामा दलका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापा भने सहभागी थिएनन् । यसअघि थापा कांग्रेस नेता कृष्ण सिटौला समूहमा थिए । अहिले भने उनी विश्वप्रकाश समूहमा आएको स्रोत बताउँछ ।
सो भेलामा प्रदेशका सांसदमध्ये ७ जना सहभागी भएका थिए । दलका नेता थापाले गुट परिवर्तन गरेसँगै केदार कार्की, भुपेन्द्र राई, भीम पराजुलीलगायत विशेष महाधिवेशनको इतर पक्षका नेताहरू दलको नेताबाट थापालाई हटाउन लागेको स्रोत बताउँछ ।
कांग्रेसमा अन्तरद्वन्द्व चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली भने वामपन्थी एकताको मुडमा पुगेको स्रोतको दाबी छ । सोही अनुसार सबै प्रदेशमा वामपन्थीको सरकार बनाउनुपर्ने विषयमा विभिन्न दूतमार्फत नेकपाका अध्यक्ष प्रचण्डलाई प्रस्ताव पठाएको कोशी प्रदेशकै नेकपाका एक नेता बताउँछन् ।
प्रचण्डले भने वामपन्थीहरूको मात्रै सरकार बनाउने भन्दा शान्ति प्रक्रिया र वर्तमान संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेका दलहरूको संयुक्त सरकार बनाउनु पर्ने बताएको ती नेताको दाबी छ । एमालेभित्र पनि ओलीइतर समूह भने वामपन्थी एकताभन्दा अहिले प्रदेश सरकारमा रहेकै कांग्रेस एमालेको समीकरण कायम राख्नुपर्नेमा रहेको बताइन्छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा हाल ९२ जना सांसद कायम छन् । राप्रपाका सांसद भक्तिप्रसाद सिटौलाले यसअघि राजीनामा दिएर झापाको निर्वाचन क्षेत्र ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । अब एमालेको उपसभामुखसहित ४०, कांग्रेसका २९, नेकपाको १७ र राप्रपाको सभामुखसहित ५ र जसपाको १ सांसद कायम छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण