आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

राप्रपाभित्र बढ्यो आन्तरिक सरगर्मी: नेताहरूको छुट्टै भेला

बिहीबार, ३१ वैशाख २०८३, २० : १६
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आगामी महाधिवेशन र पार्टीको भावी कार्यदिशालाई लिएर आन्तरिक सरगर्मी बढेको छ।
  • पार्टीभित्रको 'मध्यमार्गी' वा 'मिलाउने धार' का रूपमा व्याख्या गरिएको उक्त भेलामा राप्रपाको वैचारिक स्पष्टता, साङ्गठनिक एकता र आसन्न महाधिवेशनका विषयमा गम्भीर छलफल भएको छ।
  • भेलाले पार्टीलाई एकताबद्ध राख्दै छिटोभन्दा छिटो महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आगामी महाधिवेशन र पार्टीको भावी कार्यदिशालाई लिएर आन्तरिक सरगर्मी बढेको छ। यसै सिलसिलामा पार्टीका केही वरिष्ठ नेता तथा केन्द्रीय सदस्यहरूबिच बिहीबार राजधानीमा भेला गरिएको छ ।

पार्टीभित्रको ’मध्यमार्गी’ वा ’मिलाउने धार’ का रूपमा व्याख्या गरिएको उक्त भेलामा राप्रपाको वैचारिक स्पष्टता, साङ्गठनिक एकता र आसन्न महाधिवेशनका विषयमा गम्भीर छलफल भएको छ।

भेलामा सहभागी नेताहरूले नेपाली कांग्रेस, एमाले र माओवादी जस्ता पुराना शक्तिहरू जनताबाट क्रमशः तिरष्कृत हुँदै गएको र नयाँ वैकल्पिक शक्तिहरू (जेनजी पुस्ता) ले जनताको असन्तुष्टिलाई उपयोग गरे पनि ठोस नतिजा दिन नसकेको निष्कर्ष निकालेका छन्। यस्तो स्थितिमा राप्रपा विकल्प हुनसक्ने निष्कर्ष निकालिएको नेता जगत गौचनले बताए । उनले भने, ’नेपालमा अहिले तीन वटा विचारधारा छन्। एउटा वामपन्थी, अर्को कांग्रेसको समाजवाद र तेस्रो राप्रपाले बोकेको राष्ट्रवादी धार। अहिलेको सरकार गठन भएको १०० दिन नपुग्दै चौतर्फी घेराबन्दीमा छ। यस्तो अवस्थामा मुलुकले खोजेको विकल्प राप्रपा नै हो।’

शाहवंशीय इतिहास र माटोको राजनीतिसँग जोडिएको पार्टी हुनाले राप्रपालाई अझ बलियो र एकताबद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको उनको भनाइ छ । 

भेलाले पार्टीलाई एकताबद्ध राख्दै छिटोभन्दा छिटो महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। महाधिवेशनले चयन गर्ने नयाँ नेतृत्वलाई सबैले स्वीकार गरेर अगाडि बढ्नुपर्ने निष्कर्ष भेलाको छ।

’महाधिवेशन नजिकिँदै जाँदा यस्ता भेला र भेटघाटहरू हुनु सामान्य प्रक्रिया हो, यसलाई अन्यथा लिनु पर्दैन,’ नेता गौचनले भने, ’भोलि कार्यसम्पादन समितिको बैठक बस्दैछ, त्यसपछि केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नेछ। कसैले चाहेर अब महाधिवेशन रोकिँदैन।’

भेलामा को–को थिए सहभागी?

भेलामा करिब ३५ देखि ४० जना नेताहरूको उपस्थिति थियो। जसमा गौचनसहित कार्यसम्पादन समितिका सदस्यहरू नारायण कोइराला, टंक ढकाल, अर्जुन राई र कर्ण बहादुर शाही सहभागी थिए।

त्यसैगरी, राजाराम श्रेष्ठ, धनसुर शाही, युवराज घिमिरे, काली बहादुर शाही, मीना स्वर्णकार, निर्मला श्रेष्ठ, केबी राउत, श्याम खड्का, मीन बहादुर कुँवर, सीएन शर्मा, उदय पोखरेल, मीन बहादुर शाही र चिराक कुँवर लगायत दुई दर्जन बढी केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।

राप्रपाभित्र महाधिवेशनको माहोल तात्दै जाँदा भएको यो भेलालाई अर्थपूर्ण रूपमा हेरिएको छ। सहभागी नेताहरूले यो कुनै गुटको भेला नभई पार्टीलाई बलियो बनाउने ’तेस्रो धार’ भएको दाबी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप