बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

कर्णालीमा सरकारको नेतृत्व परिवर्तनबारे जीवनबहादुर शाही के भन्छन् ?

शुक्रबार, ०१ जेठ २०८३, १३ : ००
शुक्रबार, ०१ जेठ २०८३

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व फेरबदलको चर्चा औपचारिक रूपमै सतहमा आएको छ । परिवर्तित परिस्थितिमा पार्टी केन्द्रबाट कुनै सर्कुलर नआएको भन्दै यसअघि कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मौन थिए, तर सोमबार कांग्रेस कर्णाली प्रदेशको भेलामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्माले अब कांग्रेसको नेतृत्वमा सरकार पुनर्गठन गर्न भनेपछि मुख्यमन्त्री फेरबदलको बहस औपचारिक रूपमा सुरु भएको हो ।

‘तत्कालीन केन्द्रको समीकरण अनुसार अब कर्णाली सरकारको नेतृत्व कांग्रेसले गर्ने बेला आयो,’ सभापति थापाले भनेका थिए । उक्त भेलामा प्रदेश सभा संसदीय दलका नेता शाही पनि सहभागी थिए ।

तत्कालीन कांग्रेस–एमालेको केन्द्रीय समीकरण अनुसार ०८१ साउनदेखि कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री छन् । दुई दलबिचको सहमति अनुसार आधा–आधा कार्यकाल भागबन्डा गर्दा चैत महिनामै कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री बन्नुपर्थ्यो ।

यद्यपि शाहीले आफ्नै पार्टीभित्र र फेरिएको नेपालको राजनीतिक परिस्थितिमा तत्काल मुख्यमन्त्री बन्न हतार गर्न चाहेनन् । कांग्रेसको प्रदेश समितिदेखि सांसदले समेत सरकारको नेतृत्व लिन आग्रह गर्दा पनि शाही मौन छन् ।

शाहीले यसअघि नै आफूले केन्द्रका नेताहरूसँग गएर कुरा राखेको तर, सनुवाइ नभएको बताएका छन् । उनले अहिले आएर मुख्यमन्त्री फेरबदल हुने कुरा उपयुक्त नभएको पनि बताए ।

यसै सन्दर्भमा केन्द्रित रहेर कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, शाहीसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • कांग्रेसका केन्द्रीय सभापतिले सुर्खेतमै आएर प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नुपर्छ भनिसक्नुभयो, तपाईं अब कर्णालीको मुख्यमन्त्री कहिले बन्दै हुनुहुन्छ ?

नेताहरू बोलेर त गए, अब के हुन्छ भन्ने थाहा छैन । उहाँहरू बोल्ने बेलामा म त्यहाँ थिइनँ । उहाँहरूले बोलेको भन्ने सुनेँ, तर त्यसपछि बोल्नेहरू कन्ट्याक्टमा छैनन् क्यारे ।

  • अब बजेट निर्माणको चरण पनि सुरु भइसक्यो । यो अवस्थामा सरकारको नेतृत्व फेरबदल हुने सम्भावना छ ?

त्यही त, बजेट निर्माणको काम सुरु भइसक्यो । मैले त यो कुरा पहिला (चैतमै) गरौँ भन्दा गरेनन् । अहिले अन्त्य अन्त्यमा आएर कुरा गरे । सरकार बदल्ने कुरा कर्णालीको मात्रै छैन, सबै प्रदेशको होला । माथि के–के छलफल भयो, त्यो पनि मलाई थाहा छैन ।

भोलि–पर्सिसम्म खबर गर्लान्, उनीहरू (गगन थापा, विश्वप्रकाश शर्मा)ले मलाई केही नभनेकाले ठ्याक्कै यस्तो हुन्छ भन्न सक्ने अवस्था रहेन ।

एमालेसँग पनि सल्लाह गर्नुपर्ने होला । सरकार फेरबदल गर्नुपर्ने यसअघि नै हो । अब बजेट निर्माणको काम सुरु भइसकेको अवस्थामा बजेट आइसकेपछि गर्दा उपयुक्त हुन्छ कि ! यो यहाँको समस्या होइन, अरूको समस्याले गर्दाखेरि अगाडि पनि गर्न सक्लान् । आजसम्म ठ्याक्कै यही गर्छन् भन्ने पनि मलाई थाहा भएन । माथि केन्द्रमा के छलफल भयो भन्नेबारे मलाई केही भनिएको छैन ।

भोलि–पर्सिसम्म खबर गर्लान्, उनीहरू (गगन थापा, विश्वप्रकाश शर्मा)ले मलाई केही नभनेकाले ठ्याक्कै यस्तो हुन्छ भन्न सक्ने अवस्था रहेन । अस्ति कर्णालीको प्रदेशस्तरीय भेलामा बोले भन्नेमात्रै सुनियो । म त्यो बेला त्यहाँ थिइनँ ।

  • तपाईंलाई आफ्नै लयमा राजनीति गर्ने नेताका रूपमा बुझिन्छ, तर अहिले सत्ता समीकरणमा तपाईंको त्यो ‘निर्णायक छवि’ कतै केन्द्रको छायामा त परेन ? नेतृत्वको मुद्दामा तपाईंको मौनतालाई कसरी बुझ्ने ?

हैन, निर्णय गर्नुमात्र ठुलो कुरा होइन । नेतृत्व परिवर्तन भएपछि ठोस प्रतिफल देखिनुपर्छ भन्ने हो । समयमा यिनीहरूले गर्न दिएनन् । मेरो त्यो बेला (०८१ साउनतिर) को सोच एमाले र माओवादीसँग सहकार्य गर्ने थियो, तर केन्द्रको समीकरण र तालमेलले गर्दा परिस्थिति अर्कै बन्यो । केन्द्रको निर्णयविरुद्ध सधैँ विद्रोह गर्ने कुरा पनि भएन ।

अहिले हाम्रो गठबन्धन एमालेसँग हो । अब एमालेहरू पनि के–के कुरा गरिरहेका छन्, त्यो पनि थाहा छैन । पहिला ०८१ साउनतिर कांग्रेस–एमालेले माथि समीकरण बनाए । उल्टोउल्टो गरे । कति विद्रोह गर्ने ? तपाईंलाई थाहै होला, अहिले कर्णालीमा जति काम भएका छन्, ६–७ महिनामा भएका हुन् ।

हाम्रो सङ्घीयता काठमाडौँमा पानी पर्दा यहाँ छाता ओढ्नुपर्ने अवस्थाको छ । त्यसैले ‘ल भाइ हो, अब पानी पार, छाता ओढ्ने काम गरौँला’ भनेको हो । विद्रोह गर्दा नेताहरूले मन नपराउने, अहिले फेरि समय पनि गलत जस्तो भएकाले म त्यति अग्रसर छैन ।

समय त केही भएन । अब अहिले तुरुन्त बजेट बनाउन सुरु भइसक्यो । मैले बजेटको टाइम भनेको ।

मुख्यमन्त्री हुने चाहना नभएको होइन, तर नेतृत्व फेरिएपछि जनताले ‘केही राम्रो काम भयो’ भन्ने अनुभूति गर्न पाउनुपर्छ । काम नै नहुने अवस्थामा केवल व्यक्तिमात्र फेर्नुको कुनै अर्थ रहँदैन । बजेट आउन लागेको समयमा नेतृत्व सम्हाल्दा यदि सोचेजस्तो नतिजा दिन सकिएन भने ‘जीवन शाही आएर पनि के भयो र ?’ भन्ने प्रश्न उठ्छ ।

अहिले सरकारमा रहेकाहरूलाई अपमानजनक ढंगले हटाउनु भन्दा सम्मानजनक वहिर्गमन गराउनु उपयुक्त हुन्छ । मैले विगतमा पनि नेतृत्व परिवर्तनको प्रस्ताव राख्दा केन्द्रबाट सकारात्मक प्रतिक्रिया पाएको थिइनँ । अहिले जेठ १५ मा केन्द्रको बजेट आउँदैछ र कर्णालीमा पनि बजेटको सिलिङ आइसकेको छ । यस्तो संवेदनशील समयमा सरकार परिवर्तनको प्रयास कत्तिको व्यावहारिक होला, आफैँ विचार गर्नुस् त ।

  • अब समय निकै कम भयो, अहिले सरकार फेरबदल गर्नु उपयुक्त छैन भन्ने कुरा हो तपाईंको ?

समय त केही भएन । अब अहिले तुरुन्त बजेट बनाउन सुरु भइसक्यो । मैले बजेटको टाइम भनेको । किनभने मान्छेको आकाङ्क्षा हुँदो रहेछ कि अब यो आएपछि बजेट यस्तो आउला, उस्तो आउला । मुख्यमन्त्री बनेर बजेटको लागि वर्कआउट गर्न, योजना बनाउन दुई महिना जति त लाग्छ ।

अब यहाँ अहिले अर्काले पूर्वतयारी गरेको बजेटमा आएर मुख्यमन्त्री भयो, सबै त्यहाँ गरिसक्या छ । अब यो हटाउँ भन्नलाई पनि समय छैन ।

  • खासमा तत्कालीन कांग्रेस–एमालेको समीकरण अनुसार त तपाईं चैतमै मुख्यमन्त्री बन्नुपर्ने हैन र ? अब ०८४ वैशाखमा त चुनाव नै गराउनु पर्छ होला, हैन ?

त्यो समयको त केही भएन । नेतृत्वमा गइसकेपछि २–३ महिनामै रिजल्ट निकाल्न सकिन्छ । मुख्य कुरा, अहिले बजेटको समय भएकाले मुख्यमन्त्री बन्न समस्या हुने भयो । नयाँ मन्त्री नियुक्त गर्दा उनीहरूको सुरुवाती एक हप्ता त स्वागत सत्कारमै बिताउने भए ।

अब खादा लगाउन आउँछन्, ‘किन आयौ ?’ भन्न भएन । हाम्रो मूल उद्देश्य जनतालाई प्रभावकारी सेवा दिएर उनीहरूमा विश्वास जगाउने हुनुपर्छ । जनतामा जुन निराशा छ, त्यसलाई चिर्न सुरुमै केही राम्रो काम गरेर देखाउनुपर्छ । त्यसका लागि उपयुक्त समय चाहियो भनेको हो । व्यक्तिगत स्वार्थलाई त के थियो र ? तर माथिबाट फेरबदल भइहाल्छ भनेपछि केही छैन, मुख्यमन्त्रीको जिम्मा लिन्नँ भन्ने कुरा पनि भएन । यद्यपि मेरो आत्माले काम गरेपछि केही राम्रो गर्नु पर्‍यो, केही सुधार गर्नु पर्‍यो भन्ने हो । यहाँ कर्मचारीहरूमा पनि बिगारेका छन् । यिनीहरूलाई सुधार्न, राम्रो गर्न पनि एक–डेढ महिना लाग्ने जस्तो छ । नीति तथा कार्यक्रम ल्याउने समय पनि आयो ।

जीवन शाही मुख्यमन्त्री बनेर के गर्‍यो त भनेर मान्छेले हल्लाखल्ला गर्नु भन्दा बरु यिनले बजेट ल्याउन्, पछि राम्रोसँग कार्यान्वयन गर्ने, सुधार गर्न उपयुक्त होला भन्ने हो । व्यक्तिगत कुरा गर्ने हो भने त अहिले मुख्यमन्त्री बनाइदिए पनि म तयार छु, तर प्रदेशको हितको लागि गर्ने हो भने यो १२–१५ दिनको समयले त्यति राम्रो हुँदैन कि भन्ने लागेको छ ।

बरु संसदीय दलको बैठकमा सबै साथीहरूको स्वर एउटै थियो– जीवन शाही हाम्रो नेता हो र उहाँलाई नै छिटो मुख्यमन्त्री बनाउनुपर्छ ।

माथि उनीहरू पनि छलफल गरिरहेका छन् । यहीँबाट हामीले बनाउन सक्ने भइदिएको भए ल छोड भनिन्थ्यो । अनि आदेशचाहिँ माथिकै लिनुपर्ने अवस्था छ ।

  • सरकारको नेतृत्व परिवर्तन नभए पनि कांग्रेसका मन्त्रीहरू बदल्ने चर्चा व्यापक थियो, तर पार्टीभित्र अहिले गगन थापा पक्षलाई समेट्नुपर्ने बाध्यताका कारण तपाईंले मन्त्री फेरबदलको निर्णय नलिएको भन्ने पनि छ, यसमा सत्यता छ ?

त्यो गलत कुरा हो । पार्टीभित्रको फेरबदलको त के छ र ? हाम्रा त्यही १५ जना सांसद हुन् । जसलाई बनाए पनि सबै आफ्नै साथी हुन् ।

बरु संसदीय दलको बैठकमा सबै साथीहरूको स्वर एउटै थियो– जीवन शाही हाम्रो नेता हो र उहाँलाई नै छिटो मुख्यमन्त्री बनाउनुपर्छ । मन्त्री बनाउने कुरामा अहिले भएका वा पहिला भइसकेका साथीहरू भन्दा पनि नयाँलाई अवसर दिनुपर्छ होला, जसमा महिला र दलितको प्रतिनिधित्व अनिवार्य हुनुपर्छ । फेरि ठकुरीमात्रै आयो भन्लान् । सबै साथीहरूको पालो आउने हो ।

भूगोलका आधारमा पनि माथिल्लो कर्णाली र भेरी क्षेत्रबाट सन्तुलन मिलाएर मन्त्री छनोट गर्नुपर्ने हुन्छ । मैले पाउने तीन जना मन्त्री होला । मलाई मन्त्री छान्न त्यस्तो कुनै अप्ठ्यारो छैन । मुख्य कुरा, राम्रो काम गराउने हो । मैले त धेरै अगाडि, चैततिरै यो प्रक्रिया अगाडि बढाउन भनेको थिएँ । उनीहरूले (केन्द्रमा गगन र विश्व प्रकाश) सल्लाह गर्दैछौँ भने । अब अहिले आएर व्यक्तिगत माया र सम्बन्धले मात्र पुग्दैन, कामको नतिजा पनि निस्कनुपर्छ । यहाँ म बाहेकका १४ जना नै साथीहरूले मलाई सबल मानेर साथ दिनुभएको छ । म आफूलाई भाग्यशाली ठान्छु कि कर्णाली प्रदेशमा हाम्रा सबै नेता र साथीहरू एकढिक्का भई एकस्वरमा उभिनुभएको छ ।

  • वर्तमान सरकारबारे तपाईंको समीक्षा के छ ?

सरकारको पफर्मेन्सको कुरा त के भनौँ, भन्नै गाह्रो छ । केही भनौँ भने आफू पनि सरकारमा छ भन्लान् । मुख्य कुरा त मुख्यमन्त्रीले गर्ने हो । तर गठबन्धन सरकार भएका हुनाले त्यसको जिम्मेवारी हामीले पनि लिनुपर्छ । संयुक्त सरकारमा हुनुको नाताले जनताका अपेक्षा पूरा गर्ने सवालमा मेरो पनि उत्तरदायित्व रहन्छ ।

साँचो भन्नुपर्दा जनताको चाहना र आवश्यकता अनुसार हामीले जति राम्रो काम गर्नुपर्ने थियो, त्यसो गर्न सकेका छैनौँ । मुख्य समस्या के छ भने हामी आफैँले बनाएका कतिपय झन्झटिला नियम, कानुन र कार्यविधिहरूले गर्दा हामी बाँधिएका छौँ, जसले गर्दा सोचेजस्तो नतिजा निकाल्न सकिरहेका छैनौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप