राप्रपा बैठक : महाधिवेशनको मिति तय गर्न तीन नेतालाई जिम्मेवारी, अरू के–के गर्याे निर्णय ?
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय कार्यसमितिको बैठक जेठ २८ र २९ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
- पार्टीको जिल्ला, स्थानीय तहको अधिवेशन पुनः सुचारु गर्ने र महाधिवेशनको मिति निर्धारणका लागि तीन नेतालाई जिम्मेवारी दिइएको छ।
- संविधान संशोधनका लागि सुझाव पेस गर्न सल्लाहकार समितिलाई जिम्मेवारी दिइएको छ।
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ । शुक्रबार केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेकाे छ ।
बैठकले राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक जेठ २८ र २९ गते काठमाडाैँमा बस्ने निर्णय गरेकाे छ। राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत हालै सम्पन्न निर्वाचनका सम्बन्धमा सात वटै प्रदेशमा भएको समिक्षा बैठकको सुझावसहितको प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन बैठकमा र त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।
त्यस्तै प्रतिनिधि सभाको निर्वाचनका कारण यसअघि स्थगित गरिएको पार्टीको जिल्ला, स्थानीय र सबै तहको अधिवेशन पुनः सुचारु गर्ने निर्णय गरिएको छ। निकट भविष्यमा पार्टीको महाधिवेशन हुने भएकाले विधान बमोजिम सबै स्थानीय तह, क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला एवं प्रदेशको अधिवेशनमा तदारुकताका साथ जुट्न पार्टी पंक्तिलाई आह्वान समेत गरिएकाे प्रवक्ता माेहनकुमार श्रेष्ठले बताए।
पार्टीको आगामी महाधिवेशनको मिति निर्धारण एवं तालिका बनाई आगामी कार्यसम्पादन बैठकमा पेस गर्न उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा र सह महामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिइएको छ।
संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदलले पार्टीसँग माग गरेको सुझावका लागि पार्टीका सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गरिएको छ भने राप्रपाले पार्टीको स्थापित मान्यता र घोषणापत्रको स्पिरिट अनुसार संविधान संशोधनको सुझाव पेस गर्ने प्रवक्ता श्रेष्ठले बताए।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण