शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध

बिहीबार, २४ साउन २०७५, १४ : २३
बिहीबार, २४ साउन २०७५

सल्यान– सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।  नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ ।

कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको बाहिरी सम्पर्कसमेत बिच्छेद भएको छ । यातायात सेवा तथा सञ्चार सेवा बन्द भएपछि यस क्षेत्रका बासिन्दा प्रभावित भएको स्थानीय कुलप्रसाद भण्डारीले जानकारी दिए । 

‘गाउँपालिकामा नमस्तेबाहेक अरु टेलिफोनले काम गर्दैन त्यही नमस्ते पनि दुई महिनादेखि नियमित छैन यसले समस्या पारेको छ ।’ भण्डारीले भने, ‘लगातारको वर्षाले सदरमुकाम जोड्ने सडक तथा दाङदेखि सुर्खेत सडक पनि बन्द छ ।’ 

टेलिफोनको समस्याका बारे बारम्बार नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।  कालीमाटी गाउँपालिकाका–१ वडाबाहेक सबै ६ वडामा अहिले टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष केसीले जानकारी दिए ।

टावरमा खराबी आएको कुरा लिखितरुपमै टेलिकमलाई जानकारी गराएर सुनुवाइ नभएपछि मन्त्रालयसम्म पनि पुग्यौं तर सुनुवाइ भएन ।’ अध्यक्ष केसीले भने । लगातारको वर्षाले सडक अवरुद्ध भएकोमा त्यसलाई खुलाउन पहल भइरहेको अध्यक्ष केसीको भनाइ छ । सडक खुलाउन प्रयास भइरहेको छ लगातार अविरल वर्षा भइरहेको छ । 

यसैगरी यातायातका साधन सञ्चालन हुन नसकेपछि प्रसूति गराउन स्वास्थ्यचौकीमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय पलबहादुर केसीले बताए । ‘यातयातका साधन सञ्चालन छैनन् प्रसूति गराउन महिलालाई घण्टौँ हिँडेर स्वास्थ्यचौकीमा ल्याउनुपर्ने बाध्यता रहेको छ ।’ स्वास्थ्यचौकीमा उपचार हुन नसकेका बिरामीलाई उपचारका लागि दाङको बगालेसम्म १५ किलोमिटर बोकेर पुर्याउनु पर्ने बाध्यता रहेको केसीको भनाइ छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप