सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : पोखरा बसपार्कको अतिक्रमण

कसरी कब्जा भयो पोखरा बसपार्कको जग्गा ?

सोमबार, ११ जेठ २०८३, १० : ४५
सोमबार, ११ जेठ २०८३

सारांश

  • पोखरा बसपार्क निर्माणका लागि २०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरिए पनि हालसम्म निर्माण सम्पन्न हुन सकेको छैन।
  • अधाहण गरिएको जग्गामध्ये करिब ८१ रोपनी मात्र बाँकी रहेको छ, जसमध्ये ६८ रोपनी सेती नदीको कारण प्रयोगविहीन छ।
  • बसपार्कको जग्गा विभिन्न समयमा प्लटिङ, भाडामा दिने, र पहुँचवालालाई वितरण गर्ने जस्ता कार्यले टुक्रिएको छ।

पोखरा । २०३१ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले पोखराको पृथ्वीचोकमा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण गर्ने परिकल्पना गरे । उनले परिकल्पनामात्रै गरेनन्, जग्गा अधिग्रहणको प्रक्रियासमेत थाले ।

२०३२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले बसपार्कका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । त्यस यताका सबै निर्वाचनका घोषणापत्रमा पोखरा बसपार्क निर्माणको बुँदाले प्राथमिकता पाउँदै आयो । जग्गा अधिग्रहण सकिँदासम्म जन्मिँदै नजन्मिएकाहरू पनि पछिल्लो समय सांसद, मन्त्री र मेयर बनिसक्दासमेत पोखरा बसपार्क बन्न सकेन ।

अहिले बसपार्कको अवस्था कन्तविजोग छ । बसपार्कको जग्गाधनी पोखरा उपत्यका नगर विकास समितिले दर्जनौँ पटक अध्ययन समिति बनायो, समितिले रिपोर्ट दियो । बसपार्क बनाउने निर्णय धेरै पटक भयो । कहिले कन्सल्टेन्सी नै नियुक्त गरिए । यद्यपि बसपार्क अहिलेसम्म बन्न सकेन ।

  • कहाँ छ बसपार्ककको जग्गा ?

२०७० सालमा उपत्यका नगर विकास समितिका सदस्य बजिरमान श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनले बसपार्कको जग्गाबारे अध्यावधिक विवरण तयार गरेको छ । उक्त प्रतिवेदन अनुसार, अधिग्रहण गरिएको २०५ रोपनी जग्गामध्ये अब मुस्किलले ८१ रोपनी जग्गामात्र बाँकी छ । बाँकी जग्गामध्ये सेती नदीको किनारामा धाँजा फाटेर र भिरालो परेर करिब ६८ रोपनी जग्गा प्रयोगविहीन भएको निष्कर्ष निकालिएको छ ।

यस्तै, तत्कालीन समयमा अधिग्रहणमा परेका जग्गाधनी र एयरपोर्टबाट विस्थापितलाई मुआब्जा दिनुको सट्टा ४० रोपनी जग्गा प्लटिङ गरेर वितरण गरियो । पृथ्वी राजमार्ग र भित्री बाटोको मापदण्डले करिब २१ रोपनी जग्गा नोक्सान भएको देखाइएको छ । नगर विकास समितिले नै निर्णय गरेर २०३४ सालमै कल्याणी भारीको पञ्चरत्न पेट्रोल पम्पलाई बसपार्कभित्र १० वर्षका लागि ११ आना जग्गा भाडामा दिइयो । पछि उक्त जग्गा राजीनामा पास नै भयो ।

  • कसरी टुक्रियो जग्गा ?

बसपार्कको जग्गा मास्न २०३३ सालबाटै सुरु भएको देखिन्छ । तत्कालीन अञ्चलाधीश रामचन्द्र बहादुर सिंहले २०३३ कात्तिक २९ गते जग्गा अधिग्रहणमा परेकाहरूलाई नगद मुआब्जा दिनुको सट्टा बसपार्कभित्रै सट्टाभर्ना घडेरी दिने निर्णय गरे । त्यही समयदेखि बसपार्कको जग्गा टुक्र्याउन सुरु भएको हो ।

त्यसपछि २०४४ सालमा सूर्यबहादुर केसी प्रधानपञ्च हुँदा झन् धेरै जग्गा मासियो । २०३३ सालको आधिकारिक लगतमै नभएका आफ्ना आसेपासे र पहुँचवालालाई उनले हचुवाका भरमा जग्गा बाँडे । सुरुमा छुटेको भन्दै एउटा परिवारलाई ५ वटासम्म घडेरी वितरण भयो भने पक्की घर भएका सम्पन्न व्यक्तिहरूले समेत सुकुमबासी बनेर जग्गा ओगट्न थाले ।

समितिले १५ वर्षसम्म बेच्न नपाउने शर्तमा बाँडेको अधिकांश जग्गा २०६० सालपछि करोडौँमा किनबेच सुरु भयो । २०४४ साल वैशाखदेखि असोजसम्म एयरपोर्टबाट विस्थापितलाई सट्टाभर्ना दिने नाममा आधिकारिक रेकर्ड मै नभएकालाई हचुवाका भरमा जग्गा बाँडियो ।

२०४४ सालमा बाँडिएको जग्गामा १५ वर्षसम्म बेचबिखन गर्न नपाइने शर्त थियो, तर पोखराका सम्पन्न व्यापारी र पक्की घर भएका प्रवेश गरे । केही पहुँचवालाले एकाघरका परिवारलाई नक्कली रूपमा छुट्टिएको देखाएर ५ वटासम्म घडेरी हडपे । जब २०६० सालमा १५ वर्षे अवधि सकिएपछि जग्गा धमाधम किनबेच सुरु भयो । करोडौँसम्म एउटै घडेरीको कारोबार भएको चर्चा अहिले पनि छ ।

‘पोखरा बसपार्कको जग्गामा जुन खालको चलखेल भयो, त्यसमा सुरुदेखि नै खराब नियत देखिन्छ । बसपार्क बनाउने बजेट पुगेन भन्दै बहुमूल्य जग्गा कौडीको भाउमा बेच्ने र सट्टाभर्ना दिने प्रपञ्च रचियो,’ नगर विकास समितिका पूर्वअध्यक्ष प्रकाश मोहन खनालले भने, ‘यसमा वास्तविक सुकुमम्बासीभन्दा टाठाबाठाहरूले फाइदा उठाएका छन् । सरकारले अब विलम्ब नगरी यो जग्गा फिर्ता लिएर बसपार्क निर्माण गरोस् ।’

तत्कालीन समयमा अधिग्रहण गरिएकोमध्ये करिब ६० रोपनी जग्गा सेती नदीको डिलतर्फ परेकाले भासिएर र धाँजा फाटेर खेर गएको अध्ययनले देखाएको छ । त्यसपछि अधिग्रहण गरिएका जग्गाधनीहरूलाई मुआब्जा दिनुको सट्टा ४० रोपनी जग्गा वितरण गरिएको छ । होटल व्यवसायी र पेट्रोल पम्पलाई करिब ३ रोपनी जग्गा बाँडेको देखिएको छ भने २१ रोपनी राजमार्ग र भित्री बाटोको मापदण्डमा काटिएको छ ।

२०६४ सालमा विश्वप्रकाश लामिछाने अध्यक्ष हुँदा उनकै पालमा एउटा समिति बनाएर जग्गाका छानबिन भएको छ । कृष्ण बहादुर गुरुङको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनले १५ वर्षे शर्त तोडेर जग्गा बेच्ने व्यक्तिहरूको विवरण निकालेको छ । त्यस्ता जग्गाहरूको अवैध सिफारिस र राजीनामा बदर गर्न प्रतिवेदनले सिफारिस गरेको थियो, तर काम भएन । त्यसअघि अशोक पालिखे अध्यक्ष भएको बेलामा २०५ रोपनीको सट्टा ८१ रोपनीमा बसपार्क बनाउने तयारी गरियो । ४४ करोडको लागत अनुमानमा ६ वटा कम्पनी सर्टलिस्ट भए । नगर विकास समितिभित्रकै स्वार्थ बाझिँदा कम अङ्क ल्याउनेलाई ठेक्का दिन लागिएको भन्दै अख्तियारमा उजुरी पर्‍यो । अख्तियारको पत्रपछि टेन्डर रद्द भयो ।

पालिखेकै कार्यकालमा होटल व्यवसायीहरूलाई बसपार्क क्षेत्रमा सट्टा भर्ना वा घडेरी दिने कामलाई तीव्रता दिइएको देखिन्छ । बसपार्कको नक्सामा सार्वजनिक जग्गाका रूपमा रहेका स्थानहरूलाई होटल व्यवसायी र जग्गाधनीहरूलाई ४ रोपनी बराबरको १ रोपनी घडेरी दिने गरी निर्णय गरिएको थियो ।

तर, आफूले गरेको निर्णयबाट बसपार्क निर्माणमा कुनै अवरोध नगरेको पालिखे बताउँछन् । ‘सट्टाभर्ना वा जग्गा वितरणको विषयमा विगतमा केही निर्णयहरू भएका थिए, तर म आएपछि कुनै पनि नयाँ सट्टाभर्नाको काम भएको छैन । म त बसपार्क बनाउने र यसका लागि आवश्यक जग्गाको सही व्यवस्थापन गर्ने पक्षमा छु,’ उनले भने, ‘सट्टाभर्नाकै कारण बसपार्क निर्माण रोकिएको होइन । यो एउटा प्रक्रिया हो ।’

आफूले जग्गा नबेचेकोले नियतमा समस्या नभएको उनले दाबी गरे । सुरुमा उनी नै अध्यक्ष हुँदा घडेरी बेच्ने निर्णय भएको थियो । त्यसपछि क्षेत्र बहादुर केसी र विष्णुप्रसाद बास्तोला अध्यक्ष हुँदा ४२ वटा घडेरी ३ लाखका दरले र ३२ वटा घडेरी १ लाख ८० हजारका दरले बिक्री गरिएको रेकर्ड छ ।

पृथ्वी राजमार्गको सडक मापदण्डमा परेकाहरू र केही पुराना जग्गाधनीहरूलाई सट्टामा बसपार्ककै जग्गा दिइएको थियो । २०७० सालमा प्रकाशमोहन खनाल अध्यक्ष हुँदा बजिरमान श्रेष्ठको संयोजकत्वमा अर्को समिति गठन भयो । समितिले विभिन्न विकल्प दिएर बसपार्क निर्माणको सिफारिससहित प्रतिवेदन बुझायो । यसकै आधारमा २०७१ मंसिर ३ गते क्षेत्रीय प्रशासन कार्यालयले बसपार्क क्षेत्र खाली गर्न निर्देशन दियो ।

२०७१ मंसिर १५ गते समितिले १५ दिनभित्र टहरा आफैँ नहटाए कानुन बमोजिम डोजर लगाएर भत्काउने र त्यसको खर्च व्यक्तिबाटै असुल गर्ने सूचना निकाले पनि सुकुमबासीहरूले त्यसको विरोध गरे । अखिल नेपाल क्रान्तिकारी सुकुमबासी संघ र संयुक्त सुकुमबासी सङ्घर्ष समितिले विनाविकल्प आफूहरूलाई हटाउन नपाइने भन्दै आन्दोलन गरे । अनि प्रक्रिया रोकियो ।

त्यसयता पनि पोखरा महानगर र उपत्यका नगर विकास समितिले विभिन्न अध्ययन गरेका छन् । गत वर्ष पनि पोखरा महानगरपालिकाले नै बसपार्क निर्माणका लागि अध्ययन समिति बनायो । समितिले बसपार्कको पछिल्लो अवस्थाबारे अध्ययन गरेर केही सिफारिससहितको प्रतिवेदन बुझायो, तर कार्यान्वयन भने भएन ।

पछिल्लो प्रतिवेदनमा २०५ रोपनी जग्गामध्ये ठुलो हिस्सा अतिक्रमणमा परेको उल्लेखसहित त्यसलाई हटाएर आधुनिक टर्मिनल बनाउन सिफारिस गरिएको छ । अधिग्रहण गरिएको जग्गामा लामो समयसम्म बसपार्क निर्माण नभएपछि उक्त जग्गामा बिस्तारै सुकुमबासी भरिन थाले ।

पछिल्लो अध्ययन प्रतिवेदनले बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा करिब ४ सय सुकुमबासीका सानाठुला घर र व्यावसायिक संरचना रहेको उल्लेख गरेको थियो, तर अहिले अध्यावधिक गर्ने क्रममा ५७५ जनाले विवरण बुझाएका छन् । अझै केही थप हुन सक्ने पोखरा– ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए । उनका अनुसार सुकुमबासी बाहेकका संरचना अझै यकिन भएको छैन । त्यस्ता संरचना पनि एक सयभन्दा बढी रहेको बताइएको छ ।

समितिले जग्गा खाली भएपछि बसपार्कलाई चार वटा ब्लकमा विभाजन गरेर निर्माण कार्य अघि बढाउन सुझाव दिएको छ । पहिलो चरणमा खाली रहेको र कम विवादित जग्गामा तत्कालै पार्किङ र टर्मिनलको काम सुरु गर्ने र दोस्रो चरणमा बस्ती व्यवस्थापन गर्दै डिजिटल टर्मिनल बनाउने प्रस्ताव छ । अल्पकालीन रूपमा खाल्डाखुल्डी पुर्ने, ठेलागाडा हटाउने, शौचालय मर्मत गर्ने र सीसीटीभी क्यामेरा जडान गर्न समेत महानगरलाई सुझाव दिइएको छ ।

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले बसपार्क बनाउन सबै पक्षले सहयोग गरेकाले प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । महानगरले सुकुमबासी बाहेक लालपुर्जा लिएका जग्गावालालाई पनि आफ्नो संरचना हटाउन १५ दिनको म्याद दिएको छ । ‘बसपार्क निर्माणको कामलाई धेरै अघि बढाइसकेका छौँ । यसमा सबै सरोकारवालासँग छलफल र सहकार्य भइरहेको छ,’ नगर प्रमुख आचार्यले भने, ‘त्यहाँ बस्नुभएका सुकुमबासी साथीहरूको जायज मागलाई हामीले ध्यानमा राखेका छौँ । सबैले बसपार्क बन्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ भनेका छन् । महानगरले सहजीकरण गर्दैछ ।’

पोखराका सुकुमबासीहरूले महानगरको ३५ दिने सूचनापछि सङ्घर्ष समिति गठन गरेका थिए । महानगरकै आग्रहमा उनीहरूले उक्त समितिलाई सहजीकरण समितिका रूपमा परिणत गरेर वार्तामा बस्न थालेको महानगरका नगर प्रमुख आचार्यले जानकारी दिए ।

लालपुर्जा भएकाहरूलाई पनि छानबिन गरेर टुङ्गो लगाइने उनले सुनाए । ‘बसपार्क निर्माणको महाअभियानमा केही गुनासालाई सम्बोधन गर्न हामी न्यायिक छानबिन समिति गठन गर्दैछौँ,’ उनले अघि भने, ‘सरोकारवाला सम्पूर्ण साथीहरू र पाँच वटै टोलबासीबाट यो राष्ट्रिय गौरवको परियोजना सफल बनाउन रचनात्मक सहयोग, सहजीकरण र स्थानान्तरण प्रक्रियामा सकारात्मक भूमिकाको अपेक्षा गर्दछु ।’

अब विनाअवरोध काम अघि बढ्ने आचार्यको भनाइ छ । ‘पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क निर्माण गर्नुपर्छ भन्नेमा सबै दल र सरोकारवालाहरूको एकमत छ । बसपार्क निर्माणको अन्तिम चरणमा हामी छौँ,’ उनले भने, ‘यसमा अब कुनै अवरोध हुनुहुँदैन भन्ने मेरो मान्यता हो । साझा सहमतिका साथ पोखराको विकासलाई गति दिन्छौँ ।’

  • कसरी भयो बदमासी ? को–को संलग्न छन् ?

समितिकै रिपोर्ट अनुसार पोखराका धनाढ्य जुठेलाल श्रेष्ठले ५ वटासम्म घडेरी हडपेका थिए । उनकै एकाघरकी अविवाहित छोरी सच्ची गोर्खालीको नाममा अर्को घडेरी दिइयो । पछि २०६४ सालमा जुठेलालले पेवा बापत दिएको भनी कागज मिलाए । बुहारी शोभा श्रेष्ठको नाममा थप घडेरी दिइयो । प्रतिवेदनले यी सबै जना पोखराको नागुढुङ्गास्थित आफ्नै घरमा एकासगोलमा बसेको देखाएको छ ।

पोखराको मुख्य सहरी क्षेत्रमा पक्की घर र प्रशस्त सम्पत्ति भएकाहरू पछि घरविहीन भएको भन्दै बसपार्कमा प्रवेश गरे । पृथ्वी राजमार्ग बस व्यवसायी समितिका कर्मचारी कृष्णकुमार श्रेष्ठले २०४४ मा सुकुमबासी बनेर घडेरी लिएको खुलेको छ । पोखराको नयाँबजारमा उनको पक्की घर र अन्यत्र प्रशस्त जग्गा भेटिएको प्रतिवेदनले उल्लेख गरेको छ ।

महेन्द्रपुलकी सम्पन्न होटल व्यवसायी विष्णुमाया पन्नाचनले पनि बसपार्कमा टहरा बनाएर जग्गा हडपेको देखिएको छ । त्यसपछि बदमासी गर्नेहरू १५ वर्षे अवधिवाला छन् । २०४४ भदौ २१ गते जग्गा पाएकी हंसमाया पौडेलले २०६० मंसिर १२ गते लक्ष्मीदेवी पालिखेलाई ४० हजारमा बिक्री गरेर नामसारी गरिदिएकी छन् ।

२०४४ भदौ १७ गते जग्गा लिएका थमन सिं मगरले पनि २०६० पुस १० गते श्रीमती दिलमायाको नाममा राजीनामा पास गरी जग्गा बिक्री गरेका छन् । आधिकारिक प्रमाण नभए पनि २०६० साल मंसिर १० गते गममाया गुरुङले झुक कुमारी र दुर्गादत्त सुवेदीको नाममा सिफारिस मिलाइन् र २०६२ फागुन १८ गते जग्गा बेचिन् । ४४ साल भदौ ३२ गते जग्गा पाएका लक्ष्मण हमाल ठकुरीले २०६० पुस ७ गते लक्ष्मी ध्वजूको नाममा जग्गा नामसारी गरिदिएका छन् ।

बसपार्कको जग्गा २०३३ सालमा एयरपोर्ट विस्तार गर्दा विस्थापित भएकाहरूलाई मात्र दिने नियम थियो । तर, २०४४ सालमा लिस्टमै नभएका व्यक्तिहरूलाई ठाडो आदेशमा जग्गा बाँड्यो । २०३३ सालको पञ्जीकामा रेकर्ड नभएकी कौरी गुरुङलाई २०४४ असोज २५ को सिफारिसबाट जग्गा दिइयो । नन्दलाल महर्जन पनि एयरपोर्ट निर्माण हुँदा विस्थापित भएका थिएनन् । व्यापार गरी बस्ने उनले पहुँचका भरमा २०४४ वैशाख १६ बसपार्कको जग्गा ओगट्न सफल भए ।

यहाँ जग्गाधनीको मृत्यु भइसकेपछि नक्कली नाता प्रमाणित वा बकसपत्र खडा गरेर जग्गा हत्याउने गिरोह पनि सक्रिय थियो । २०४४ सालमा जग्गा प्राप्त गरेकी रत्नादेवी थकालीको २०४९ सालमा मृत्यु भयो । त्यसपछि सोम बहादुर जोशीले विवाह दर्ता र आधिकारिक मिसिलबिना नै आफूलाई धर्मपुत्र भनेर नक्कली नाता प्रमाणितका भरमा जग्गा आफ्नो नाममा ल्याए ।

२०४६ असोज २४ मा कालीप्रसाद अधिकारीको मृत्यु भयो । उनका भाइ शत्रुधन अधिकारीले दाजुको मृत्यु भइसकेपछि पनि तत्कालीन प्रधानपञ्चसँग मिलेमतो गरी दाजु जीवितै रहेको नक्कली सिफारिस बनाइ जग्गा आफ्नो नाममा पास गराएर बिक्री गरे । व्यक्तिमात्र होइन, बसपार्कको जग्गा व्यापारिक घराना र सरकारी निकायलाई पनि बाँडिएको थियो । बसपार्कको जग्गा पृथ्वीनारायण शाहको शालिक भएतिर बाटो खोल्दा कल्याणी भारीलाई सट्टाभर्ना भन्दै २ वटा घडेरी दिइयो । अर्को करिब १ रोपनी जग्गा २०३४ सालमा १० वर्षका लागि भाडामा दिइएकोमा २०४४ सालमा म्याद पुगेपछि राजीनामा पास नै गरेर पञ्चरत्न पेट्रोल पम्पलाई दिइएको रिपोर्टहरूले उल्लेख गरेका छन् ।

सुकुमबासी बाहेक अरु केही संघ–संस्थाले पनि बसपार्कको जग्गा हडपेका छन् । तत्कालीन समयमा बसपार्कमा पर्ने जग्गा अहिले बाटोमा पर्ने देखिएको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोकस्थित बसपार्क र यातायात व्यवस्था कार्यालय अगाडिको बहुमूल्य जग्गा विभिन्न ९ वटा संघ–संस्थाले अवैध रूपमा कब्जा गरेका छन् । यी संस्थाले वर्षौंदेखि सरकारी जग्गा अतिक्रमण गरी कार्यालय सञ्चालन गर्नेदेखि व्यापारिक प्रयोजनका लागि सटर भाडामा लगाउनेसम्मका काम गरेका छन् ।

बसपार्क अतिक्रमणः कहिले के भए ?

  • २०५ रोपनी जग्गा अधिग्रहण–२०३२
  • जग्गा टुक्र्याउने नीतिगत निर्णय–२०३३
  • पञ्चरत्न पेट्रोलपम्पलाई जग्गा भाडामा दिइएको–२०३४
  • सुकुमबासीको बसोबास सुरु–२०३६
  • ब्यापक जग्गा बाँडेको–२०४४
  • १५ वर्षे सर्तपछिको किनबेच मेला–२०६०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप