‘प्रधानमन्त्री संसद्सँग किन तर्सिरहेका छन् ?’
सारांश
- नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्सँग किन तर्सिरहेको भन्दै प्रश्न उठाएको छ।
- एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको र संविधान तथा संसदीय अभ्यास विपरीत अघि बढेको आरोप लगाएका छन्।
- उनले प्रधानमन्त्रीले संविधानको धारा ७६ (१०) र ८१ को भावना उल्लङ्घन गरेको, संसद्मा उपस्थित नभई उत्तरदायी नबनेको तथा कार्यपालिका र राष्ट्रपतिको बीचमा दूरी सिर्जना गर्ने प्रयास गरेको आरोप लगाएका छन्।
काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्सँग किन तर्सिरहेको भन्दै प्रश्न उठाएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसद्बाट टाढा रहन खोजेको आरोप लगाएका हुन्।
यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसद्सँग किन त्रसित छ र संसद्लाई छल्ने प्रयास किन भइरहेको छ भन्दै उनले प्रश्न गरे। प्रधानमन्त्री संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै उनले सरकार संविधान र संसदीय अभ्यास विपरीत अघि बढिरहेको बताए।
उनले संविधानको धारा ७६ (१०) र धारा ८१ को भावना सरकारले उल्लङ्घन गरिरहेको उल्लेख गरे। उनका अनुसार संविधानले प्रधानमन्त्री र मन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ, तर प्रधानमन्त्री अहिलेसम्म संसद्मा उपस्थित भएर कुनै पनि विषयमा जवाफ दिन आएका छैनन्। उनले कार्यपालिका र राष्ट्रपतिबिच दूरी सिर्जना गर्ने प्रयास भइरहेको र राष्ट्रपति संस्थालाई अपमानित एवं बाइपास गर्ने गतिविधि भइरहेको आरोप पनि लगाए।
बैठकमा बोल्दै प्रमुख सचेतक महरले भने, ‘यति धेरै अपार जनमत पाएको सरकार र त्यसको प्रमुख यो संसद्सँग किन त्रसिरहनुभएको छ ? संसद्सँग किन टाढा भइरहनुभएको छ र यसलाई छल्न खोजिरहनुभएको छ ? आज आम जनता र संसद्मा प्रतिनिधित्व गर्ने सबैको यो आम प्रश्न हो। यो संसद्ले प्रधानमन्त्री उत्पादन गर्यो, आफूलाई उत्पत्ति गर्ने संसद्लाई जुन अवमूल्यन गर्ने काम भइरहेको छ, नेपाली जनतालाई, संसद्लाई यसले गम्भीर बनाएको छ। संविधानको धारा ७६ को १० र धारा ८१ को सरकारबाट उल्लङ्घन गर्ने काम भइरहेको छ। धारा ७६ को १० ले प्रधानमन्त्री र मन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्छ भन्ने व्यवस्था गरेको छ तर आजसम्म एकपटक पनि प्रधानमन्त्रीले संसद्मा आएर कुनै पनि कुराको जवाफ दिनुभएको छैन। यसप्रति उहाँको रेस्पोन्स छैन, रेस्पेक्ट छैन। प्राक्टिसहरू जुन छ, त्यसको खण्डन गरिएको छ।’
गणतन्त्र दिवसमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भइरहेको भन्दै उनले सरकारको भूमिकामाथि थप प्रश्न उठेको बताए। यी सबै विषयमा प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ।
उनले थपे, ‘अहिले कार्यपालिका र राष्ट्रपतिको बिचमा दूरी पैदा गर्ने काम भइरहेको छ। यो पनि संविधानको गम्भीर उल्लङ्घन हो। यसले प्रश्न उठाएको छ, संविधान संशोधनसम्बन्धी बहस कार्यदल बन्दैछ, कस्तो बहस सिर्जना गर्न खोजिएको हो ? राष्ट्रपति संस्थालाई अपहेलना गरेर र त्यसलाई बाइपास गरेर के गर्न खोजिएको हो ? गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने कुरा सुनिँदैछ, यस्ता गम्भीर प्रश्न उठेका छन्, यसको जवाफ प्रधानमन्त्रीले यो संसद्मा दिनुपर्नेछ। प्रधानमन्त्रीले संसद् नियमावलीमा भएका धेरै कुराहरूलाई अनदेखा गरिरहनुभएको छ, उहाँ किन खोपीको देउता बन्न खोज्दै हुनुहुन्छ ? के प्रधानमन्त्री बालेन्द्र शाहलाई खोपीको देउता बनाएर घन्टी बजाएर पूजा गर्न लागेको हो ? लोकतन्त्रको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ? संविधानको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? यी प्रश्नको जवाफ सदनमा आएर प्रधानमन्त्रीले दिनुपर्छ। प्रधानमन्त्री संसद्मा नआई संसद्को कारबाही अगाडि बढ्न सक्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण