सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री लोकप्रिय र सरकार शक्तिशाली होला, तर सदनको प्रश्नभन्दा माथि कोही छैन: सांसद घतानी

बुधबार, १३ जेठ २०८३, १३ : ११
बुधबार, १३ जेठ २०८३

सारांश

  • नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्।
  • सांसद घतानीले प्रधानमन्त्री साहलाई सदनमा उठेका प्रश्नहरूको जवाफ दिने हिम्मत गर्न चुनौती दिइन्।
  • उनले सरकारलाई प्रश्न नै गर्न नहुने खालको प्रवृत्ति संसद्‌मा देखिँदै गएको भन्दै आक्रोश व्यक्त गरिन्।

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र शाहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्। 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको प्रश्नको जवाफ नदिने प्रधानमन्त्री शाहले लोकतन्त्रको अपमान हुने गरी गतिविधि गरिरहेको भन्दै आपत्तिसमेत जनाइन्। 

सांसद घतानीले प्रधानमन्त्री शाहलाई आफ्नो कामप्रति विश्वास भए सदनमा उठेका प्रश्नहरूको जवाफ दिने हिम्मत गर्न चुनौतीसमेत दिइन्। उनले सरकारलाई प्रश्न नै गर्न नहुने खालको प्रवृत्ति संसद्‌मा देखिँदै गएको भन्दै आक्रोशसमेत व्यक्त गरिन्।

बैठकमा बोल्दै सांसद घतानीले भनिन्, ‘देशमा लोकतन्त्रका लागि एउटा घातक प्रवृत्ति देखिँदै गएको छ । सरकारलाई प्रश्न गर्न नहुने मानसिक विकास हुँदै गएको छ । प्रश्न गर्नेहरूलाई नै गलत साबित गर्ने प्रयास भइरहेका छन् । तर लोकतन्त्र अन्ध समर्थनको व्यवस्था होइन । नागरिकहरू ताली मात्रै बजाउने भिड पनि होइन । यहाँका सांसदहरू जनताका प्रत्यक्ष आवाजहरू हुन । सरकारलाई निरन्तर जबाफदेही बनाउने शक्ति हुन् ।’ 

उनले थपिन्, ‘प्रधानमन्त्री लोकप्रिय हुन सक्नुहुन्छ । सरकार शक्तिशाली पनि हुन सक्छ । तर सदन र जनताको प्रश्नभन्दा माथि कोही पनि हुन सक्दैन । यदि सरकारलाई आफ्नो कामप्रति विश्वास छ भने सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित भएर जनताका प्रश्नको जवाफ दिन किन हच्किच्याउनु हुन्छ ? सत्ताको दम्भ दीर्घकालीन हुँदै हुँदैन । तर जनताको आवाज र लोकतन्त्र सधैँ जीवित रहन्छ । लोकतन्त्रको अपमान कदापि सह्य हुँदैन । प्रधानमन्त्रीज्यूलाई जनताको प्रश्नबाट भाग्न कति पनि छुट छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप