आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सिम्खडा वंशावलीको लोकार्पण

शुक्रबार, १५ जेठ २०८३, २३ : ०४
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ ।  धादिङका सिम्खडाहरुको वंशावली लोकार्पण भएको छ । बसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजमा शुक्रबार आयोजित एक समारोहमा वंशावली लोकार्पण गरिएको हो । 

सिम्खडा वंशकै वरिष्ठतम सदस्य हरिमाया र वंशावलीका संकलक दुर्गा प्रसाद सिम्खडाले कृतिको संयुक्त रुपमा लोकार्पण गरेका हुन् । 

वंशावलीमा सिम्खडाहरुको गोत्र त्रिप्रवर निरुपण,उद्गम थलो, कुलदेवता, सामाजिक विकासक्रम, वंशका कीर्तिहरु लगायतका विवरणसमेत समेटिएको छ ।

जुम्ला चन्दननाथस्थित सिम्खाडाबाट धादिङको बसेरीमा आएर बसेका रामु पाध्याका सन्तति पछि धादिङकै साल्दुममा बस्न पुगेको वंशावलीमा खुलाइएको छ । रामु पाध्याका छैठौँ पुस्ताका बालकृष्ण सिम्खडाका ६ छोराका सम्पूर्ण सन्ततिको पारिवारिक विवरण वंशावलीमा छ । 

वंशावलीमा मूलथलो साल्दुम भएका बालकृष्णका ६ छोराका सन्तति  (पाँच हजार चानचुन)का अतिरिक्त धादिङका दाङसिङ, फलाङ्गे, छत्रे देउराली, मैदी, गलने, तारुखर्क मूलथलो भएका सिम्खडाहरुको समेत संक्षिप्त विवरण समावेश गरिएको छ । 

13325445-ec0c-4f23-9fbe-5274b779a294

बालकृष्णका चौथो पुस्ताका सदस्य ८६ बर्षिय दुर्गा प्रसाद सिम्खडाले निजी खर्चमा वंशावली संकलन र प्रकाशन गरेका हुन् । हार्ड कभर भएको वंशावली ३ सय ७२ पृष्ठको रहेको छ ।  

लोकार्पण समारोहमा यो वंशावलीका विवरणसमेत समेटिएको पोर्टल www.simkhada.org को डेमो पनि गरिएको थियो ।

धादिङका सिम्खडाहरु अहिले नेपालका विभिन्न जिल्लाकासाथै पूर्वको जापान, दक्षिणका न्युजिल्यान्ड र अस्ट्रेलिया तथा पश्चिमका बेलायतसहित युरोपेली देशहरु एवं क्यानाडा र संयुक्त राज्य अमेरिकासम्म फैलिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप