शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

अमेरिकी सौम्य शक्तिको अन्त्य

शनिबार, १६ जेठ २०८३, १६ : ००
शनिबार, १६ जेठ २०८३

सारांश

  • ट्रम्प प्रशासनले 'सफ्ट पावर' लाई बेवास्ता गर्दै 'हार्ड पावर' मा पूर्ण विश्वास गरेको छ, जसले अमेरिकाको वैश्विक आकर्षण घटाएको छ।
  • कठोर शक्तिको अत्यधिक प्रयोग, कूटनीतिको अवहेलना, र अन्तर्राष्ट्रिय नियमहरूको उल्लंघनले अमेरिकाको छवि खस्किँदै गएको छ।
  • अमेरिकाको विदेश नीतिमा विगतका सफलताहरू 'सफ्ट पावर' को प्रयोगबाट प्राप्त भएका थिए, तर वर्तमान प्रशासनले यसलाई त्यागेर कठोर शक्तितर्फ लागेको छ।

ट्रम्प प्रशासनले अवलम्बन गरेको विदेश नीतिको एउटा गज्जबको विशेषता भनेको यसले रोज्ने गरेको लक्ष्य नभएर त्यसलाई हासिल गर्ने तरिका हो। जसअनुसार अमेरिका अहिले आफ्नो कठोर शक्ति (हार्ड पावर) मा पूर्ण विश्वास गरिरहेको देखिन्छ। मेरा सहपाठी एवं स्वर्गीय जोसेफ नाईले भनेजस्तो ‘सौम्य शक्ति’ वा ‘सफ्ट पावर’ लाई बिलकुलै बेवास्ता गर्दै छ।

नाईले सफ्ट पावरलाई ‘आकर्षणको शक्ति’ का रूपमा परिभाषित गरेका थिए। जसअनुसार कुनै मुलुकले अन्य मुलुकलाई आफूले चाहेको काम गराउँदा आफूसँग भएका खास विशेषताहरूका कारण उसको नक्कल गर्न, त्यससँग नजिक हुन तथा अगुवाइ स्वीकार्न लगाउन सक्छ। प्रशस्त हार्ड पावर भएका मुलुकहरू अन्य मुलुकलाई शक्ति र जबर्जस्ती, सहायता वा संरक्षणको माध्यमबाट आफ्नो काम गराउन सक्छन्।

आफूसँग प्रशस्त सफ्ट पावर भएका मुलुकहरूले भने विगतमा विनाधम्की वा आक्रमण ठूलो प्रभाव पार्न सफल भएका थिए। अन्य मुलुकहरू पनि उनीहरू जस्तै बन्न चाहन्थे। उनीहरूले लिएका सिद्धान्तमा सहमत हुन्थे। त्यस्ता मुलुकलाई आकर्षक, ‘फेसनेबल’ तथा सफल समेत ठान्थे।

मजस्ता आफूलाई खाँटी यथार्थवादी भन्ने व्यक्तिहरूको विचारमा भने हार्ड पावरको महत्त्व कहिल्यै कम भएको थिएन। बरु त्यसको विपरीत उल्लेख्य हार्ड पावरको अभावमा प्रभावकारी सफ्ट पावर विरलै हासिल हुने गर्थ्यो। कहिलेकाहीँ धेरै हार्ड पावर हुँदा पनि सफ्ट पावर कम हुन भने सक्छ।

आफ्नो लामो करियरको अन्त्यतिर भने नाई आफैँ पनि अमेरिकाको वैश्विक आकर्षण घट्दै गएकोमा चिन्ता गर्न थालेका थिए।

जस्तो– भ्लादिमिर पुटिनको रुसलाई उदाहरणका रूपमा हेर्न सकिन्छ। आदर्श अवस्थामा कुनै पनि राज्यले यी दुवै खालका शक्ति हासिल गर्न चाहन्छ। प्रशस्त सफ्ट पावर हुँदा अन्य मुलुकलाई सहजै आफूले चाहेको दिशामा ढल्काउन सकिन्छ। त्यसो गर्न हार्ड पावरको प्रयोग गरिहाल्नु पर्दैन।

जोसेफ नाई अमेरिकाको हार्ड र सफ्ट पावरको मिश्रणले अन्य मुलुकसँगको सम्बन्धमा असाध्यै ठूलो फाइदा दिइरहेको ठान्थे। उनले अमेरिकाको भविष्यप्रति विश्वास गर्ने तथा आगामी दिनमा अमेरिकी प्रभुत्व पतनको भविष्यवाणी गर्नेहरूप्रति शङ्का गर्नुका पछाडि सफ्ट पावरबारे उनको यो धारणाको पनि हात थियो।

आफ्नो लामो करियरको अन्त्यतिर भने नाई आफैँ पनि अमेरिकाको वैश्विक आकर्षण घट्दै गएकोमा चिन्ता गर्न थालेका थिए।

ट्रम्पको दोस्रो कार्यकालमा अमेरिका हार्ड पावरमा मात्रै विश्वास गर्न थालेको प्रस्ट हुँदै गयो। उनको प्रशासनले आफ्ना व्यापारिक साझेदारहरूलाई भन्सार महसुल वृद्धिको धम्की दिएर एकतर्फी आर्थिक सम्झौताका लागि बाध्य पार्न थाले। त्यस्तो कदम रोक्नका लागि अमेरिकी सर्वोच्च अदालतले दिएको आदेश पनि उनले बेवास्ता गरिरहेका छन्। आधा दर्जनभन्दा बेसी मुलुकमा सैन्य शक्तिको प्रयोग गरेका छन्।

क्यारेबियन तथा प्रशान्त महासागर क्षेत्रमा तस्कर भनिएका व्यक्तिहरूको हत्या गरिरहेका छन्। त्यसरी मारिने मानिसहरू को थिए भन्ने पनि थाहा पाउन सकिएको छैन। उनीहरू लागुऔषध तस्कर नै थिए वा थिएनन् भन्ने कुनै टुङ्गो छैन। उनीहरूको हत्याले अवैध लागुपदार्थको ओसारपसार रोकिन्छ कि रोकिन्न भन्ने पनि निश्चित छैन।

कूटनीतिको बाटो हठात् छोडेर इरानसँग अनावश्यक युद्ध सुरु गरे। यसो गर्दै गर्दा उनलाई इरानी शासन तत्काल ढल्नुका साथै आफूले चाहेजस्तो सरकार बन्नेवाला छ भन्ने लागेको थियो।

ट्रम्प निरन्तर अन्य विश्व नेताहरूलाई कमजोर र निम्छरो भएको आरोप लगाइरहेका छन्। उनले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग त ‘कुनै कार्ड नै नभएको’ भन्दै रुससँग सम्झौता सुरु गर्न आदेशसमेत गरे। क्युवाका जनतालाई अप्ठेरोमा धकेल्दै त्यहाँको शासनलाई आत्मसमर्पण गराउनका लागि उनले नाकाबन्दी नै लगाइदिए।

उनी त्यतिमा मात्रै रोकिएनन्। कूटनीतिको बाटो हठात् छोडेर इरानसँग अनावश्यक युद्ध सुरु गरे। यसो गर्दै गर्दा उनलाई इरानी शासन तत्काल ढल्नुका साथै आफूले चाहेजस्तो सरकार बन्नेवाला छ भन्ने लागेको थियो।

हार्ड पावरमा अत्यधिक भर पर्दै गर्दा त्यसको प्रयोगलाई वैधानिक बनाउने, औचित्य सिद्ध गर्ने वा सकेसम्म लुकाएर गर्नेतर्फ भने ज्यादै कम मिहिनेत गरिएको छ। पक्कै पनि प्रायः देशहरू कहिलेकाहीँ नराम्रा काम गर्छन्। अझ ठूला शक्ति राष्ट्रहरू त झनै बढी गर्छन्। तर त्यसो गर्दा उनीहरू आफ्नो गतिविधि वा शैलीलाई अनेक मानकहरूको तर्कपूर्ण वा आकर्षक ‘कभर’ ले ढाक्ने गर्छन्।

तर ट्रम्प प्रशासन भने स्थापित मान्यता उल्लङ्घन गर्दा तथा अर्को मुलुकलाई दुःख दिँदा झनै खुसी भएको देखिन्छ। ट्रम्पले इरानको सभ्यता नै मेटाइदिने धम्की दिँदा होस् वा अमेरिकी रक्षामन्त्रीले अन्तर्राष्ट्रिय कानुन नमान्ने खुलेआम घोषणा गर्दै अमेरिकी सेनाले हैसियत देखाइदिने घोषणा गर्दा नै किन नहोस्, उनीहरूको उद्देश्य अरूलाई आफ्नो कुरा मनाउन लगाउनुको सट्टा तर्साएर काम गराउन खोजेको प्रस्ट हुन्छ।

सहायता रोकिँदा विश्वभर दशौँ लाख मानिसहरूको जीवन नै अप्ठेरोमा परेको छ। यो विषयमा अमेरिका भने मनमौजी र उदास देखिन्छ।

अरूलाई आकर्षित गर्नुको साटो उनीहरू आफ्नो निर्णय मान्न बाध्य पार्छन् भन्ने स्पष्ट देखिन्छ। ‘बलियो भएपछि कसैको मतलब गर्नु पर्दैन’ भन्ने नै उनीहरूको आदर्श वाक्यजस्तो देखिन्छ।

हार्ड पावरप्रति यो स्तरको श्रद्धाको पछाडि धेरै थोक छ। कुनै बेला अन्य मुलुकहरूले आकर्षक मानेका अमेरिकी संस्थाहरू एवं नीतिलाई व्यवस्थित रूपमा भद्रगोल पारिएको छ। एलन मस्क र ‘डोजे’ को पहलमा अमेरिकी अन्तर्राष्ट्रिय सहायता संस्था एकाएक बन्द गरिएको छ।

सहायता रोकिँदा विश्वभर दशौँ लाख मानिसहरूको जीवन नै अप्ठेरोमा परेको छ। यो विषयमा अमेरिका भने मनमौजी र उदास देखिन्छ। ‘भ्वाइस अफ अमेरिका’ सञ्जाल बन्द गराउने प्रयास भएको छ। त्यसलाई अमेरिकी अदालत तथा संसद्मा देखिने दुर्लभ प्रतिवादले रोकेको छ। विदेशमन्त्री मार्को रुबियोले अमेरिकालाई ६० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठनबाट बाहिर निकालेका छन्।

दर्जनौँ कूटनीतिक पदहरू खाली राखिएको छ। केही अन्तर्राष्ट्रिय शिखर बैठकमा अमेरिकी प्रतिनिधित्व नै गराइएको छैन। ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ का हिंस्रक गतिविधिका कारण निर्दोष आन्दोलनकारीहरू पनि मारिएका छन्। यसले अमेरिकाको कुरूप पक्ष विश्वसामु उदाङ्गो पारिदिएको छ। कुनै समय विश्वभर अमेरिकी प्रतिष्ठा र सफ्ट पावरको भव्य प्रतीक मानिने अमेरिकी उच्च शिक्षा क्षेत्रमा जथाभाबी आक्रमण गरिएको छ।

अमेरिकी क्याम्पस तथा विश्वविद्यालयहरू विश्वभरका विद्यार्थीका लागि कम आकर्षक बन्दै गएका छन्। सरकारका त्यस्ता कदमले प्राज्ञिक क्षेत्रलाई ठूलो क्षति पुर्‍याउनुका अलावा अमेरिकामा पढ्न आउने विदेशी विद्यार्थी सङ्ख्या पनि घटाउँदै छ। अमेरिकामा पढ्न आउनेहरू पनि आफू आइपुगेको समयमा भन्दा अझ बढी ‘प्रो–अमेरिकन’ बन्दै छन्।

यी सबै प्रसङ्गलाई एकसाथ राखेर हेर्नासाथ हामी संसारभर अमेरिकाको छवि खस्किँदै जाँदा चीनको छवि किन निरन्तर सकारात्मक रूपमा बढिरहेको छ भन्ने सजिलै बुझ्न सक्छौँ।

अमेरिकी राष्ट्रपतिदेखि लिएर प्रशासनका सबैजसो व्यक्तिको बुझाइमा संसार दुई भागमा विभाजित छ। एकातर्फ बलिया (विजेता) हरू छन् भने अर्कोतर्फ निर्धा (हरुवा) हरू छन्।

यसरी अमेरिकी सफ्ट–पावरमा प्रशासनले जानाजान गरिरहेको हमला देख्ने म पहिलो व्यक्ति होइन। तर प्रशासनका अधिकारीहरू भने के भइरहेको हो भन्ने नै ठम्याइरहेका छैनन्। मलाई आश्चर्य लाग्छ, के उनीहरू सामान्य कुरा पनि नबुझ्ने हुन् र ? यसरी हार्ड पावरमा अत्यधिक भर पर्दै, अन्य मुलुकविरुद्ध हानि पुर्‍याउन सैन्य बलको प्रयोगलाई सहज र सामान्य बनाउँदा आगामी दिनमा अन्य मुलुकहरू अमेरिकासँग काम गर्न कम अनिच्छुक हुन्छन् भन्ने थाहा नभएको हो र ?

धम्काउने, बदलाभाव राख्ने तथा कति बेला के गर्छ भन्ने थाहा नभएको अमेरिकासँग काम गर्न असहज अनुभव गर्दैनन् होला र ? ‘झिँगा समाउन भिनेगरले भन्दा महले धेरै सजिलो हुन्छ’ भन्ने नबुझेका हुन् र ?

यी तमाम अवस्थाहरूमाझ के भइरहेको हो भन्नेबारे मेरो बुझाइ निम्नानुसार छ–

पहिलो, अमेरिकी राष्ट्रपतिदेखि लिएर प्रशासनका सबैजसो व्यक्तिको बुझाइमा संसार दुई भागमा विभाजित छ। एकातर्फ बलिया (विजेता) हरू छन् भने अर्कोतर्फ निर्धा (हरुवा) हरू छन्। उनीहरूका लागि कमजोरसँग सम्झौता गर्नु भनेको असफलताको सङ्केत हो। यही कारण उनीहरू प्रायः आक्रामक व्यवहार देखाउने गर्छन्। सानोतिनो आलोचनामा पनि कडा प्रतिक्रिया दिन्छन्।

क्यानडा वा डेनमार्कजस्ता अमेरिकाका कट्टर समर्थक देशविरुद्ध पनि कुनै सोचविचारसमेत नगरी कठोर र आक्रामक प्रतिक्रिया दिन्छन्। रक्षामन्त्री पेटे हेगेसेथजस्ता अधिकारीहरू सैन्य सामर्थ्य र ‘योद्धाको मनोविज्ञान’ लिनुपर्नेमा जोड गर्छन्। ह्वाइट हाउसका सल्लाहकार स्टेफेन मिल्लर इतिहास नै बलियोले गर्ने शासनलाई सबैले समर्थन गर्ने ‘कठोर नियम’ ले चल्ने गरेको तर्क गर्छन्।

प्रशासनको महत्त्वपूर्ण र निर्णायक भूमिकामा रहेका व्यक्तिका यस्ता धारणाले सिङ्गो सरकारको दृष्टिकोण बुझाउँछ। ट्रम्प प्रशासनमा कार्यरत धेरैजसोले बलियोले आदेश दिने र कमजोरले त्यसलाई मान्नुपर्ने धारणा मान्ने गरेको देखिन्छ। यस्तो दृष्टिकोणअनुसार नियम भनेको अरूले मात्रै मान्नुपर्ने हुन्छ। आफूले भने खासै मान्नु पर्दैन।

दोस्रो, ट्रम्प र उनका समर्थकहरू आफूलाई असाध्यै देशभक्त दाबी गर्छन्। तर उनीहरूलाई आफूले नेतृत्व गर्न खोजेको मुलुक भने मन पराउँदैनन्। ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् ‘मागा’ भनिने आन्दोलनको एउटा नारा नै हेरौँ, जसमा भनिएको छ– ‘यदि तपाईंहरू अमेरिकालाई फेरि महान् बनाउनुपर्छ भन्ने ठान्नुहुन्छ भने तपाईंले अहिलेको अमेरिकालाई महान् मान्नै हुँदैन।’

उनीहरूका सबै गतिविधि नियालेर हेर्दा हामी देख्न सक्छौँ, ट्रम्पदेखि उनका सामान्य समर्थकसम्मले अमेरिकाको असाध्यै कम विषयमा मात्रै प्रशंसा गर्छन्। उनीहरूलाई त्यहाँका धेरैजसो मिडिया मन पर्दैन। लोकप्रिय मनोरञ्जन कलाकारलाई त उनीहरू देखी सहँदैनन्। आफूभन्दा पनि ठूलो सङ्ख्यामा रहेका डेमोक्र्याटहरूलाई त घृणा गर्छन्। कानुनी शासन वा शक्ति सन्तुलनको सिद्धान्तमा उनीहरूको रुचि छैन। अमेरिकामा नजन्मिएका हरकोही नागरिकमा उनीहरूको शङ्का हुन्छ।

ट्रम्प र उनका सहयोगी एवं समर्थकहरू कुनै पनि समस्याको तात्कालिक वा क्षणिक समाधानलाई नै ठूलो उपलब्धि ठान्छन्।

केही त यहीँ जन्मेकालाई पनि शङ्का गरेर हेर्छन्। विज्ञानप्रति कुनै सम्मान छैन। विश्वविद्यालय उनीहरूलाई दुश्मनजस्तो लाग्छ। कूटनीतिक पङ्क्ति, सरकारी निकायहरू एवं अमेरिकी सेनालाई समेत ‘डिप स्टेट’ ले नराम्रोगरी प्रभावमा पारेको छ भन्ने उनीहरूलाई गहिरो विश्वास छ। ट्रम्पलाई त ह्वाइट हाउस भवनको ढाँचा नै मन नपरेर त्यसको पुनर्निर्माणमा लागेका छन्।

उनलाई त्यहाँभित्र भव्य स्मारक बनाउनु छ। उनीहरूलाई अमेरिका असाध्यै डरलाग्दो अवस्थामा छ भन्ने लाग्छ। अमेरिकासँग रहेका केही खास र स्थायी विशेषताहरू अरूलाई आकर्षक हुन सक्छन् भन्ने कल्पना गर्न पनि उनीहरूलाई गाह्रो हुन सक्छ।

तेस्रो, ट्रम्प र उनका सहयोगी एवं समर्थकहरू कुनै पनि समस्याको तात्कालिक वा क्षणिक समाधानलाई नै ठूलो उपलब्धि ठान्छन्। अन्तरिम व्यापार सम्झौता, फर्जी शान्ति सम्झौताजस्ता विषय देखाएर ठूलै सफलताको हल्ला गर्छन्। उनीहरू अन्य नेतासँग सम्झौता टुङ्ग्याउनेमा आतुर देखिन्छन्। तर उनीहरूलाई आम मानिसहरूबीचको सम्बन्धको खासै चासो देखिन्न।

जनताबीचको सम्बन्धको प्रतिफल अलि ढिलो आउँछ तर प्रभावकारी हुन्छ। उनीहरूका लागि भने आफ्नो कार्यकालपछि हात लाग्ने उपलब्धिमा धेरै चासो छैन। आफू सत्ताभन्दा बाहिर पुगेपछि हात लाग्ने उपलब्धिको के अर्थ भन्ने भाव देखिन्छ।

यी र यस्ता विश्वदृष्टिकोण भएकाहरूका लागि सौम्य शक्तिको खासै महत्त्व हुने कुरा भएन। उनीहरू सौम्य शक्तिलाई लत्याउँदै कठोर शक्तितर्फ लाग्ने नै भए। तर अमेरिकीहरूले भने खास कुरा बुझ्न आवश्यक छ। अमेरिकाले विगतमा विदेश नीतिको क्षेत्रमा हात पारेका सफलताहरू अन्य मुलुक अझ पूर्वप्रतिद्वन्द्वीहरूसँग समेत रचनात्मक एवं उदारतापूर्वक काम गर्दा हासिल भएका हुन्।

हाम्रो आफ्नै समाजको छविलाई पनि त्यसले सच्याउन सघाएको हो। ‘मार्सल प्लान’, नेटो, ‘सिभिल राइट्स मुभमेन्ट’, व्यापार उदारीकरणको प्रवर्द्धन तथा शीतयुद्धको अन्त्य एवं जर्मनीको एकीकरण यस्तै सफलताका उदाहरण हुन्। सौम्य शक्तिको यथोचित उपयोगले यस्तो सफलता दिलाएको थियो। तर अमेरिकी विदेशनीतिका केही असफलताहरू जस्तैः भियतनाम, इराक र अफगानिस्तानको युद्ध, लिबियामा गद्दाफीको सत्ताच्युत एवं अहिले इरानमा भएको पराजयलगायत भने कठोर शक्तिको दममा सफलता सुनिश्चित हुन्छ भन्ने चिन्तनको परिणाम हुन्।

अमेरिकासँग आजको दिनमा पनि आकर्षक गुणहरू बाँकी छन्। आज पनि अन्य मुलुकका सरकार तथा जनताहरू अमेरिकालाई एउटा देश र आदर्शको रूपमा हेर्ने तथा यसका नेताहरूका गलत कदमबीचमा फरक छुट्याउने गर्न सक्छन्। तर अमेरिकाको राजनीतिक जीवन अझै कठोर एवं भ्रष्ट बन्दै जाने हो भने सधैँ अवस्था उस्तै रहँदैन।

सौम्य शक्ति क्षीण हुँदै जाने तथा हार्ड पावर वा कठोर शक्तिको पनि बारम्बार दुरुपयोग हुँदै जाने हो भने बाँकी संसारले अमेरिका, यसको आदर्श र नेताहरूको गलत व्यवहारलाई अलग राखेर हेर्न कठिन हुँदै जानेछ।

(फरेन पोलिसीबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्टेफेन एम वाल्ट
स्टेफेन एम वाल्ट
लेखकबाट थप