शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
सांसदसँग

जेनजीका मुद्दा संसदमा उठाउँछु : सांसद शिवशंकर यादव

आइतबार, १७ जेठ २०८३

काठमाडौँ । सडकमा हुने आन्दोलनहरूमा शिवशंकर यादव सधैँ अग्रपंक्तिमा उभिए । उखु किसानका न्यायका लागि होस् या मिटरब्याज पीडितहरूको पक्षमा होस्, भ्रष्टाचार विरोधी आन्दोलन वा सुशासनका पक्षमा उनी सडकमा उत्रिए ।

आन्दोलनको भिडमा उभिने, सशक्त आवाज उठाउने उनै शिवशंकर यादव (शिव) अहिले संसदमा पुगेका छन् । जेनजी आन्दोलनपछि चर्चामा आएका उनी अब नीति निर्माण गर्ने थलोमा रहेर आफ्नो भूमिका निर्वाह गर्दैछन् ।

मधेसी जनता र उखु किसानको न्यायका पक्षमा सडकबाट बुलन्द आवाज उठाउँदै आएका युवा यादवले सुशासनको मुद्दालाई मुख्य एजेण्डा बनाए । उनी काउन्सिल अफ जेनजी (सुदन गुरुङ समूह) का मधेस प्रदेश संयोजकसमेत हुन् ।

गत फागुनमा सिराहा–२ बाट प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका शिवशंकर यादव (शिव) भारी मतसहित विजयी भए । २०७९ को निर्वाचनमा ‘हाम्रो नेपाली पार्टी’ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका यादवले त्यो बेला पाँचौँ स्थान प्राप्त गरेका थिए ।

सडकमा आवाज बुलन्द पार्दै संसदमा पुगेका यादवले जेनजी युवाहरूका आवाजलाई सम्बोधन गर्ने बताएका छन् । ‘युवाहरूले सुशासन, भ्रष्टाचारका मुद्दा उठाएका छन् । तिनलाई सम्बोधन गर्छु,’ उनले भने ‘बरियारपट्टी छोटी भन्सार कायम गराउन तथा यसको स्तरोन्नति गर्न निरन्तर लागिरहने छु ।’

आफू आन्दोलनबाट आएको व्यक्ति भएकाले सङ्घर्षको मूल्य, जनताको पीडा र सीमावर्ती क्षेत्रको आवश्यकता नजिकबाट बुझेको र त्यसको समाधानका लागि पहल गर्ने उनले बताए । 

जेनजी आन्दोलनमा सक्रिय युवामध्ये टिकट थोरैले पाए, तीमध्ये मध्ये एक हुन् शिवशंकर यादव । ०८२ को चुनावमा यादवले ३९ हजार ५६१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले १२ हजार ८१४ मत पाए । शिवशंकर यादव २६ हजार ७४७ मतान्तरले विजयी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया